शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

३० वर्षअघिको दुर्घटना सम्झाउने ब्राजिलको विमान दुर्घटना

के ‘सिभियर आइसिङ’ का कारण दुर्घटना भएको हो ?
बुधबार, ३० साउन २०८१, १४ : ५०
बुधबार, ३० साउन २०८१

साउ पाउलो । गत हप्ता ब्राजिलमा भएको विमान दुर्घटनाको सटिक कारण यकिन गर्न अहिले नै चाँडो होला । तर, हवाई दुर्घटनाका विज्ञहरूले उक्त दुर्घटना ३० वर्षअघि भएको एउटा दुर्घटनासँग मेल खाने बताउँछन् । उक्त दुर्घटनाले हवाई क्षेत्रको सुरक्षामा विभिन्न सुधारहरू लागू गर्न बाध्य गरेको थियो ।

शुक्रबार भोपासको विमान २२८३ ले पाराग्वेको सीमामा रहेको कास्काभेलबाट साउ पाउलो राज्यको ग्वारुलहोससम्म उडान भरेको थियो । तर, विमान बिच बाटोमै दुर्घटनामा पर्‍यो । उक्त विमान त्यो क्षेत्रमा दुर्घटना भयो, जहाँ सो दिन १२ हजारदेखि २१ हजार फिटसम्म ‘अति बरफ जम्ने’ चेतावनी जारी गरिएको थियो । 

फ्लाइटअवेरका अनुसार पाइलटहरूले नियन्त्रण गुमाउँदा उक्त विमान १७ हजार फिटको उचाइमा उडान भरिरहेको थियो । सीएनएनमा प्रकाशित रिपोर्ट अनुसार कम्तीमा दुई जना विज्ञहरूले विमानमा बरफ निर्माण हुँदा दुर्घटना भएको हुनसक्ने बताएका छन् । ‘सबै प्रारम्भिक सङ्केतहरूले विमानमा बरफ जम्ने प्रक्रियालाई सङ्केत गर्दछ,’ विमानको सुरुवाती ट्रयाकिङ तथ्याङ्कलाई अध्ययन गरेका नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डका प्रबन्ध निर्देशक पिटर गोएल्जले भने ।

सामाजिक सञ्जालमा पोस्ट भएका कयौँ भिडियोहरूमा टर्बोप्रप एटीआर ७२ विमान अनियन्त्रित रूपमा घुम्दै जमिनतर्फ सिधा खसेको देखिन्छ । भिन्हेडो नजिकै विमान दुर्घटना हुँदा त्यसमा सवार सबै ६२ जनाको मृत्यु भएको छ । यो सन् २०२४ मा भएको सबैभन्दा ठुलो यात्रुवाहक विमान दुर्घटना थियो ।

उडानका क्रममा बरफ जम्दा विमानको पङ्खामा हावाको बहावलाई प्रभावित गर्ने र यसले विमानको नियन्त्रणमा प्रतिकूल असर पर्ने फेडेरल एभिएसन एडमिनिस्ट्रेसनको दस्ताबेजले बताउँछ । दस्ताबेजअनुसार यसपछि विमान अनियन्त्रित रूपमा घुम्ने र यसको नियन्त्रण पुनः प्राप्त गर्न असम्भव जस्तै हुन्छ ।

‘बरफ जम्नु नै सबैभन्दा प्रमुख कारण देखिन्छ,’ एनटीएसबीका सह–अध्यक्ष ब्रुस ल्यान्ड्सबर्गले पनि भने, ‘अध्ययन अघि बढ्दै जाँदा हामी यकिन रूपमा कारण पत्ता लगाउन सक्छौँ ।’

सन् १९९४, अक्टोबर ३१ मा फ्रेन्च–इटालियन कम्पनीद्वारा निर्मित एटीआर ७२ विमान इन्डियानाको रोजलनमा दुर्घटना भएको थियो । उडानका क्रममा पानी परिरहँदा अमेरिकन इगलको ४१८४ कल साइन भएको विमानमा बरफ निर्माण भएको थियो । सो दुर्घटनामा विमानमा सवार सबै ६८ जनाको मृत्यु भएको थियो ।

दुर्घटनापछि फेडेरल एभिएसन एडमिनिस्ट्रेसनले एटीआर ७२ विमानको पङ्खामा रहेको बरफ पगाल्ने सिस्टमलाई परिष्कृत गर्न र पाइलटलाई बरफ पर्ने मौसममा उडानका लागि थप प्रशिक्षण दिन निर्देशन दिएको थियो ।

भोपासको विमान दुर्घटनापछि उक्त सिस्टमबारे पुनः मूल्याङ्कन गर्न आवश्यक रहेको गोएल्ज बताउँछन् । उनका अनुसार विश्वभर करिब ८ सय एटीआर ७२ विमान सञ्चालनमा रहेका छन् ।

एटीआर ७२ को पङ्खामा जमेको बरफ हटाउन ‘डिआइसिङ बुट्स’ प्रयोग गर्दछ । जेट एयरलाइनर्सले भने यस प्रक्रियाका लागि इन्जिनको ताप प्रयोग गर्दछ । शुक्रबारको दुर्घटनापछि एटीआरले यसको अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप