बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय
उद्योगको दुर्दशा

एक वर्षमा ५२ दिनमात्र चल्यो हेटौँडा सिमेन्ट, फागुनदेखि उत्पादन ठप्प

समस्या टार्न रोपवेको उपकरण बिक्री गर्ने प्रयत्न
बिहीबार, ३१ साउन २०८१, ०९ : ५८
बिहीबार, ३१ साउन २०८१

हेटौँडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग एक वर्षमा ५२ दिनमात्र सञ्चालन भएको छ । २०८० साउनदेखि २०८१ असारसम्मको अवधिमा उद्योग ५२ दिनमात्र चलेको हो ।

 कोइला अभाव र मेशिन मर्मतका लागि लामो समय  उद्योगमा बन्द गर्नु परेको उद्योगका प्राविधिक फाँटका नितिन कर्णले जानकारी दिए । कर्णका अनुसार  २०८० को साउनयता भदौमा ११ दिन, असोजमा १८ दिन, माघमा ८ दिन र फागुनमा १५ दिनगरी उद्योग जम्मा ५२ दिन चलेको हो । यस्तै उनले चालु आर्थिक वर्षको साउन महिनामा एक दिनमात्र उद्योग चलेको जानकारी दिए ।

उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले कोइला अभाव मुख्य समस्या भएको बताए ।  उद्योगका पुराना उपकरण बिग्रिरहने समस्याका कारण पनि नियमित सञ्चालन गर्न समस्या भएको उनको भनाइ छ । अहिले पनि मेशिन मर्मतको काम चलिरहेको उनले बताए । कोइला अभावको बेला उद्योग बन्द हुँदा मर्मतको काम गर्ने गरेको महाप्रबन्धक पाण्डेले बताए । कोइला सप्लायर्सको बक्यौता रकम धेरै भएका कारण कोइला आपूर्ति प्रभावित बन्ने गरेको उनको भनाइ छ ।

‘गत आर्थिक वर्षको फागुनमा १५ दिन चलाएको उद्योग कोइला अभावका कारण साउनको एक दिनबाहेक अहिलेसम्म बन्द छ । उद्योगमा जसोतसो प्राप्त हुने कोइलाले १० दिन पनि सञ्चालन गर्न पुग्दैन । हामीसँग भएको स्टक कोइलाले १०/१५ दिन उद्योग सञ्चालन गरेर केही फाइदा छैन । भएको कोइला सकिएपछि फेरि पनि उही कोइलाको समस्या देखाएर उद्योग बन्द गर्नुपर्छ,’ उनले भने, ‘उद्योग बर्सेनि घाटामा छ, कोइलाको पैसा नै करोडौँ तिर्नुपर्ने छ । कोइला सप्लायर्सलाई तिर्नुपर्ने भुक्तानी समयमै नतिर्दा कोइला आउन सकेन र उत्पादन नै बन्द गर्नुपरेको हो ।’

पछिल्लो समय २०८० फागुन महिनादेखि बन्द रहेको उद्योग २०८१ साउनमा एक दिन क्लिङ‍्कर उत्पादनका लागि चलेको कर्णले बताए । कर्णका अनुसार उक्त एक दिन चलेको उद्योगले १५८ टन क्लिङ्कर उत्पादन गरेको थियो । उद्योग त्यसपछि बन्दै छ ।

जसका कारण उद्योगका करिब १८० जना स्थायी कर्मचारी र एक सय जनाभन्दा बढी ज्यालाका कर्मचारी कामविहीन छन् भने हाल स्टक रहेको सिमेन्ट बिक्री गर्नेबाहेक अन्य कुनै काम हुन सकेको छैन ।

हाल उद्योगमा करिब २० हजार बोरा सिमेन्ट स्टक रहेको उद्योगका नायब प्रबन्धक नवीन कर्णले जानकारी दिए । उनका अनुसार उद्योगको मेशिन मर्मत गरेपछि पनि उद्योग लामो समयसम्म चलाउन सक्ने अवस्था छैन । उद्योगसँग जम्मा १५/२० दिनलाई पुग्ने १२/१३ सय टन कोइलामा मात्रै बाँकी छ ।

समस्याको टार्न रोपवेको उपकरण बिक्री गर्ने प्रयत्न

लामो समयदेखि सञ्चालन हुन नसकी अलपत्र अवस्थामा रहेको रोपवेको उपकरण बिक्रीका लागि उद्योगले पुनः प्रयास सुरु गरेको छ । करिब ६ वर्षअघि पनि रोपवेको सामाग्री लिलाम बिक्रीका लागि पटक पटक आह्वान गरिए पनि कसैले इच्छा नदेखाएपछि काम भएको थिएन ।

यस पटक उद्योगले रोपवेको सामाग्री पुनः मूल्याङ्कनको लागि भण्डार शाखा प्रमुख विकास श्रेष्ठको संयोजकत्वमा समिति नै बनेको छ । केही महिनाअघि बनेको मूल्याङ्कन समितिमा कोष तथा लेखा नियन्त्रक, जिल्ला प्रशासन र सडक विभागबाट १/१ जना र उद्योगबाट २ जना प्रतिनिधि रहेका छन् । समितिले मूल्याङ्कनको काम अन्तिम चरणमा पुर्‍याएको र समितिको प्रतिवेदन उद्योग सञ्चालक समितिबाट पास गरी रोपवे लिलाम बिक्रीको सूचना निकालिने उद्योगले जनाएको छ ।

उद्योगले भैँसेदेखि उद्योगसम्म प्रयोगमा नरहेको ११ किलोमिटर रोपवेको सिस्टम तथा भण्डारणमा रहेको जगेडा पार्टपुर्जा बिक्री गर्न लागेको हो । मर्मत सम्भार गरेर सञ्चालन गर्न करोडौँ खर्च लाग्ने भएपछि जीर्ण बन्दै गएको रोपवे लिलाम गर्ने तयारीमा उद्योग लागेको हो । उद्योगले आफ्नो उत्पादन सुरुवातसँगै २०४३ सालबाट भैँसेखानीबाट लामसुरेस्थित कारखानासम्म चुनढुङ्गा ढुवानी गर्न सञ्चालनमा ल्याइएको रोपवे २०६१ सालदेखि बन्द छ ।

२०६० सालमा आएको बाढी पहिरोले भैँसे त्रिखण्डी नजिकको टावरमा क्षति पुगेपछि रोपवे बन्द भएको थियो ।  त्यससँगै करिब ८ करोडको लगानीमा निर्माण भएको रोपवेको आर्थिक भार थेग्न नसकेपछि बन्द भएको थियो । प्रतिघन्टा ३ सय मेट्रिक टन चुनढुङ्गा ढुवानी गर्ने क्षमता रहेको रोपवेको सुरुमा एक सय ६५ वटा वकेट (क्यारियर) रहेका थिए । हाल केही बकेटहरु बिग्रिएर झरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप