तिज गीतमा उपस्थिति घटाइन् अञ्जुले, यस्तो छ कारण
काठमाडौँ । मोडल अञ्जु निरौलाले छमछमी नाचेका तिज गीत कयौँ छन् । कतिपयले त उनलाई तिज गीतकी मोडलका रूपमा पनि चिन्ने गरेका छन् ।
तर यस पटक उनले जम्मा दुई वटा तिज गीतमा मात्र मोडलिङ गरेकी छन् । त्यसो त दर्जनौँ तिज गीत यस वर्ष बजारमा आए । यद्यपि उनको हातमा दुई वटामात्र पर्यो ।
अञ्जुले थुप्रै तिज गीतका लागि प्रस्ताव आए पनि विविध कारणले आफूले अस्वीकार गर्नु परेको सुनाइन् । तिज गीत भन्नासाथ अचेल विकृतिपूर्ण सिर्जनासमेत बजारमा आउने गरेका छन् । त्यस्ता गीतमा आफूलाई अभिनय गर्न मन नलागेर अस्वीकार गरेको उनको भनाइ छ ।
कतिपयमा भने समयको अभावका कारण उनले अभिनय गरिनन् । उनी अहिले दुई वटा सिरियलमा अभिनय गर्दैछिन् । त्यसैले समय व्यवस्थापनमा समस्या भएर ती गीत छाड्नु परेको उनको भनाइ छ ।
‘यो पटक पनि तिज गीतका भिडियोका लागि प्रशस्त अफर आएको थियो,’ उनले भनिन्, ‘राम्रो पारिश्रमिकसहितको प्रस्ताव आए पनि विकृति र विसङ्गतिले भरिएका गीतको भिडियो रिजेक्ट गरेँ ।’
जस्तोसूकै गीतमा मोडलिङ गरेर भाइरल हुने रहर आफूमा नरहेको अञ्जुको भनाइ छ । यस वर्ष आएका तिज गीतमध्ये ‘फेरि आयो तिजै’ र ‘बुझेँ मैले’ बोलका दुई गीतमा उनले अभिनय गरेकी छन् । यी गीत मौलिक र शब्द पनि राम्रा भएकाले आफ्नो रोजाइमा परेको उनले बताइन् ।
कुनै वर्ष तिज गीतमात्र २६/२७ वटासम्ममा अभिनय गरेको अञ्जुले बताइन् । ‘विवाह अगाडि नै मैले छानेर भिडियो खेल्थेँ, अहिले त झन् जस्तो पायो त्यस्तो खेल्नै भएन’, उनले थपिन् ।
अहिले म्युजिक भिडियोबाट राम्रो आम्दानी हुने भएकाले धेरै वटामा खेल्नुभन्दा पनि गुणस्तरीय थोरै गीतमा अभिनय गर्दा पुग्ने उनी सुनाउँछिन् ।
उनी केही समय अघिदेखि ‘सकस’ र ‘छुच्ची सासु’ नामक २ सिरियलमा नियमित अभिनय गरिरहेकी छन् । जसको कारण महिनाको २ हप्ता उनले यी सिरियलमा समय दिनुपर्छ । सिरियलका कारण पनि आफ्नो भिडियो कम भएको उनी बताउँछिन् । सिरियलको क्रेज बढ्दो भएका कारण आफू यतातिर लोभिएको उनको धारणा छ ।
त्यसो त अञ्जुको सिरियल यात्रा यो नै पहिलो भने होइन । ‘दलन’बाट सिरियलमा अभिनय थालेकी उनले रमाइलो टेलिभिजनको ‘भाग्य आ–आफ्नो’, कान्तिपुर टेलिभिजनको ‘गौरी’ लगायत धेरै सिरियलमा काम गरिसकेकी छन् ।
यद्यपि ‘दलन’ बाहेकको अन्य सिरियलले भने उनलाई खासै चर्चा दिलाएको देखिन्न । अहिलेको ‘सकस’ र ‘छुच्ची सासु’ले भने राम्रो चर्चा दिइरहेको उनी बताउँछिन् ।
प्लस टु मै भिडियो
२०६४ मा उनी भर्खर प्लस टु अध्ययन गर्दै थिइन् । त्यो समय रेडियो नेपालमा काम गर्ने खड्ग गन्धर्वसँग उनको बुबाआमाको राम्रो चिनजान थियो । गन्धर्व उनको घरमा आउने जाने गरिरहन्थे ।
सोही क्रममा गन्धर्वले एक भिडियो अफर गरे । के कस्तो अनुभव हुँदो रहेछ भनेर अञ्जुले उक्त भिडियोमा अभिनय गरिन् । त्यो भिडियो टेलिभिजन लगायत सबैतिर बज्न थाल्यो । त्यसपछि भिडियो अफरले उनलाई फुर्सदै भएन ।
‘अभिनय मेरो इच्छा पनि थिएन र आउँला भन्ने सोचेको पनि थिइनँ’, उनले अगाडि थपिन्, ‘प्रयोग गर्न खोजेको थिएँ, यसैमा पहिचान बन्यो ।’
लोक, आधुनिक, तिज र अन्य गरेर उनले अहिलेसम्म ५ हजार बढी गीतको म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । तीमध्ये धेरै लोकगीत छन् । सिधै भन्नुपर्दा एक समय म्युजिक भिडियोमा उनको राज नै थियो । उनी अभिनित भिडियो गीत दैनिकजसो सार्वजनिक हुन्थे ।
यति धेरै म्युजिक भिडियो अभिनयबाट उनले धेरै कुराको अनुभव पाएकी छन् । त्यो अनुभव जीवन यात्रामा काम लागेको उनले बताइन् ।
फिल्ममा छैन रुचि
एकदुई म्युजिक भिडियो अभिनयपछि फिल्ममा फट्को मार्ने मोडल धेरै छन् । ५ हजार भिडियो अभिनय गर्दा पनि अञ्जु फिल्ममा देखिएकी छैनन् ।
पहिलेदेखि नै साथीभाइ, फ्यानको उनीप्रति एउटै प्रश्न छ– फिल्म किन नखेलेको ?
उनको जवाफ रहँदै आएको छ– कहिल्यै रुचि भएन ।
फिल्मका लागि उनलाई प्रस्ताव आइरहेका छन् । ‘मलाई किनकिन फिल्ममा रुचि कहिल्यै भएन’, उनले भनिन्, ‘फिल्ममा बढी समय दिनुपर्ने भएकाले होला सायद ।’
माइती नेपालको निर्माण रहेको चेली भन्ने डकुमेन्ट्री फिल्ममा भने उनले अभिनय गरेकी छन् ।
‘म्युजिक भिडियोमा छोटो समय दिए पुग्ने, रिजल्ट पनि छिटै आउँछ’, फिल्म नखेल्नुको उनले अर्को कारण खोलिन्, ‘फिल्मका लागि धेरै समय लाग्छ । रिजल्ट पनि ढिलो आउँछ ।’
चर्चा र आम्दानीको हिसाबले फिल्मभन्दा भिडियो राम्रो भएको उनको बुझाइ छ । उनले भनिन्, ‘अहिलेसम्म रुचि छैन । भोलिको दिनमा कथा, निर्माण युनिट लगायतको कारण जोडिन पनि सक्छु ।’
भूकम्पले छुटायो व्यापार
भिडियो अभिनयलाई निरन्तरता दिइरहदा उनलाई लागेको थियो कलाकारले ‘साइड बिजेनश’ पनि गर्नुपर्छ । उनका केही साथीले व्यापारमा हात बढाएका पनि थिए ।
त्यसैले उनी भूकम्प अगाडि खिचापोखरी र न्युरोडमा गरेर दुईवटा फेन्सी पसलबाट व्यवसायमा जोडिएकी थिइन् । खिचापोखरीको पसल २०७२ को भूकम्पले घर जीर्ण हुँदा छोड्नु प¥यो । न्युरोडको पसल कोरोनाका कारण बन्द गर्नुप¥यो । व्यवसायबाट फलिफाप नभएपछि अहिले कलाकारितामा मात्र सीमित रहेको उनी बताउँछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेडिसिटीमा उपचारका क्रममा मृत्यु भएका सरोजका परिवारले बुझे शव
-
तिहार मनाउने खर्चको जोहो गर्न राउटे पोखरामा
-
भारतीय सेना प्रमुख द्विवेदीले शुक्रबार प्रधानमन्त्री ओलीलाई भेट्दै
-
पार्टीप्रति आक्रोश बढेको रास्वपाको निष्कर्ष : कस्तो हो आन्दोलनको नयाँ स्वरूप ?
-
भारतीय सेना प्रमुखको सम्मानमा जंगी अड्डामा रात्रिभोज
-
ठगी मुद्दा फरार प्रतिवादी पक्राउ