पिताले जन्म दर्ता गराएकै दिन गाजामा मारिए जुम्ल्याहा शिशु
रफाह । इजरायलले गरेको हवाई आक्रमणमा परेर गाजामा भर्खरै जन्मिएका जुम्ल्याहा शिशुहरूको मृत्यु भएको छ । स्थानीय सरकारमा जन्म दर्ता गरेर पिताले प्रमाणपत्र लिएकै दिनमा ४ दिनका जुम्ल्याहा दाजु–बहिनी एसर र एसेल मारिएका हुन् ।
यो घटना भएको समयमा शिशुका पिता मोहम्मद अबु अल–कुमसान जन्म दर्ता गराउन गएका थिए । उनी घरमा नभएको समयमा छिमेकीहरूले देयर अल बालहमा रहेको घरमा बमबारी भयो भनेर फोन गरे । यस घटनामा जुम्ल्याहा शिशुको साथमा अल–कुमसानको सुत्केरी पत्नी र आमाको पनि निधन भयो ।
‘के भयो भन्ने मलाई थाहा पनि छैन, घरमा बम खसेको बताइयो,’ उनले भने । आफूले जुम्ल्याहा सन्तान जन्मिएको उत्सव मनाउने समय पनि नपाएको उनले बताए । गाजामा हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयका अनुसार गाजा युद्ध शुरु भएयता ११५ जना नवजात शिशुको हत्या भएको छ । समाचार संस्था एपीका अनुसार जुम्ल्याहाका परिवारले इजरायल र गाजा युद्ध सुरु भएको केही हप्तामै इजरायली सेनाको गाजा सहर छाड्ने आदेश पालना गरेर गाजा पट्टीको मध्य हिस्सामा आश्रय खोजिरहेका थिए । यस विषयमा बीबीसीले इजरायली सेनासँग प्रतिक्रिया मागेको भएपनि यो समाचार लेख्दासम्म कुनै प्रतिक्रिया नआएको बताइएको छ ।
आफूले सर्वसाधारणलाई क्षति नपुर्याउन सक्दो कोसिस गरेको तर हमास घना आवासीय क्षेत्रमा परिचालित भएकोले ती मृत्यु भएको सेनाले बताउँदै आएको छ । हमासले गाजाका कयौँ आवासीय, विद्यालय र अस्पताल भवनहरूलाई आफ्नो आश्रय बनाएको भन्दै इजरायलले एक पछि अर्को आक्रमण गरिरहेको छ । शनिबार विस्थापित प्यालेष्टिनीहरूले आश्रय लिइरहेको एक विद्यालय भवनमा गरिएको हवाई हमलामा ७० जना भन्दा धेरैको मृत्यु भएको थियो । सो विद्यालय हमास र इस्लामिक जिहाद सेनाको गढको रूपमा परिचालित रहेको इजरायली सेनाका प्रवत्ताले भनेका छन् । तर हमासले सो आरोप नकारिरहेको छ ।