शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले भने– मेरो हत्याको खतरा छ

बिहीबार, ३१ साउन २०८१, १४ : १८
बिहीबार, ३१ साउन २०८१

साउदी अरब ।  साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान (एमबीएस) ले आफ्नो हत्याको खतरा रहेको बताएका छन् । अमेरिकी कांग्रेसका सांसदहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । 

साउदीले इजरायलसँग सामान्यीकरण सम्झौता गर्‍यो र यसमा प्यालेष्टाइनलाई राष्ट्रको मान्यता दिने कुरा समावेश भएन भने आफ्नो हत्या हुन सक्ने भनेर उनले बताएको अमेरिकी अनलाइन पोर्टल पोलिटिकोले एउटा समाचारमा उल्लेख गरेको छ । 

आफ्नो ज्यान खतरामा रहेको चर्चा गर्दै सलमानले सम्झौतामा प्यालेष्टिनी राष्ट्रको लागि तत्कालै स्पष्ट बाटो समावेश गर्न माग राखेको समाचारमा उल्लेख छ । यस क्रममा सलमानले आफ्नो अवस्था पनि इजिप्टका पूर्व नेता अनवर सादातको जस्तो त हुने होइन भनेर पनि भनेका छन् । इजरायलसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि सन् १९८१ मा चरमपन्थीहरूले सादातको हत्या गरेका थिए ।

प्यालेष्टाइनलाई छुट्टै राष्ट्र बनाउने कुरालाई साउदीका जनताले निकै महत्व दिने अनि सारा मध्यपूर्व नै यस विषयमा  निकै गम्भीर भएको पनि उनले बताएका छन् । ‘यो मुद्दामा मैले ध्यान दिइन भन् इस्लामको पवित्रस्थलको रक्षकको रूपमा मेरो कार्यकाल सुरक्षित हुने छैन,’ उनले भनेका छन् । राजकुमारले आफ्नो सुरक्षाबारे कहिले र कसरी चिन्ता व्यक्त गरेका थिए भनेर चाहिँ समाचारमा खुलाइएको छैन । गाजा युद्धका कारण इजरायल र साउदी अरबबिच सामान्यीकरण सम्झौता हुने सम्भावना घटेको छ ।

आफ्नो हत्याको खतरा रहँदारहँदै पनि उनी अमेरिका र इजरायलसँगको सम्झौतालाई अगाडि बढाउन प्रतिबद्ध छन् । इजरायलसँग सम्झौता साउदीको भविष्यका लागि जरुरी भएको उनको विश्वास छ ।

 यो सम्झौताको बदलामा अमेरिकाले साउदीलाई सुरक्षाको प्रतिभूति, हातहतियारको निरन्तर आपूर्ति गर्ने वाचा गरेको छ । अमेरिकाले साउदीलाई नागरिक परमाणु कार्यक्रम सुरु गर्न पनि मद्दत गर्न सक्नेछ । तर अमेरिकाको समर्थनमा हुन लागेको यो सम्झौता पेचिलो बन्दै गएको छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले सम्झौतामा प्यालेष्टिनी राज्यको माग समावेश गरेको कुराको विरोध गर्दै आएका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप