मङ्गलबार, ०८ माघ २०८१
ताजा लोकप्रिय

प्राइम कमर्सियल र साङ्ग्रिला डेभलपमेन्टको अन्तर बैंक कार्डलेस एटीएम विड्रअल सेवा सुरु

बुधबार, ३० साउन २०८१, १९ : ५०
बुधबार, ३० साउन २०८१

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले प्राइम कमर्सियल बैंक र साङ्ग्रिला डेभलपमेन्ट बैंक सँगको सहकार्यमा अन्तरबैंक कार्डलेस विड्रअल सेवा सुरु गरेको छ । यस सेवामा आबद्ध बैङ्कहरूका ग्राहकहरूले सञ्जालमा रहेका एटीएम मेसिन प्रयोग गरी बिना कार्ड मोबाइल बैंकिङ्ग वा कनेक्टआइपिएसको माध्यमबाट नगद निकाल्न सकिने व्यवस्था थप गरिएको छ । 

अब दुबै बैंकका ग्राहकहरूले यस सेवाको सुरुवात पश्चात् एउटा बैंकको खाताबाट अर्को बैंकको एटीएम मेसिन प्रयोग गरी समेत बिना कार्ड नगद झिक्न सकिने भएको छ । हालका लागि ग्राहकहरूले एनसीएचएलले सञ्चालन गर्दै आएको रिटेल प्ल्याट्फर्म अन्तर्गत कनेक्ट आईपीएसमा रजिस्ट्रर गरी आफ्नो लिङ्क गरिएको प्राइम कमर्सियल बैंक वा साङ्ग्रिला डेभलपमेन्ट बैंकको खाताबाट सो सुविधा प्रयोग गर्न सक्नेछन् । 

ग्राहकले कनेक्टआइपिएस मोबाइल एपमा लग इन गरी कार्डलेस विड्रअल अप्सनमा क्लिक गरी निष्कासन गर्ने बैंक खाता छनौट गर्नुपर्दछ । यस पश्चात् कनेक्टआइपीएसमा रजिस्टर गरिएको मोबाइल नम्बरमा प्राप्त भएको ओटीपी लाई सञ्जालमा उपलब्ध बैंकको नजिकैको एटीएममा उक्त ओटीपी प्रयोग गरी नगद झिक्न सकिनेछ । 

हाल यो सेवा प्राइम कमर्सियल बैंक र साङ्ग्रिला डेभलपमेन्ट बैंकको एटीएममा उपलब्ध रहेको छ भने सो सेवा चरणबद्ध रूपमा थप अन्य सदस्य बैंक वित्तीय संस्थाहरूमा पनि विस्तार गरिने योजना रहेको छ । 

अहिले बैंकका ग्राहकहरूले कार्डलेस विड्रअल सेवा आफ्नै बैंकको एटीएमबाट मात्र गर्न सकिने व्यवस्था रहेकोमा यस नयाँ सुविधाजनक सेवाको सुरुवात पश्चात् ग्राहकहरूले सजिलै अर्को बैंकको एटीएमबाट समेत बिना कार्ड नगद निकाल्न सक्ने व्यवस्था भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप