नेपालमा दुई दलीय व्यवस्था आउन दिँदैनौँ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २०५४ सालदेखि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युद्धसँग जोडिएका विषयमा लगातार संवाद भएको खुलासा गरेका छन् । बुधबार संसदमा टीआरसी विधेयकमाथिको छलफलका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले २०५६ मा पटनामा पहिलो पटक प्रचण्डसँग बैठक बसेको बताए ।
‘२०५७ साल वैशाख ७ गते दिल्लीमा दोस्रो भेट भयो, २०५७ कात्तिक २ मा पटनामा, २०५८ वैशाख १३ गते गोरखपुरमा भेट भएको थियो’, नेपालले भने, ‘गोरखपुर घटनाका सम्बन्धमा हिसिला यमीले के भन्नुभएको थियो स्मरणमा आउँछ । २०५८ साउन ३१ सिलगुढीमा भयो ।’ सिलगढीमा आफूले प्रचण्डलाई १० बुँदा पढेर सुनाएको भन्दै न्यायपूर्ण युद्ध गर्नुछ भनेपनि अनुचित काम नहोस् भनेर सम्झाएको स्मरण गराए ।
उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने कुरा गर्दैगर्दा ६३ हजारभन्दा बढी मुद्दा दर्ता भएको भन्दै गम्भीर अपराध ठानिएका केसलाई कसरी लिने, कसरी पीडितलाई न्याय दिने भनेर सोच्नुपर्ने बताए । उनले १२ बुँदे सहमतिका सवालमा कतिपयले भारतले गराएको भनेर भन्ने गरेपनि त्यसमा सत्यता नभएको दाबी समेत गरे ।
‘साना दुःखले ल्याएको शान्ति प्रक्रिया होइन । मन सफा हुनुपर्छ, देश र जनताको माया हुनुपर्छ’, उनले भने,‘जब शान्ति प्रक्रियामा हस्ताक्षर भयो त्यसमा हामी सहभागी भएकालाई पनि साक्षी राख्नुस् भन्दा सानो चित्त भएकाले राखेनन् ।’ उनले त्यसबेला आफू रिसाएपछि गिरीजाबाबु र प्रचण्डले बोलाएपछिमात्र सहभागी भएको पनि बताए । उनले संविधान संशोधनको कुरा गरेर मध्यरातमा हस्ताक्षर गरेको भन्दै नेपालमा दुई दलीय व्यवस्था आउन नदिने बताए ।
‘के छलफल गर्नुपर्दैनथियो, मध्यरातमा हस्ताक्षर गर्ने हो ? दुई दलीय शासन ल्याउन खोजेको हो ? नेपालमा दुई दलीय शासन आउन सक्दैन’, अध्यक्ष नेपालले भने, ‘आउन हामी दिँदैनौँ ।’ बहुदलीय व्यवस्था आफूहरूले ल्याएको भन्दै नेपालले यस व्यवस्थालाई अझै समृद्ध बनाउन चाहने बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवा सारै सोझो भएको भन्दै ख्याल गर्न सुझाव दिए । उनले दुई दलीय प्रणाली स्थापित गर्ने कुरा सुनिरहेको भन्दै बंगलादेशको घटनाले सचेत बनाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ला लिगामा बार्सिलोना र एटलेटिको मड्रिड अगाडि, रियाल तेस्रो स्थानमा झर्यो
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल