जसले पहिलो पटक इङ्लिस प्रिमियर लिगको अनुभव बटुल्नेछन्
काठमाडौँ । इङ्लिस प्रिमियर लिगको नयाँ सिजन अगस्त १७ तारिखदेखि सुरु हुँदैछ । नयाँ सिजनको प्रिमियर लिग सन् २०२५ को मे २५ तारिखसम्म चल्नेछ । म्यानचेस्टर सिटी प्रिमियर लिगको साबिक विजेता क्लब हो ।
सिटीले लगातार रूपमा पछिल्ला चार सिजनको उपाधि जित्दै आएको छ । अघिल्लो सिजनको प्रिमियर लिगमा ३८ खेलबाट ९१ अङ्क बटुल्दै म्यानचेस्टर सिटी च्याम्पियन बनेको थियो । सिजनभर म्यानचेस्टर सिटी केवल तीन खेलमा पराजित भएको थियो । ८९ अङ्क जोडेको आर्सनल दोस्रो भएको थियो ।
अघिल्लो सिजन सेफिल्ड युनाइटेड, बर्नली र लुटन टाउन रेलिगेसनमा परेका थिए । लेस्टर सिटी, इपस्विच टाउन र साउथह्याम्पटन यो सिजन नयाँ टोलीका रूपमा प्रिमियर लिगमा बढुवा भएका छन् । यो सिजन पनि प्रिमियर लिगमा २० टोली नै सहभागी हुनेछन् ।
लिभरपुल, चेल्सी, लेस्टर सिटी, वेस्ट हाम युनाइटेड र ब्राइटन यो सिजन नयाँ प्रशिक्षकसहित मैदानमा ओर्लने छन् । यो सिजन प्रिमियर लिगमा नयाँ खेलाडीहरू पनि थपिएका छन् । केही परिचित अनुहार बाहिरिएका पनि छन् ।
केही खेलाडी भने पहिलो पटक प्रिमियर लिगमा देखा पर्नेछन् । आगामी सिजनको प्रिमियर लिगमा आफ्नो उत्कृष्ट प्रदर्शनका कारण समर्थकको मन जित्न सक्ने केही खेलाडीको विषयमा यहाँ उल्लेख गरिएको छ ।
रिकार्डो कालाफियोरी, डिफेन्डर (आर्सनल)
इटालीका युवा खेलाडी हुन्, रिकार्डो कालाफियोरी । उनी इटालियन क्लब बोलोग्नाबाट इङ्लिस क्लब आर्सनलमा आबद्ध भएका हुन् । यसअघि उनले इङ्लिस प्रिमियर लिग खेलेका छैनन् । अघिल्लो सिजन तालिकामा दोस्रो भएको आर्सनल यसपटक उपाधि कुम्ल्याउने धुनमा छ ।
आर्सनले यो सिजन भित्र्याएको प्रमुख खेलाडीमध्ये डिफेन्डर रिकार्डो पनि एक हुन् । उनलाई आर्सनलले गत जुलाईमा क्लबमा आबद्ध गरेको हो । २२ वर्षीय रिकार्डोका लागि आर्सनलले चार करोड २० लाख पाउन्ड खर्चिएको थियो ।
बायाँ खुट्टाले बल नचाउन माहिर यी प्रतिभाशाली युवा खेलाडी सन् २०२३ मा स्विस क्लब एफसी बासेलबाट केबल ३३ लाख पाउन्डमा सिरिए क्लब बोलोग्नामा आबद्ध भएका थिए । उनले केही समय इटालियन क्लब रोमाबाट पनि व्यावसायिक फुटबल खेलेका थिए ।
उनले इटालीको राष्ट्रिय टोलीबाट समेत ‘डेब्यू’ गरिसकेका छन् । राष्ट्रिय टोलीमा ‘डेब्यू’ गर्नुअघि उनले इटालीको विभिन्न उमेर समूहको राष्ट्रिय टोलीबाट पनि थुप्रै प्रतियोगिता खेलेका थिए ।
जोशुआ जिर्कजी, स्ट्राइकर (म्यानचेस्टर युनाइटेड)
नेदरल्यान्ड्सका प्रभावशाली स्ट्राइकर हुन्, जोशुआ जिर्कजी । २३ वर्षीय जोशुआले पहिलो पटक इङ्लिस प्रिमियर लिग खेल्न लागेका हुन् । प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि उनलाई म्यानचेस्टर युनाइटेडले आबद्ध गरेको हो ।
यसअघि उनी पनि इटालियन क्लब बोलोग्नामा आबद्ध थिए । यी प्रतिभाशाली स्ट्राइकरलाई भित्र्याउन म्यानचेस्टर युनाइटेडले तीन करोड ६५ लाख पाउन्ड खर्चिएको थियो । प्रिमियर लिग नखेले पनि उनले युरोपका विभिन्न प्रतिष्ठित क्लबबाट व्यावसायिक लिग खेलिसकेका छन् ।
उनी सन् २०१९ मा जर्मन क्लब बायर्न म्युनिखमा आबद्ध भएका थिए । बायर्न म्युनिखमै रहँदा उनले ऋणमा इटालियन क्लब पार्मा र बेल्जियन क्लब एन्डरलेच्टबाट पनि खेलेका थिए । बेल्जियन क्लब छोडेर उनी सन् २०२२ मा बोलोग्ना पुगेका थिए ।
उनले अघिल्लो सिजन इटालियन क्लबका लागि ३७ खेल खेल्दै १२ गोल गरेका थिए । म्यानचेस्टर युनाइटेडमा आबद्ध भएपछि उनलाई ११ नम्बरको जर्सी हस्तान्तरण गरिएको छ ।
साभिन्हो, विंगर (म्यानचेस्टर सिटी)
पहिलो पटक इङ्लिस प्रिमियर लिग खेल्ने तयारीमा रहेका अर्का खेलाडी हुन्, साभिन्हो । उनी ब्राजिलका प्रतिभाशाली विंगर हुन् । २० वर्षीय साभिन्होले यसअघि कुनै पनि प्रिमियर लिग क्लबबाट व्यावसायिक फुटबल खेलेका थिएनन् ।
साभिन्होलाई गत जुलाईमा प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटीले फ्रान्सेली क्लब ट्रोइजबाट भित्राएको हो । यी प्रतिभाशाली खेलाडीका लागि म्यानचेस्टर सिटीले तीन करोड पाउन्ड खर्च गरेको थियो ।
उनी ट्राइजमै रहँदा ऋणमा डच क्लब योङ पीएसभी र स्पेनिस क्लब गिरोनाबाट पनि व्यावसायिक फुटबल खेलेका थिए । त्यसअघि उनले सन् २०२० देखि सन् २०२२ सम्म स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट खेलेका थिए ।
क्लबस्तरीय फुटबलमा उनले एट्लेटिको म्याड्रिडबाटै सिनियर टोलीमा ‘डेब्यू’ गरेका थिए । अघिल्लो सिजनको ला लिगामा गिरोनालाई अङ्क तालिकाको तेस्रो स्थानमा उकाल्न उनको पनि महत्त्वपूर्ण भूमिका रहेको थियो । उनले गत मार्चमा इङ्ल्यान्डविरुद्ध खेल्दै ब्राजिलको सिनियर टोलीमा ‘डेब्यू’ गरेका थिए ।
निकलस फुलक्रग, स्ट्राइकर (वेस्ट हाम)
नयाँ सिजनको प्रिमियर लिगका लागि वेस्ट हामका मालिक जुलेन लापेटेगुईले थुप्रै प्रतिभाशाली खेलाडीलाई क्लबमा आबद्ध गरेका छन् । उनी प्रिमियर लिगको आगामी सिजन आफ्नो क्लबका लागि विशेष बनाउने धुनमा छन् ।
यस क्रममा उनले जर्मनीको राष्ट्रिय टोलीका अनुभवी स्ट्राइकर निकलस फुलक्रगलाई पनि क्लबमा भित्राएका छन् । निकलस फुलक्रगले यसअघि कुनै पनि प्रिमियर लिग क्लबबाट व्यावसायिक फुटबल खेलेका छैनन् ।
वेस्ट हामले ३१ वर्षीय फुलक्रगलाई जर्मन क्लब बोरुसिया डर्टमन्डबाट भित्र्याएको हो । उनका लागि वेस्ट हामले दुई करोड ७० लाख पाउन्ड खर्चिएको थियो । खासमा फुलक्रगले यसअघि जर्मन क्लबहरूबाट मात्र व्यावसायिक फुटबल खेलेका छन् ।
अघिल्लो सिजन फुलक्रगले बोरुसिया डर्टमन्डका लागि कुल ४६ खेल खेल्दै १५ गोल गरेका थिए । आफ्नो क्लबलाई च्याम्पियन्स लिगको उप–विजेता बनाउन पनि फुलक्रगको योगदान महत्त्वपूर्ण रहेको थियो ।
उनले जर्मनीको राष्ट्रिय टोलीमा सन् २०२२ मा ‘डेब्यू’ गरेका थिए । केही समयअघि घरेलु मैदानमा आयोजित युरो कपमा पनि उनले राष्ट्रिय टोलीका लागि महत्त्वपूर्ण योगदान गरेका थिए ।
दाइची कामादा, मिडफिल्डर (क्रिस्टल प्यालेस)
दाइची कामादा जापानको राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य हुन् । आगामी सिजनको प्रिमियर लिगका लागि क्रिस्टल प्यालेसले २८ वर्षीय आक्रामक मिडफिल्डर दाइची कामादालाई भित्राएको छ । उनलाई भित्राउन क्रिस्टल प्यालेसका मालिक ओलिभर ग्लासनरले विशेष भूमिका निर्वाह गरेका थिए ।
दाइची कामादाले यसअघि कुनै पनि प्रिमियर लिग क्लबबाट व्यावसायिक फुटबल खेलेका छैनन् । उनलाई क्रिस्टल प्यालेसले चर्चित इटालियन क्लब लाजियोबाट भित्राएको हो । उनी स्थानान्तरण शुल्क बिना नै लाजियोबाट क्रिस्टल प्यालेसमा आबद्ध भएका हुन् ।
क्रिस्टल प्यालेसनमा आबद्ध हुनुअघि उनले एक सिजनमात्र लाजियोमा बिताएका थिए । लाजियोमा आबद्ध हुनुअघि उनले ६ वर्ष जर्मन क्लब इनट्र्याक्ट फ्राँकफर्टमा बिताएका थिए । सन् २०२२ मा आफ्नो क्लबलाई युरोपा लिगको उपाधि चुमाउन पनि उनले महत्त्वपूर्ण योगदान गरेका थिए ।
फ्राँकफर्टका लागि उनले एक सय ७९ खेल खेल्दै ४० गोल गरेका थिए भने ३३ गोलका लागि पास उपलब्ध गराएका थिए । कामादा जापानी टोलीका महत्त्वपूर्ण सदस्य पनि हुन् । उनले सन् २०१९ मा जापानको सिनियर टोलीमा ‘डेब्यू’ गरेका थिए । उनले जापानका लागि ३३ खेल खेलिसकेका छन् ।
लुकास बर्गभल, मिडफिल्डर (टोट्टनहाम)
आगामी सिजनको इङ्लिस प्रिमियर लिगका लागि टोट्टनहामले भित्राएको किशोर मिडफिल्डर हुन्, लुकास बर्गभल । उनी १८ वर्षीय लुकास बर्गभल स्विडेनका प्रतिभाशाली खेलाडी हुन् । उनी पहिलो पटक कुनै पनि प्रिमियर लिग क्लबमा आबद्ध भएका हुन् ।
टोट्टनहामले आगामी सिजनको प्रिमियर लिगमा यी क्षमतावान् खेलाडीसँग निकै आश गरेको छ । प्रि–सिजन प्रतियोगिताहरूमा पनि उनको प्रदर्शन अब्बल देखिएको छ । टोट्टनहामले उनलाई स्विडिस क्लब जुर्गर्डेनबाट भित्राएको हो ।
लुकास बर्गभललाई भित्राउन टोट्टनहामले ८५ लाख पाउन्ड खर्चिएको छ । खसगरी बल नियन्त्रण गर्ने र पास उपलब्ध गराउने उनको क्षमता गजबको छ । उनले स्विडेनको राष्ट्रिय टोलीबाट पनि ‘डेब्यू’ गरिसकेका छन् ।
उनले गत जनवरीमा खेलिएको स्टोनियाविरुद्धको मैत्रीपूर्ण खेलमार्फत स्विडेनको राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । यसका अतिरिक्त उनले स्विडेनको उमेर समूहको टोलीबाट पनि थुप्रै अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।
ज्याक ओ’ब्रायन, डिफेन्डर (एभर्टन)
आयरल्यान्डका युवा मिडफिल्डर ज्याक ओ’ब्रायनले यसअघि पनि इङ्लिस क्लबबाट खेलिसकेका छन् । तर, उनले हालसम्म प्रिमियर लिग भने खेलेका छैनन् । उनी आइरिस क्लब कर्क सिटीबाट ऋणमा इङ्लिस क्लब क्रिस्टल प्यालेस पुगेका थिए ।
तर, उनले क्रिस्टल प्यालेसबाट एक खेल पनि खेलेनन् । उनी पछिल्लो समय फ्रान्सेली क्लब लियोनमा आबद्ध थिए । एक वर्ष लियोनमा बिताएका २३ वर्षीय डिफेन्डर ज्याक ओ’ब्रायनलाई सोही क्लबबाट एभर्टनले भित्राएको हो ।
यी प्रतिभाशाली डिफेन्डरबाट एभर्टनले आगामी सिजनको प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शनको आशा गरेको छ । एक सिजन फ्रान्सेली क्लब लियोनमा रहँदा उनले २७ खेल खेलेका थिए । उनले आयरल्यान्डको राष्ट्रिय टोलीबाट पनि ‘डेब्यू’ गरिसकेका छन् ।
निकोल मिलेन्कोभिच, डिफेन्डर (नटिङ्घम फरेष्ट)
सर्बियाका अनुभवी डिफेन्डर हुन्, निकोल मिलेन्कोभिच । आगामी सिजनको इङ्लिस प्रिमियर लिगका लागि उनी नटिङ्घम फरेष्टमा आबद्ध भएका छन् । यसअघि उनले कुनै पनि इङ्लिस क्लबबाट व्यावसायिक फुटबल खेलेका छैनन् ।
आगामी सिजनको प्रिमियर लिगमा उत्कृष्ट नतिजा निकाल्ने आशासहित नटिङ्घम फरेष्टले केही अन्य खेलाडीलाई पनि भित्राएको छ । नटिङ्घम फरेष्टले २६ वर्षीय निकोल मिलेन्कोभिचलाई इटालियन क्लब फियोरेन्टिनाबाट भित्राएको हो ।
सन् २०१७ मा फियोरेन्टिनामा आबद्ध भएका निकोल मिलेन्कोभिचले क्लबका लागि कुल दुई सय ६४ खेल खेल्दै १७ गोल पनि गरेका थिए । उनी सर्बियन राष्ट्रिय टोलीका पनि प्रभावशाली सदस्य हुन् । उनले सर्बियाका लागि ५६ खेल खेलिसकेका छन् । हालै सम्पन्न युरो कपमा पनि उनी टोलीमा महत्त्वपूर्ण सदस्य थिए ।
डीन हुइजसन, डिफेन्डर (बर्नमाउथ)
उमेरले केवल १९ वर्ष पुगेका डीन हुइजसन प्रभावशाली डिफेन्डर हुन् । उनलाई आगामी सिजनको प्रिमियर लिगका लागि बर्नमाउथले अनुबन्ध गरेको हो । उनले यसअघि कुनै पनि इङ्लिस क्लबबाट खेलेका छैनन् ।
बर्नमाउथले उनलाई युभेन्ट्सबाट भित्र्याएको हो । उनका लागि बर्नमाउथले एक करोड २८ लाख पाउन्ड खर्चिएको थियो । उनी सन् २०२३ मा युभेन्ट्समा आबद्ध भएका थिए । उनले युभेन्ट्सबाट एक खेलमात्र खेलेका थिए ।
युभेन्ट्सबाट उनी ऋणमा अर्को इटालियन क्लब रोमा पुगेका थिए । रोमाबाट उनले १३ खेल खेलेका थिए । त्यसपछि उनी बर्नमाउथमा आबद्ध भएका हुन् । उनले नेदरल्यान्ड्सको विभिन्न उमेर समूहको टोलीबाट अन्तर्राष्ट्रिय फुटबलको पनि अनुभव बटुलिसकेका छन् ।
उनले यसै वर्ष स्पेनको यु–२१ राष्ट्रिय टोलीबाट पनि खेलेका थिए । उनको जन्म नेदरल्यान्ड्सको एम्सटरडममा भएको हो । त्यसपछि उनको परिवार स्पेनमा बसाई सरेको थियो । त्यसैले उनले पछिल्लो खेल स्पेनबाट खेलेका हुन् ।
एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंकद्वारा भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण
-
विमानस्थल विस्तारको प्रस्ताव लिएर लुम्बिनीका नेता पर्यटनमन्त्रीको 'ढोकामा'
-
एनआरटी र चर्च ब्वाइजबीच झापा कपको उपाधि भिडन्त, कसले मार्ला बाजी ?
-
१२ बजे, १२ समाचार : हिरासतमा रविको फोटो खिच्ने निकोलस भुसाल पक्राउदेखि ‘भ्रष्टाचारविरोधी अभियन्ता’लाई सहकारी ठगीमा हत्कडीसम्म
-
प्रहरी हिरासतमा सुतिरहेका रविको फोटो खिचेर भाइरल बनाउने निकोलस काठमाडौंबाट पक्राउ
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म