आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरुवा–बढुवाका लागि मन्त्री र नेताहरूलाई नभेट्नुस् : अर्थमन्त्री पौडेल

बुधबार, ३० साउन २०८१, १२ : ३५
बुधबार, ३० साउन २०८१

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रसेवकहरू सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको बताएका छन् । ललितपुरमा आज आयोजित सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृत स्तरीय सेवा प्रवेश तालिम-२०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले यदाकदा सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने प्रवृत्ति देखिएको भन्दै सबैप्रति समान व्यवहार गर्न आग्रह गरे । 

उनले पोसाकका आधारमा व्यवहार नगरी सेवाग्राहीका समस्याहरू बुझेर यथोचित ढङ्गले सम्बोधन गर्न निर्देशन दिए । उनले आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने बताए । उनले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र सहज ढङ्गबाट सेवा प्राप्त गर्ने अनुकूल परिस्थिति निर्माण गर्ने काममा ध्यान दिन आग्रह गरे । उनले हाकिमको आदेश भन्दा पनि कानुनसँग, राष्ट्रको हित, नागरिकको हितसँग बाझिएका बाहेकमा डराउनुपर्ने स्थिति नरहेको बताए ।  

उपप्रधानमन्त्री पौडेलले सरुवा–बढुवाका लागि मन्त्री र नेताको घर नजान पनि आग्रह गरे । उनले सरुवा–बढुवामा अन्यथा भए मर्यादित ढङ्गले आफ्ना तर्कहरू राख्न आग्रह गरे । उनले सोर्स लगाउने कर्मचारीहरू क्षमताले जतिसुकै सक्षम भए पनि निरीह र कमजोर हुने बताए । 

पौडेलले पछिल्ला दिनहरूमा केही गम्भीर चुनौतीको सामना गरिरहेको बताए । राजश्व परिचालनका दृष्टिकोणले लक्ष्य भेदन गर्न अप्ठ्यारो परिरहेको र बेरुजु बढिरहेकाले लेखा प्रणालीमा दुरुस्त हुन नसकेको बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप