राष्ट्रिय खेलकुदको कार्यविधिबारे छलफल अगाडि बढ्यो

काठमाडौँ । आगामी मंसिरको पहिलो सातादेखि कर्णालीमा सुरु हुने दसौँ राष्ट्रिय खेलकुदको कार्यविधिमा छलफल प्रक्रिया अगाडि बढेको छ ।
सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बुधबार खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङको टोलीले उक्त कार्यविधिमा छलफल गरी त्यसले अन्तिम टुङ्गो लगाउने प्रक्रिया अगाडि बढाएको हो । कर्णाली प्रदेशका विभिन्न जिल्लामा आगामी मंसिर २ देखि ९ गतेसम्म राष्ट्रिय खेलकुद प्रतियोगिताको दसौँ संस्करण आयोजना हुँदैछ ।
मन्त्री चौधरीले यस पटक राष्ट्रिय खेलकुद निर्धारित समयमा नै हुने प्रष्ट पारिसकेका छन् । त्यसैले आयोजनाको तयारीलाई तीव्रता दिन आवश्यक कामका प्रक्रिया अगाडि बढेको छ ।
बुधबार मन्त्रालयमा राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक बजेटका खाका, स्थानीय व्यवस्थापन र खेलाडी छनोटलगायत विषयका बारेमा पनि छलफल भएको थियो । यसअघि नै दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, मस्कट र गीत सार्वजनिक भइसकेको छ । लोगोमा सात प्रदेशलाई प्रतिनिधित्व गर्ने रङ, राष्ट्रिय चरा डाँफे, राष्ट्रिय झण्डा र कर्णाली नदीलाई समेटिएको छ । मस्कटमा कर्णालीको हिमाली जिल्लामा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा छ । नेपाली खेलकुदका निकायले सय दिनभन्दा कम समय बाँकी रहँदा राष्ट्रिय खेलकुद आयोजनाको तयारीमा तीव्रता पारेको छ ।
बुधबार मन्त्रालयमा खेलाडी, प्रशिक्षक, अफिसियल र रेफ्रिको पोशाक, खेल सामग्री र व्यवस्थापकीय पक्षका बारेमा छलफल भएको थियो । उक्त दसौँ राष्ट्रिय खेलकुद कार्यविधि र आयोजनाका लागि आवश्यक अन्य तयारी प्रक्रियाका बारेमा राखेपको बोर्डबाट पास गर्नुपर्ने हुन्छ । यद्यपि, लामो समयसम्म राखेपको बोर्ड बैठक बस्न सकेको छैन । यस्तो स्थितिमा राष्ट्रिय खेलकुद निर्धारित समयमा हुनेमा संका पनि उत्पन्न भइरहेको छ । आगामी राष्ट्रिय खेलकुदको सय दिनको काउन्ट डाउन पनि गत सातादेखि नै सुरु भइसकेको छ । दसौँ खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल कर्णाली प्रदेश रंगशालाको ९० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम असोजभित्रमा सम्पन्न हुने कर्णाली खेलकुद विकास समितिले लक्ष्य राखेको छ । यसपल्ट राष्ट्रिय प्रतियोगितामा ३६ वटा खेल सञ्चालन गरिँदैछ । तीमध्ये कर्णालीमा २४ खेलहरू खेलाइने तयारी भएको छ । बाँकी खेलहरू प्रदेश बाहिर आयोजना गर्न राष्ट्रिय खेलकुद परिषद्लाई सिफारिस भएको छ ।
कर्णालीका १० जिल्लामध्ये अधिकांश खेलहरू सुर्खेतमा हुने भएपनि केही खेल हिमाली र पहाडी जिल्लामा पनि आयोजना गर्ने तयारी गरिएको छ । राष्ट्रिय सडक सञ्जालको पहुँच पनि नपुगेको हुम्लामा समेत दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेलहरू हुनेछन् । परिषद्ले हुम्लामा हक्की खेल खेलाउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने
-
पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति
-
अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
मङ्गलबार कसलाई कति लाभ ? हेरौँ राशिफल
-
स्पेनिस ला लिगामा इस्पानियोल र गिरोनाले बराबरी खेले
-
देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना