ताप्लेजुङमा पहिराले दुई घर बगायो

ताप्लेजुङ । गएराति गएको पहिराले फक्ताङ्लुङ गाउँपालिका–६ मा दुई वटा घर बगाएको छ । पहिराले कञ्चनजङ्गा आधार शिविर जाने पदमार्गअन्तर्गत घुन्सा खोलाको पुलसमेत बगाएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले जानकारी दिए ।
पुल नजिकै स्थानीय छिरिङथाक्चे शेर्पाले होटेल सञ्चालन गर्दै आएका घर पहिराले बगाएको हो । उनकै अलैँची बगानमा रहेको अर्को घर पनि पहिराले पुरेको वडाध्यक्ष शेर्पाले बताए ।
होटेल सञ्चालक शेर्पा आज दिउँसो सदरमुकाम गएको र होटलमा रहेकी उनकी छोरीसमेत बेलुका अर्को घरमा गएकाले मानवीय क्षति नभएको बताइएको छ । “साँझदेखि नै पानी पर्न सुरु भएको थियो, राति करिब २ बजेपछि पहिराले दुई घर बग्यो, घरमा कोही नभएकाले मानवीय क्षति भने भएन । घुन्सा खोलाको ८१ मिटर लामो पुलसमेत बगाएपछि ओहोरदोहोरमा समस्या छ, यसको विकल्प खोजी रहेका छौँ”, वडाध्यक्ष शेर्पाले भने ।
पुल बगेकाले ओहोरदोहोरमा हुने समस्या समाधानका लागि तत्कालका लागि तुइन व्यवस्थापन गर्ने वा कुनै विकल्प गर्ने भन्ने बारेमा गाउँपालिकासँग समन्वय भइरहेको बताइएको छ । यही पुल भएर कञ्चनजङ्गा आधार शिविर जाने पदमार्ग पुग्ने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् अछाम आगलागीले पुर्याएको क्षति
-
नेपालको विजयी सुरुवात, ब्याट्सम्यानहरु लयमा देखिएपछि कतारलाई सजिलै हरायो
-
सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा भने तालाबन्दी
-
नारायणगढ–बुटवल सडक विस्तार : दाउन्ने खण्ड दैनिक चार घण्टा बन्द
-
अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
-
गणतन्त्रविरुद्ध प्रतिक्रान्तिको दुष्प्रयत्न : दोषी को ?