किन अचानक तय भएको थियो भारतको स्वतन्त्रता दिन ?
सन् १९४७ को जुन ३ ले भारतको स्वतन्त्रतामा नयाँ इतिहास कोर्नेछ भन्ने कसैलाई थाहा थिएन । उक्त दिन भाइसरोय लर्ड माउन्टबेटनले औपचारिक रूपमा भारतको स्वतन्त्रता र विभाजन दुवै घोषणा गर्नु थियो । तर मिति कुन हुनेछ भन्ने टुंगो लागिसकेको थिएन । उक्त दिन माउन्टबेटनले ‘माउन्टबेटन प्लान’ घोषणा गर्नेवाला थिए ।
आफ्नो घोषणाको एक रात अघि उनले कांग्रेस र मुस्लिम लिगका नेताहरूसँग दुईवटा भेट गरेका थिए । यो भेटलाई डोमिनिक ल्यापियर र ल्यारी कोलिन्सको पुस्तक ‘फ्रीडम एट मिडनाइट’मा पनि उल्लेख गरिएको छ ।
के भएको थियो जुन २ मा ?
उक्त दिनको बारेमा ल्यापियर र कलिन्सले पुस्तकमा यसरी लेखेका छन्: सन् १९४७ को जुन २ मा लर्ड माउन्टबेटनको कोठामा सम्झौताको कागजात पढ्न र सुन्न भने सात भारतीय नेताहरू भाइसरोयलाई भेट्न गएका थिए । कांग्रेसका नेताहरूमा जवाहरलाल नेहरू, सरदार पटेल र आचार्य कृपलानी थिए । मुस्लिम लीगबाट मोहम्मद अली जिन्ना, लियाकत अली खान र अब्दुर्रब निश्तार थिए । सिखहरूको प्रतिनिधिको रूपमा बलदेव सिंह त्यहाँ पुगेका थिए । यो पहिलो बैठकमा महात्मा गान्धी सहभागी भएका थिएनन् ।
सो बैठकमा कुनै बहस नगर्ने निर्णय माउन्टबेटनले यस गरेका थिए । त्यसैले उनले जिन्नालाई ‘के तिमी भारतलाई त्यो रूपमा स्वीकार गर्छौ, जसको कल्पना क्याबिनेट मिसनमा गरिएको थियो ? भनेर सोधे । यसका लागि जिन्ना तयार थिएनन् । त्यसपछि लर्ड माउन्टबेटनले आफ्नो योजनाको प्रत्येक बिन्दुको व्याख्या गर्न थाले । जुन यस प्रकार थियो :
- पन्जाब र बङ्गालमा हिन्दु र मुस्लिम बहुल जिल्लाका सभासद्हरूको छुट्टै बैठक बोलाइनेछ ।
- कुनै पक्षले प्रदेशको विभाजन चाह्यो भने त्यो पनि गरिनेछ ।
- दुई अधिराज्य र दुई संविधानसभा बनाइनेछ ।
- सिन्धु प्रान्तले आफ्नै निर्णय आफैँ गर्नेछ ।
- भारतको हिस्सा बन्ने कि नबन्ने भन्नेबारे नर्थ वेष्ट फ्रन्टियर र असमको सिलहटमा जनमत सङ्ग्रह गरिनेछ ।
- भारतीय राजाहरूलाई स्वतन्त्र रहने विकल्प दिन सकिँदैन । उनीहरू भारत वा पाकिस्तानमा सामेल हुनुपर्नेछ ।
- हैदरावाद पाकिस्तानमा सामेल हुने छैन ।
- विभाजनमा कुनै प्रकारका कठिनाइ आयो भने सीमा आयोग गठन गरिनेछ ।
‘म चाहन्छु कि आधी राति सम्म तपाईँहरू सबै जनाले यो योजनाबारे आ–आफ्नो जवाफ दिनुस् ।’ आफ्नो भाषणको अन्त्य गर्दै माउन्टबेटनले भने । उनले मध्यरात अघि मुस्लिम लिग, कांग्रेस र सिखहरूले यो योजना स्वीकार गर्न सहमति जनाउने आशा उनले गरेका थिए ।
दोस्रो भेट, गान्धी अनि मौनता
कांग्रेसमा आफू कुनै पदमा नभएको भन्दै महात्मा गान्धीले पहिलो बैठकमा आउन अस्वीकार गरेका थिए । तर उनको अस्तित्वले सम्पूर्ण बैठकलाई ढाकेको थियो । लर्ड माउन्टबेटनले गान्धीलाई धेरै सम्मान गर्थे । मध्यरातमा अर्काे बैठक भयो र गान्धी त्यसमा आए । गान्धीले दुईबिच मनमुटाब पैदा हुन सक्ने केही बोल्लान् कि भन्ने डर माउन्टबेटनलाई थियो ।
माउन्टबेटन आफ्नो कुर्सीबाट उठेर महात्मा गान्धीलाई स्वागत गर्न छिटो छिटो अगाडि बढे । तर अचानक उनी बिचमै रोकिए । गान्धीले ओठमा औँला राखेर उनलाई रोकिदिए । उनको यो इशारापछि भाइसरायले आज गान्धीको मौन व्रत छ भनेर बुझे । यसपछि माउन्टबेटनले आफ्नो सम्पूर्ण योजना सम्झाए । गान्धीले एउटा खाम लिएर त्यसको पछाडि केही लेख्न थाले । लेख्दा लेख्दै उनले पाँचवटा पुराना खाम भरे । लर्ड माउन्टबेटनले ती खाम भावी पुस्ताका लागि सुरक्षित राखेका थिए ।
‘मलाई अफसोस छ कि म बोल्न सक्दिन । सोमबार मेरो मौन व्रत हुन्छ । मौन व्रत मैले यसलाई दुई अवस्थामा मात्र तोड्ने गरेको छु । एउटा, जब उच्च अधिकारीसँग कुनै जरुरी समस्यामा कुरा गर्नु पर्यो अर्को जब मैले कुनै बिरामीको हेरचाह गर्नु पर्यो । मलाई एक दुई कुरा भन्नु छ तर आज होइन । हामीबिच फेरि भेट भयो भने म ती कुरा अवश्य भन्ने छु ।’ यति लेखेको खाम दिएर गान्धी त्यहाँबाट उठेर गए ।
जिन्नाको हठ र माउन्टबेटनको रुखोपन
लर्ड माउन्टबेटनले तोकिएको समय सीमाभित्र कांग्रेस र सिखहरूबाट सहमति पाइसकेका थिए । तर मोहम्मद अली जिन्ना यसमा सहमत थिएनन् । डोमिनिक ल्यापियर र ल्यारी कोलिन्सले यस घटनाको बारेमा विस्तृत रूपमा लेखेका छन्:
जिन्ना अझै पनि हुन्छ भन्न आनाकानी गरिरहेका थिए । तर उनलाई जसरी पनि ‘हुन्छ’ भन्न लगाउँछु भनेर माउन्टबेटनले अठोट लिइसकेका थिए । सुरुमा दुवैबीच शान्तिपूर्वक कुराकानी भइरहेको थियो । जिन्नाले आलटाल गर्दै गएपछि अन्तमा माउन्टबेटनले भने, ‘मिस्टर जिन्ना, म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु कि म तपाईँलाई मेरो योजना बिगार्न दिने छैन । भोलिको बैठकमा म कांग्रेसबाट मैले जवाफ पाइसकेको छु भनेर भन्ने छु । उनीहरूले केही सन्देह व्यक्त गरेका छन्, जुलाई म हटाउने कोसिस गर्नेछु । शिख पनि मानिसकेका छन् ।’
अगा अगाडि माउन्टबेटनले भने, ‘त्यसपछि म भन्न चाहन्छु कि हिजो राती मैले जिन्ना साहेबसँग लामो मैत्रीपूर्ण कुराकानी गरेँ र हामीले यो योजनामा छलफल गर्याैं र जिन्नाले मलाई व्यक्तिगत रूपमा आश्वस्त गरेका छन् कि उनी यो योजनामा सहमत छन् । त्यो बेला म तपाईँतिर फर्केर हेर्नेछु । म चाहन्न कि त्यति बेला तपाई केही बोल्नुहोस् ।’
‘म तिमीबाट मात्रै एउटा कुरा चाहन्छु कि तिमी आफ्नो टाउको हल्लाऊ, जसबाट मेरो कुरामा तिमी सहमत छौँ भनेर थाहा होस् । यदि तिमीले टाउको हल्लाएनौँ भने बुझ म तिम्रो लागि केहि गर्न सक्दिन । तिमीले अहिलेसम्म बनाएको सारा खेल बिग्रिनेछ । सबै कुरा ध्वस्त हुनेछ ।’
विभाजनको घोषणा
अनि त्यसपछि ठ्याक्कै त्यस्तै भयो जुन तय भएको थियो । विभाजन र स्वतन्त्रताको सम्बन्धमा लर्ड माउन्टबेटनले औपचारिक स्वीकृतिको लागि भारतीय नेताहरूसँग बैठक गरे । यसमा सबै कुरा त्यसरी नै भयो जसरी उनले अघिल्लो रात जिन्नालाई भनेका थिए । सन् १९४७ को जुन ३ मा साँझ करिब सात बजे सबै प्रमुख नेताहरूले औपचारिक रूपमा दुई छुट्टाछुट्टै देश बनाउने विषयमा आफूहरूबिच सहमति भएको औपचारिक घोषणा गरे । सबैभन्दा पहिला लर्ड माउन्टबेटनले बोलेका थिए । त्यसपछि नेहरूले हिन्दीमा ‘पीडा र यातानाको बीचमा भारतको महान् भविष्य निर्माण भइरहेको छ,’ भनेर भने । त्यसपछि मोहम्मद अली जिन्नाको पालो आयो । नले अङ्ग्रेजीमा भाषण दिए अनि पाकिस्तान जिन्दावादको नारा लगाएर आफ्नो भाषणको अन्त्य गरे । उनको भाषण पछि रेडियोमा उद्घोषकले उर्दूमा पढेर सुनाए । विभाजनको सहमतिबारे रेडियोमा घोषणा भइरहेको थियो ।
भोलिपल्ट माउन्टबेटले महात्मा गान्धीले कांग्रेस नेताहरूसँगको सम्बन्ध तोडेर प्रार्थना सभा गर्दैछन् अनि एक रात पहिला बैठकमा बोल्न नसकेका कुराहरू आज भन्नेछन् भन्ने सन्देश पाए । ‘प्रार्थना सभा भयो, तर त्यसमा गान्धीले भने कि विभाजनको लागि भाइसरायलाई दोष दिनुको कुनै फाइदा छैन । तपाईँहरू आफैँलाई हेर्नुस्, आफ्नो मनभित्र नियालेर हेर्नुस्, तब तपाईले थाहा पाउनु हुनेछ कि जे जति भयो त्यसको कारण के थियो ।’ ल्यापियर र कोलिन्सले लेखेका छन् ।
एक्कासि स्वतन्त्रताको मिति कसरी तय भयो ?
भोलिपल्ट लर्ड माउन्टबेटनले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतको भूगोलमा गर्न लागिएको हेरफेर सम्बन्धी आफ्नो योजना बताए । भइसरायको भाषण सबैले ध्यान दिएर सुनिरहेका थिए । अनि एक पछि अर्को गर्दै प्रश्नहरू उठिरहेका थिए । त्यति नै बेला एउटा प्रश्न उठ्या, जसको उत्तर निश्चित थिएन । प्रश्न थियो, ‘यदि सबै जनासत्ता जति सक्दो चाँडो हस्तान्तरण गर्नुपर्छ भन्ने कुरा मान्नु हुन्छ भने त्यसको लागि कुनै मिति पनि त सोचिरहनु होला ?’
‘माउन्टबेटनले आफ्नो दिमागको घोडा दौडाउन थाले, किनकि उनले कुनै मिति तय गरेका थिएनन् । तर यो काम जतिसक्दो चाँडो हुनुपर्ने उनको धारणा थियो । सबैजना त्यो मिति सुन्न पर्खिरहेका थिए । हलमा सन्नाटा छायो ।’ फ्रीडम एट मिडनाइटमा ल्यापियर र कोलिन्सले लेखेका छन् ।
यो घटनालाई पछि माउन्टबेटनले याद गर्दै भनेका थिए, ‘मैले त सोचि सकेको थिए कि सबै मेरै कियाधरा थियो भनेर म साबित गरिदिनेछु ।’ त्यसबेलाको पत्रकार सम्मेलनमा अचानक माउन्टबेटनले आफूले सत्ता हस्तान्तरणको मिति तय गरिसकेको छँु । यति भनिसकेपछि उनको मनमा धेरै मितिहरू आउँदै जाँदै गर्न थाले । त्यति नै बेला उनलाई आफ्नो जीवनको सबैभन्दा गौरवशाली विजयको याद आयो । यो मितिमा जापानी सेनाले उनको नेतृत्वसामु आत्मसमर्पण गरेको थियो । जापानी सेनाले आत्मसमर्पण गरेको दोस्रो वार्षिकोत्सव नजिकै थियो । माउन्टबेटनको आवाज अचानक ठुलो भयो अनि उनले सन् १९४७ को अगस्ट १५ मा भारतीय हातमा सत्ता सुम्पिने घोषणा गरे ।
उनले अकस्मात् आफ्नै इच्छाले तय र घोषणा गरिएको स्वतन्त्रताको मितिमा लन्डनदेखि भारतसम्मै विस्फोट भयो । लर्ड माउन्टबेटनले भारतमा ब्रिटिश इतिहासमा यसरी पर्दा खसाउनेछन् भनेर कसैले कल्पना सम्म गरेका थिएनन् । अन्ततः १४ र १५ अगस्टको मध्यरातमा भारतको विभाजन भयो र नयाँ राष्ट्रको रूपमा पाकिस्तानअस्तित्वमा आयो । अब दुवै देश स्वतन्त्र भए तर एक थिएनन् ।
अगस्ट १५ बारे यी कुराहरू तपाईँलाई थाहा छ ?
भारतको स्वतन्त्रता आन्दोलनको नेतृत्व महात्मा गान्धीले गरेका थिए । तर सन् १९४७ अगस्ट १५ मा देश स्वतन्त्र भएपछि उनी सोको उत्सवमा सहभागी भएनन् । थाहा पाइराख्नुस् भारतको स्वतन्त्रतासँग सम्बन्धित अन्य केही रोचक कुराहरू ।
- स्वतन्त्रताको दिनमा महात्मा गान्धी दिल्लीबाट हजारौँ किलोमिटर टाढा बङ्गालको नोआखलीमा गए । हिन्दु र मुस्लिमहरू बिचको साम्प्रदायिक हिंसा रोक्न उनी त्यहाँ अनशनमा बसेका थिए ।
- १५ अगस्टमा भारत स्वतन्त्र हुने भन्ने तय भयो त्यसपछि जवाहरलाल नेहरू र सरदार वल्लभभाई पटेलले महात्मा गान्धीलाई पत्र पठाएका थिए । उक्त पत्रमा यस्तो लेखिएको थियो, ‘अगस्ट १५ हाम्रो पहिलो स्वतन्त्रता दिवस हुनेछ । तपाईं राष्ट्रपिता हुनुहुन्छ । यसमा सहभागी भई आशिर्वाद दिनुहोस् ।’
- यसको जवाफमा गान्धीले ‘कलकत्तामा हिन्दु र मुस्लिमहरू एकअर्कालाई मार्दैछन् भने म कसरी उत्सव मनाउन आउन सक्छु । म दंगा रोक्न आफ्नो प्राण दिनेछु ।’ भनेर लेखेर पठाए ।
- जवाहरलाल नेहरूले अगस्ट १५ को मध्यरातमा भाइसरोय लज (अहिलेको राष्ट्रपति भवन)बाट ऐतिहासिक भाषण ‘ट्रिस्ट विथ डेस्टिनी’ दिएका थिए । त्यतिबेला नेहरू प्रधानमन्त्री बनिसकेका थिएनन् । यो भाषणलाई सारा संसारले सुने । तर गान्धीले सुनेनन् । त्यो दिन नौ बजे नै उनी सुत्न गइसकेका थिए ।
- सन् १९४७ को अगस्ट १५ मा लर्ड माउन्टबेटनले आफ्नो कार्यालयमा काम गरे । दिउँसो नेहरूले उनलाई आफ्नो मन्त्रिपरिषद्को सूची बुझाए र पछि इन्डिया गेट नजिकैको राजकुमारी बगैँचामा एक बैठकलाई सम्बोधन गरे ।
- प्रत्येक स्वतन्त्रता दिवसमा भारतीय प्रधानमन्त्रीले लाल किल्लाबाट झण्डा फहराउँछन् । तर सन् १९४७ को अगस्ट १५ मा यो काम भएन । लोकसभा सचिवालयको एक शोधपत्रका अनुसार नेहरूले १६ अगस्त १९४७ मा लाल किल्लाबाट झण्डा फहराएका थिए ।
- भारतका तत्कालीन वाइसराय लर्ड माउन्टबेटनको प्रेस सेक्रेटरी क्याम्पबेल जोन्सनका अनुसार जापानको मित्र राष्ट्रहरूसमक्ष आत्मसमर्पण गरेको दोस्रो वर्षगाँठ १५ अगस्टमा परेको थियो । यही दिन माउन्टबेटनले भारतलाई स्वतन्त्र गर्ने निर्णय गरेका थिए ।
- अगस्ट १५ सम्म भारत र पाकिस्तानबिचको सीमा रेखा तय भइसकेको थिएन । यसको फैसला अगस्ट १७ मा रेडक्लिफ लाइनको घोषणामार्फत गरिएको थियो ।
- भारत १५ अगस्टमा स्वतन्त्र त भयो, तर यसको आफ्नै राष्ट्रिय गान थिएन । रवीन्द्रनाथ टैगोरले जन–गण–मन सन् १९११ मा लेखिसकेका थिए । तर सन् १९५० मा मात्रै यो भारतको राष्ट्रिय गान बन्यो ।
- अगस्ट १५ मा भारतबाहेक अन्य तीन देशको स्वतन्त्रता दिवस हो । अगस्ट १५, १९४५ मा दक्षिण कोरिया जापानबाट स्वतन्त्र भयो । बहराइन सन् १९७१ को अगस्ट १५ मा बेलायतबाट र १९६० को अगस्ट १५ मा मा कंगो फ्रान्सबाट स्वतन्त्र भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुअधिकारका लागि ‘भिगन ग्यालरी’
-
रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’