सांसदहरूको एकै स्वर : टीआरसीमा सहमति जुट्नु विश्वका लागि उदाहरणीय
काठमाडौँ । सांसदहरूले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा दलहरूका बिचमा सहमति जुट्नु शान्ति स्थापनामा विश्वका लागि उदाहरणीय नमुना भएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफलमा भाग लिँदै सांसदहरूले यस्तो बताएका हुन् । सांसदहरूले टीआरसीमा राष्ट्रिय सहमति हुनु सकारात्मक र उदाहरणीय कार्य भएको बताएका छन् ।
बैठकमा बोल्दै जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले नेपालले शान्ति स्थापनामा उदाहरणीय नमुना प्रस्तुत गरेको बताइन् । उनले सबै नेपालीहरू यसका लागि धन्यवादको पात्र भएको पनि बताइन् । उनले यो विधेयकले राष्ट्रिय सहमतिको संस्कार सुदृढ गर्न सुअवसर प्राप्त गरेको बताइन् ।
जनमत पार्टीका सांसद अब्दुल खानले जनयुद्धदेखि शान्ति प्रक्रियासम्म भूमिका खेलेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिए । उनले मधेस विद्रोहको अगुवा तत्कालीन मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई पनि सम्मान व्यक्त गरे । उनले पीडितलाई सम्बोधन गर्नेगरी विधेयक आएको बताए ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले विधेयकमा सहमति जुट्नु संसारकै नमुनाको रूपमा रहेको बताए । उनले पीडितले परिपूरणसहित न्याय पाउनेमा आशा व्यक्त गरे ।
नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले ०७२ सालको टिकापुर विद्रोहको घटनालाई पनि यही विधेयमा समावेश गरी बिना कसुर फरार सूचिमा परेका र बिना कसुर मुद्दा लगाएका राजबन्दीहरुलाई न्याय दिलाउन आग्रह गरे । उनले लाल आयोग प्रतिवेदन पनि यही विधेयकमा समावेश गरी लानुपर्ने धारणा राखे ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अल्पसंख्यकले बहुसंख्यकलाई शोषण र शासन गर्ने पुँजीवादी गणतन्त्र माओवादी जनयुद्धको लक्ष्य हो भनि प्रश्न गरे । उनले जनयुद्धको माग के हुन् ? सशस्त्र द्वन्द्वका नेताहरू को–को हुन् ? सशस्त्र द्वन्द्वका लागि लडाकु तालिम कहाँ भयो ? हातहतियार कहाँबाट प्राप्त भयो ? कुन–कुन माग पूरा भयो ? र कुन–कुन माग पूरा भएन ? भन्ने पनि स्पष्ट पार्नुपर्ने बताए ।
स्वतन्त्र सांसद प्रभु साहले जनयुद्धका राजनीतिक मुद्दालाई हत्या गरेर शान्ति प्रक्रिया पूरा नहुने बताए । उनले नेपालको शान्ति प्रक्रियालाई धोका दिइएको टिप्पणी गरे । उनले सही काम नगरेर ढाँट्ने काम गरिएको बताए । नेताहरूले शान्तिको लागि काम नगरी आफ्नो लागि काम गरिरहेको बताए । उनले नेपालमा इमान्दार नेताको कमी भएको बताए । शान्ति प्रक्रियाको मूल आत्मलाई मारिएको उनको भनाई छ ।
त्यस्तै, स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंहले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सम्झना गरे । उनले प्रमुख दलका शीर्ष नेताहरूको भूमिकाका कारण विधेयक आउन सफल भएको पनि बताए । उनले शान्तिको साथसाथै विकृति पनि आएको बताए । उनले ०६२/०६३ पछि नेपाल विदेशी शक्तिको खेल मैदान बनाइएको बताए। विदेशीलाई बोलाएर नेपाललाई द्वन्दको क्रिडास्थल बनाइएको उनको भनाई छ । उनले जनताको समस्या समाधानमा केन्द्रित हुन नेताहरूलाई आग्रह गरे ।
बैठकमा बोल्दै स्वतन्त्र सांसद योगेन्द्र मण्डलले सशस्त्र द्वन्द्वका पीडितहरूले न्याय पाउँछन् भनेर आफू पहिलोचोटी संसदमा खुसी र भावुक भएको बताए । उनले सांसदले गरिमामय काम गर्नुपर्ने भन्दै टीआरसीजस्तो काम आजसम्म कति पूरा गर्यौँ भनेर प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षरदेखि रवि लामिछाने र छवि जोशीविरुद्ध पर्सामा पनि पक्राउ पूर्जीसम्म
-
पूर्वउपराष्ट्रपति पासाङलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, बैठक आह्वान
-
स्टक ब्रोकर एशोसिएशनको नयाँ कार्यसमितिका लागि ढकाल समूहको उम्मेदवारी घोषणा
-
एनपिएल : मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
-
कञ्चनजङ्घा गोल्डकप : गोधुली फुटबल क्लब फाइनल प्रवेश
-
‘टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन विदा’ दिने प्रस्ताव