मेस्सीको अनुपस्थितिमा कोलम्बस क्रुसँग हार्यो साविक विजेता इन्टर मियामी
काठमाडौँ । आफ्ना स्टार खेलाडी लियोनल मेस्सी बिना नै मैदानमा ओर्लिएको अमेरिकी क्लब इन्टर मियामी लिग्स कप फुटबल प्रतियोगिताको प्रि–क्वार्टरफाइनल चरणबाटै बाहिरिएको छ । लिग्स कपको अन्तिम १६ टोलीबिचको भिडन्तमा कोलम्बस क्रुले इन्टर मियामीलाई ३–२ गोलले हरायो ।
जितसँगै कोलम्बस क्रु प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । अगस्त १७ तारिखमा खेलिने क्वार्टरफाइनल खेलमा कोलम्बस क्रुले न्यु योर्क सिटी फुटबल क्लबको सामना गर्नेछ । इन्टर मियामी लिग्स कप फुटबलको साविक विजेता हो ।
अघिल्लो सिजनको लिग्स कपको उपाधि मेस्सी, सर्जियो बुस्क्वेट्स, जोर्डी अल्बा र रोबर्ट टेलरसहितको इन्टर मियामीले जितेको थियो । बुधबार विहान सम्पन्न कोलम्बस क्रुविरुद्धको खेलमा अर्जेन्टिनी स्टार मेस्सी उपस्थित थिएनन् । उनी हाल घाइते अवस्थामा छन् ।
कोलम्बस क्रुविरुद्धको खेलमा प्रारम्भमा दुई गोलको अग्रता लिएर पनि इन्टर मियामीले त्यसलाई जोगाउन सकेन । खेल सुरु भएको १० औँ मिनेटमै माटियस रोजसले इन्टर मियामीलाई अग्रता दिलाएका थिए । सोही गोलका कारण पहिलो हाफमा इन्टर मियामी अगाडि रह्यो ।
निर्धारित समयको ६२ औँ मिनेटमा डिएगो गोमेजले इन्टर मियामीको अग्रता दोब्बर बनाएका थिए । त्यसपछि खेलमा उत्कृष्ट पुनरागमन गरेको कोलम्बस क्रुले लगातार तीन गोल फर्काउँदै नतिजा आफ्नो पक्षमा पारेको थियो ।
निर्धारित समयको ६७ औँ मिनेटमा कोलम्बस क्रुका क्रिस्टियन रामिरेजले पहिलो गोल गरेका थिए । त्यसपछि डिएगो रोसीले लगातार दुई गोल थप्दै कोलम्बस क्रुलाई विजयी बनाएका थिए । डिएगो रोसीले निर्धारित समयको ६९औँ र ८०औँ मिनेटमा गोल गरेका थिए ।
इन्टर मियामीका ३७ वर्षीय स्ट्राइकर मेस्सी लामो समयदेखि मैदान बाहिर छन् । कोलम्बस क्रुविरुद्धको खेलअघि मंगलबार इन्टर मियामीका प्रशिक्षक गेरार्डो ‘टाटा’ मार्टिनोले मेस्सी कहिले खेलमा फर्कन्छन् भन्ने विषयमा अनभिज्ञँता जाहेर गरेका थिए ।
मेस्सी गत महिना सम्पन्न कोपा–अमेरिकाका क्रममा घाइते भएका थिए । कोपा–अमेरिकाको पछिल्लो संस्करणमा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १–० गोलले हराएको थियो । कीर्तिमानी रुपमा आठपटकका बालोन डी’ओर विजेता मेस्सी सोही प्रतियोगिताका क्रममा घाइते भएका थिए ।
त्यसपछि उनी इन्टर मियामीमा फर्किएका छैनन् । ‘लियोको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको जानकारी हामीले पाएका छौँ । तर, उनी कहिले खेलमा फर्कन्छन् भन्ने कुराको टुंगो लागिसकेको छैन । उनको अनुपस्थितिले हामीलाई पनि अप्ठ्यारो परिरहेको छ । हामी पनि उनी छिट्टै खेलमा फर्किउन भन्ने चाहन्छौँ,’ प्रशिक्षक मार्टिनोले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित