एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २१ औँ संस्करण भदौ २८ गते
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड’ को २१औँ संस्करण आगामी भदौ २८ गते काठमाडौँमा आयोजना हुनेछ । आयोजक खेलकुद पत्रकार मञ्चले बुधबार पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिएको हो ।
यसपटक पनि ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड’ लाई गोल्छा ग्रुपको बजाज पल्सर मोटरसाइकलले नै प्रायोजन गर्ने भएको छ । बुधबार नै यस सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे ।
लगातार १६औँ वर्ष गोल्छा ग्रुपले ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड’लाई प्रायोजन गर्न लागेको हो । यसपटक स्पोर्टस अवार्डमा विभिन्न १० वटा विधा समावेश गरिएको जानकारी मञ्चका महासचिव प्रज्ज्वल ओलीले दिए ।
यसपटक वर्षको उत्कृष्ट पुरुष खेलाडी, वर्षको उत्कृष्ट महिला खेलाडी, वर्षको उत्कृष्ट युवा खेलाडी, वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेशल अवार्ड, टिम अफ दी इयर, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड समावेश गरिएको छ ।
वर्षको उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, युवा खेलाडी, प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको मनोनयन केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ । यसका लागि मञ्चले छुट्टै छनोट समिति गठन गरेको बताइएको छ ।
सम्झौता अनुसार, गोल्छा ग्रुपले वर्षको उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, पिपल्स च्वाइस अवार्ड, प्रशिक्षक र युवा खेलाडीको विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गर्नेछ । अन्य विधाका विजेतालाई भने अघिल्लो वर्ष ५० हजार रुपैयाँ दिइएकोमा यसपटक एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।
मञ्चका अध्यक्ष सुवेदीले यसपटक स्पोर्टस अवार्ड विशेष हुने बताए । उनले स्पोर्टस अवार्डको पूर्वसन्ध्यामा मञ्चले एआईपीएस एसियाको कंग्रेस पनि आयोजना गर्न लागेको जानकारी दिए । एआईपीएस एसियाको कंग्रेसमा सहभागी विदेशी प्रतिनिधिहरु पनि अवार्ड कार्यक्रममा सहभागी हुने जानकारी उनले दिए ।
एआईपीएस एसियाको कंग्रेस भदौ २५ देखि २८ गतेसम्म हुनेछ । कंग्रेसमा एसियाका ३३ राष्ट्रका खेलकुद पत्रकारहरुको उपस्थिति रहने छ । यसका अतिरिक्त कंग्रेसमा एआईपीएस युरोप, अमेरिकालगायतका प्रतिनिधिको पनि उपस्थिति रहने मञ्चले जनाएको छ ।
गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड’ र गोल्छा ग्रुप एकअर्कासँग अभिन्न रुपमा जोडिएको बताए । उनले विगतदेखि नै गोल्छा ग्रुपले नेपाली खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको स्मरण पनि गरे ।
गोल्छा ग्रुपले अवार्ड कार्यक्रममा लागि पाँचवटा मोटरसाइकलका अतिरिक्त १२ लाख रुपैयाँ नगद पनि उपलब्ध गराउने छ । पिपल्स च्वाइस अवार्डको विजेतालाई भने पल्सर एनएस ४०० मोटरसाइकल प्रदान गरिने बताइएको छ ।
कार्यक्रममा ओलम्पियन दीपक बिष्टले स्पोर्टस अवार्डले खेलाडीको हौसला बढाउन मद्दत पुर्याउने बताए । ‘म आफैले पनि यो अवार्ड पाएको छु । खेलाडीको मनोबल बढाउन यो अवार्डको निकै ठुलो भूमिका रहँदै आएको छ,’ ओलम्पियन संघका अध्यक्ष समेत रहेका बिष्टले भने ।
अघिल्लो वर्षको स्पोर्टस अवार्डमा एथलेटिक्सका दीपक अधिकारी उत्कृष्ट पुरुष खेलाडी, एथलेटिक्सकी राजपुरा पछाई उत्कृष्ट महिला खेलाडी, एथलेटिक्सकै चन्द्रबहादुर गुरुङ उत्कृष्ट प्रशिक्षक र क्रिकेटका देवकुमार खनाल उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए ।
पिपल्स च्वाइस अवार्ड टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठले जितेकी थिइन् । स्पेशल अवार्ड फोटोपत्रकार सुदर्शन रञ्जितले पाएका थिए । पारा एथलिट सम्मान एथलेटिक्सकी पारा खेलाडी मैयाँ विशुंखेले प्राप्त गरेकी थिइन् । एसिया स्पोर्टस जर्नालिस्ट अवार्ड हङ्कङका खेलपत्रकार चु चान फाईले र लाइफटाइम एचिभमेन्ट अवार्ड भारोत्तोलनका ओलम्पियन राजेन्द्रकुमार प्रधानले प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति
-
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
-
१० बजे १० समाचार : रवि लामिछानेलाई काठमाडौँ ल्याउने तयारीदेखि मानव तस्करीमा आरोपित कोशीका पूर्वमन्त्री अधिकारीको रिहाइसम्म