बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

डेंगु नियन्त्रणका लागि मन्त्री पौडेलले मेयर्स फोरमसँग गरे छलफल

बिहीबार, ३१ साउन २०८१, १४ : ४३
बिहीबार, ३१ साउन २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रणका लागि काठमाडौँ उपत्यकाका जनप्रतिनिधि (मेयर्स फोरम) सँग छलफल गरेका छन् । बिहीबार मन्त्रालयमा मन्त्री पौडेलले साउनदेखि फैलिएको डेंगु भदौ र असोजमा थप फैलनसक्ने जोखिम रहेको भन्दै मन्त्री प्रदीप पौडेलले रोकथामका लागि मेयर्स फोरमसँग छलफल गरेका हुन् । 

बैठकमा मन्त्री पौडेलले मिलेर काम गरे डेंगु नियन्त्रण गर्न सकिने भन्दै मन्त्रालय नीतिगत निर्णय र थप सहकार्यका लागि तयार रहेको बताए । ‘उपत्यकामा डेंगु नियन्त्रणलाई हामीले प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘आम नागरिकलाई जोगाउन सहकार्य जरुरी छ ।’

उनले सरसफाइको कमीका कारण डेंगु संक्रमण फैलने देखिएको भन्दै मन्त्रालयले देशैभर सातामा एक दिन एकै समयमा सफाइ गर्न लागेको बताए । उनले स्थानीय तह र प्रदेशबाट समेत साथ मिलेमा देशैभर सफाइ अभियान थालिने बताए ।

मन्त्रालयले डेंगु जोखिमलाई ध्यानमा राखेर सातै प्रदेशका अस्पतालमा बेग्लै डेस्क राखेर उपचार थालेको मन्त्री पौडेलले जानकारी दिए । थप फैलन नदिन पहल आवश्यक परेको भन्दै मन्त्री पौडेलले वडा तहसम्म सचेतना विस्तार गरेर डेंगुसँगै हैजासमेत नियन्त्रण गर्न आग्रह गरे । मन्त्रालयले यसका लागि स्थानीय तहलाई हरसम्भव साथ दिने पनि उनले प्रतिबद्धता जनाए ।

मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहले जमेको पानीमात्र कम गर्न सकिए पनि धेरै क्षति नियन्त्रण गर्न सकिने भन्दै एकै दिन देशैभर सफाइ अभियान सञ्चालन गर्न सकिने बताए ।

उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले आफ्ना तर्फबाट भएका प्रयासहरूको जानकारी गराउँदै डेंगु तथा हैजा नियन्त्रणमा हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाए । यसैगरी गाउँपालिका तथा नगरपालिका महासंघका प्रतिनिधिहरूले पनि एक अर्का एक्ला एक्लै काम गर्ने प्रवृत्ति रहेको भन्दै सहकार्य गर्ने मन्त्रालयको प्रस्ताव सकारात्मक रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप