बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रभु साहको चेतावनी : शान्ति प्रक्रियाको हत्या गरिएको छ, तेस्रो जनआन्दोलनको माग भएको कुरा हेक्का रहोस्

बुधबार, ३० साउन २०८१, १९ : ५२
बुधबार, ३० साउन २०८१

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशमा शान्ति प्रक्रियाको हत्या गरिएको टिप्पणी गरेका छन् । उनले जनताले तेस्रो जनआन्दोलनको माग गरेको भन्दै ठुला दलका ठुला नेताहरूलाई हेक्का रहोस् भन्दै चेतावनी समेत दिए । 

बुधबार ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ को प्रतिवेदनमाथिको छलफलमा बोल्दै सांसद साह नेताहरुले बोलेको कुरालाई कसरी विश्वास गर्ने भन्ने प्रश्न गरे । 

 उनले आफ्नो घर बनाउन नसक्नेले देश बनाउँछु भनेर मान्छेले नपत्याउने पनि बताए ।  उनले भने, 'यो भनेको इमानदारिताको कुरा हो । नेताहरूको इमानदारितामा ठुलो खडेरी पर्‍यो । जनताले विश्वास गर्न छोडे । यो भनेको देशमा यतिवेला नेतृत्वविहीनता र अराजकताको स्थिति हो । त्यो द्वन्द्वको स्थिति हो । त्यसको अन्त्यको लागि पनि इमानदारिताको जरुरी पर्छ । म नेताहरूलाई फेरि दोहोर्‍याए भन्छु–आफ्ना गल्तीहरूलाई पनि यहाँ उभिएर भन्नुहोस् । म फेरि पनि भन्छु कि शान्ति प्रक्रियाको हत्या गरिएको छ । शान्ति प्रक्रियाको मूल आत्मा मारिएको छ । जनतालाई फेरि जहाँको त्यहीँ पुर्‍याएको छ । र, तपाईँहरूले युद्ध निम्त्याउँदै हुनुहुन्छ । अहिले देशमा जनताबाट तेस्रो जनआन्दोलनको माग भएको छ । यसप्रति हेक्का रहोस् भन्न चाहन्छु ।’

 तर उनले विधेयक ढिलै आएपनि राष्ट्रिय सहमतिको साथ आएको भन्दै स्वागत गरे । साथै उनले यसको इमानदारितापूर्वक कार्यान्वयन हुनुपर्नेमा समेत जोड दिए । 

यसैगरी उनले शान्ति भन्नेबित्तिकै न्याय र समानतासँग जोडिने विषय भएकोले अहिले नेपालमा व्यवहारमा त्यस्तो नपाइएको गुनासो पोखे । 

साहले अहिले देशमा लोकतन्त्र नै नभएको टिप्पणी गरे । उनले प्रश्न गरे,‘अहिले देशमा लोकतन्त्र कहाँ छ ? नेपाली जनताले त लोकतन्त्रको लागि लडेका थिए । आज जनताको पोजिशन के छ ? एउटा निरीह, शासित, लाचारको रूपमा खडा हुनुपरेको छ । '

नेपालमा लोकतान्त्रिक प्रतिस्पर्धाको कुरा गरिए पनि व्यवहारमा भने सिन्डिकेट देखिएको भन्दै त्यसमा पनि उनले प्रश्न उठाए । उनले भने,‘सिन्डिकेट भनेको प्रतिस्पर्धा हुन्छ ? सिन्डिकेट र कम्पिटिशन कहाँ एक ठाउँमा आउँछ भनेर म सोध्न चाहन्छु । हामी साँच्चिकै प्रतिस्पर्धाको पक्षधर हौँ भने सिन्डिकेटको परिभाषा र व्यवहारमा त्यस्तो गर्नुहुँदैन थियो । अहिले लोकतन्त्रलाई दलीय सिन्डिकेटले घेर्नुभयो । दलीय सिन्डिकेटमा पनि ठुलो पार्टीको सिन्डिकेट ल्याउनुभयो । अनि ठुलो पार्टीमा पनि गुटको सिन्डिकेट ल्याउनुभयो । अन्ततः अहिले देश गुटका नेताहरूले चलाइराखेका छन् । पार्टीलाई गुटले कन्ट्रोल गरेको छ, साना पार्टीलाई ठुलो पार्टीले नियन्त्रण गरेको छ । पार्टीले लोकतन्त्रलाई कन्ट्रोल गरेको छ । भएको छ चाहिँ के भनेर प्रश्न उठ्छ । देशमा गौरव गर्नुपर्ने जनता नै निरीह भएर बसेपछि हामी इमानदार त छैनौँ भन्ने देखाउँछ ।’

बोलीमा समानता भनिए पनि नेपालमा अहिले व्यवहारमा भने विशेषाधिकारको अभ्यास भएकोमा पनि उनको आपत्ति थियो । साहले थपे–‘समानता भनेको समान अधिकारको कुरा हुन्छ, विशेषाधिकार भनेको त समानताको विरोधी कुरा हो । हामी त दुई वटै अभ्यास गरिरहेका छौँ । कस्तो व्यवस्था र संविधान बनाएका छौँ भन्ने कुरा एकचोटी नियाल्नुपर्छ कि पर्दैन ?’

शान्ति प्रक्रियाकै मूल सार वा आत्मा भनेको नै राजनीतिक मुद्दा भएकोमा त्यसलाई हत्या गरिएकोमा पनि उनले आक्रोश पोखे । उनले भने,‘राजनीतिक मुद्दालाई हत्या गरेर अनि शान्ति प्रक्रियालाई हामीले अगाडि बढायौँ भनेर हुन्छ ? बेइमानी हुँदासम्म देशमा शान्ति हुँदैन । नेपालमा हामीले शान्तिलाई भाँड्यौँ । हामीले  शान्ति प्रक्रियालाई धोका दियौँ। जनतालाई हामीले ठग्यौँ भनेर यो सही कुरा यहीँ बोल्नुपर्ने हो नि? यो ऐतिहासिक समारोह र क्षण हो, हामी त नेपालमा यतिवेला इमानदारिताको खडेरी हेरिरहेका छौँ।’ 

उनले अहिलेका शीर्ष नेताहरूले सबैखाले गलत कार्यको जिम्मा लिनुपर्ने टिप्पणी गरे । उनले भने,‘नेताहरूले त यहाँ ठुलो मोडेल भन्नुभयो । अहिलेको कुकर्मको पनि जिम्मा त्यसैमा पर्छ होला नि ? अहिले देशको बर्बादीपनि त्यसमै पर्छ नि । जनताको निराशा पनि त्यसमै पर्छ नि । देशको भविष्य जुन अन्योल भइरहेको छ, त्यसैमा पर्छ नि । नेताहरूमा सबै राम्रो गरेको आफूले जस लिने र नराम्रो चाहिँ अरूलाई देखाउने परिपाटी छ, यो इमानदारिता भएन । नेपालमा इमानदार नेताको कमी भयो ।आज नेताहरूमा ठुलो बेइमानीको स्थिति छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप