नयाँ अध्यक्ष छान्न भाजपालाई किन लागिरहेछ यति लामो समय ?
नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जगत प्रकाश नड्डाको कार्यकाल सकिएको छ । यस्तोमा भाजपामा नयाँ अध्यक्ष को बन्ला ?भन्ने कौतुहलता धेरैमा बढेको छ । राजनीतिक वृत्तभरि यसबारे चर्चा परिचर्चा भइरहेको छ ।
मिडिया रिपोर्टका अनुसार आइतबार दिल्लीमा रक्षामन्त्री राजनाथ सिंहको घरमा यस विषयमा गहन छलफल भएको थियो । रिपोर्टलाई पत्याउने हो भने बैठकमा राजनाथ सिंह बाहेक गृहमन्त्री अमित शाह, बीजेपी महासचिव बीएल सन्तोषको साथै आरएसएस महासचिव दत्तात्रेय होसाबले र संयुक्त महासचिव अरुण कुमार पनि उपस्थित थिए ।
महिनौँदेखि यो पदका लागि कैयौँ नेताको दौड चलिरहेको छ । तर आइतबार घण्टौँसम्म चलेको सो महत्त्वपूर्ण बैठकमा कसैको नाम अनुमोदन भएको खबर आएको छैन । यस्तो अवस्थामा भाजपाले आफ्नो नयाँ अध्यक्ष चयन गर्न किन यति लामो समय लगाइरहेको छ ? भन्ने प्रश्न उठेको छ । जेपी नड्डाको कार्यकाल फेरि लम्बिन सक्छ ? के यो पोस्टमा ओबीसी वर्गबाट कुनै नयाँ अनुहार देख्न सकिन्छ ? यी मध्ये कुनै प्रश्नको पनि उत्तर आएको छैन ।
चार राज्यको चुनावले भएको हो त ढिलाइ ?
यस वर्ष भारतका चार राज्य महाराष्ट्र, हरियाणा, झारखण्ड र जम्मू कश्मीरमा विधान सभा चुनाव हुँदैछ । जेपी नड्डासँगको सरकारको कम्फर्ट लेभल राम्रो भएकाले चुनावलाई ध्यानमा राख्दै बीजेपीले उनको हैसियतलाई यथावत् राख्न चाहेको वरिष्ठ पत्रकार हेमन्त अत्री बताउँछन् । ‘निर्वाचन आउन दुई महिना बाँकी छ, यस्तो अवस्थामा नयाँ व्यक्तिलाई अध्यक्षमा ल्याउँदा झन्झट बढ्छ, किनकि उनलाई कुरा बुझ्न धेरै समय लाग्छ । पार्टीसँग अध्यक्षका लागि नामै नभएको होइन । तर पार्टी यथास्थिति कायम गरेर प्रदेशको निर्वाचन गराउन चाहन्छन्,’ उनले भनेका छन् ।
तर वरिष्ठ पत्रकार विजय त्रिवेदी भने यो कुरा पत्याउँदैनन् । चार प्रदेशको निर्वाचनको पार्टी अध्यक्ष पदसँग कुनै लेनदेन नभएको उनको भनाइ छ । विजय त्रिवेदी भन्छन्, ‘पार्टीको संबिधानअनुसार कम्तीमा १५ वर्ष पार्टीको सदस्य रहेको व्यक्ति मात्रै अध्यक्ष बन्न सक्छ, यस्तो अवस्थामा जो आउँछ उसले संगठनलाई पहिला देखि नै बुझेको हुन्छ । जिम्मेवारी मात्रै परिवर्तन हुन्छ । त्यसैले नयाँ व्यक्तिले संस्थालाई बुझ्न धेरै समय लाग्दैन ।’ उनी भन्छन् । भाजपा मायावती, अखिलेश यादव, स्टालिन जस्ता नेताहरूका क्षेत्रीय पार्टी जस्तो नभएको अनि भाजपाको एउटा संरचना भएको र सोही अनुसार समय समयमा मुखिया परिवर्तन हुने उनको भनाइ छ ।
को–को छन् अध्यक्षको दौडमा ?
भाजपाको संविधान अनुसार कम्तीमा ५० प्रतिशत राज्यमा संगठनको निर्वाचन भइसकेपछि मात्रै राष्ट्रिय अध्यक्षको निर्वाचन गर्न सकिनेछ । पार्टीका प्रदेश एकाइहरू लोकसभा चुनावमा व्यस्त थिए, त्यसैले चुनाव गराउन ढिलाइ भएको र यसको प्रत्यक्ष असर दलको अध्यक्षको चुनावमा परेको भाजपाले बताएको वरिष्ठ पत्रकार शरद गुप्ता भन्छन् । सङ्घ र भाजपाबीच नाममा सहमति हुन नसके पनि अगस्ट महिनाको अन्त्यसम्ममा कार्यवाहक अध्यक्ष बन्ने अपेक्षा गरिएको उनले बताए । संघले शिवराज सिंह चौहानलाई पार्टीको राष्ट्रिय अध्यक्ष बनाउन चाहेको तर नरेन्द्र मोदीले उनलाई मन्त्रिपरिषद्मा राखिदिए । यो बाहेक विनोद तावडे, देवेन्द्र फडणवीस र सुनील बंसलमध्ये कसैलाई पनि यो ठुलो जिम्मेवारी दिन सकिने गुप्ता बताउँछन् ।
पार्टीको अध्यक्ष को बन्ला ? भन्ने प्रश्नको जवाफमा नरेन्द्र मोदी र अमित शाहको जमानामा नामको कुरा गर्नु ठिक नभएको हेमन्त अत्री बताउँछन् ।महाराष्ट्रमा फाइदा होला भनेर एक महिनाअघि विनोद तावडेको नाम चलाइएको तर आन्तरिक सर्वेक्षणमा त्यस्तो केही बाहिर नआएको उनको भनाइ छ । महाराष्ट्रमा लोकसभा चुनावको नतिजा पनि राम्रो आएन । भूपेन्द्र यादव र फडनविसको नाम पनि सुन्नमा आएको उनले बताए । तेस्रो पटक मोदीको सरकार बनेपछि अमित शाहलाई फेरि पार्टी अध्यक्ष बनाउने कुरा चलेको थियो । तर उनलाई गृह मन्त्रालयको जिम्मा दिइयो । राजनीतिका जानकारहरू यस दौडमा हरियाणाका पूर्वमुख्यमन्त्री मनोहर लाल खट्टर, धर्मेन्द्र प्रधान, केशवप्रसाद मौर्य जस्ता नेताहरूको नाम पनि लिने गर्छन् ।
अध्यक्षको रुपमा जेपी नड्डा
सन् २०१९ को जुनमा जेपी नड्डालाई भाजपाको कार्यकारी अध्यक्ष बनाइयो । २०२० को जनवरीमा उनलाई पूर्णकालिक अध्यक्ष बनाइयो । यस वर्ष फेब्रुअरीमा, उनको कार्यकाल यही जुनसम्मका लागि बढाइएको थियो । तेस्रो पटक प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदीले उनलाई स्वास्थ्य मन्त्री बनाए । भाजपामा एक व्यक्ति, एक पदको नियम पनि छ जसका कारण उनले अध्यक्ष पद छोड्नुपर्नेछ । उनको कार्यकालमा एक दर्जनभन्दा बढी राज्यमा निवौचन भएको थियो । यी मध्ये केही राज्यमा भाजपाले जितेको छ भने केहीमा हार्यो । ‘जेपी नड्डाको कार्यकालमा भाजपाको सफलता कम र असफलता बढी छ । उनको आगमनपछि पार्टीले उनको गृह राज्य हिमाचल प्रदेशलगायत सबै ठुला राज्यहरू गुमायो । यसबाहेक भाजपाले कर्नाटकमा पनि पराजय बेहोर्यो,’ वरिष्ठ पत्रकार हेमन्त अत्री भन्छन् ।
जेपी नड्डाको कार्यकालमा बीजेपी केन्द्रमा २४० सिटमा समेटियो, सरकार बनाउन नितिश र चन्द्रबाबु नायडूको सहारा लिनु पर्यो । केही स्थानमा चुनाव हारेको भए पनि जेपी नड्डाको कार्यकाल निकै राम्रो रहेको विजय त्रिवेदी बताउँछन् । उनी भन्छन्, ‘सरकार र संगठन एकसाथ अघि बढ्दा संगठनका धेरै मानिसहरू रुष्ट हुन सक्छन्, किनकि हर कोही सङ्गठनबाट सरकारमा जान चाहन्छन् । यस्तो अवस्थामा सन्तुलन कायम राख्नुपर्छ, जुन जेपी नड्डाले गरेका छन् । उनको पालामा संगठनमा कुनै ठुलो विवाद भएन, जहिले पनि भाजपाको इतिहास लेखिनेछ, उनलाई सफल अध्यक्षको रूपमा लिइनेछ ।’ उनले भनेका छन् । तर यस विषयमा नवीन जोशीको विचार फरक छ । ‘पार्टी अध्यक्षको रूपमा नड्डाको कुनै स्वतन्त्र अस्तित्व थिएन । एक हिसाबले नड्डा अमित शाह र नरेन्द्र मोदीको छायामा हिँड्ने गर्थे,’ उनको मान्यता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति