बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

ज्वरोलाई हेलचक्य्राइँ गरे बन्न सक्छ सङ्क्रामक रोगको ‘ककटेल’

बुधबार, ३० साउन २०८१, ०७ : ५५
बुधबार, ३० साउन २०८१

काठमाडौँ । सिन्धुलीकी अस्मिता चौलागाईंलाई साउन १८ गते साँझ एक्कासी ज्वरो आयो । पहिला पनि ज्वरो आइसकेकाले सामान्य ज्वरो होला भनेर उनले सुरुमा वास्तै गरिनन् । अर्को दिन (साउन १९) ज्वरो झनै बढ्यो । शनिबार परेकाले त्यो दिन उनी अस्पताल गइनन् ।

साउन २० गते आइतबारसम्म अस्मितालाई ज्वरोसँगै बान्ता आउन थाल्यो । उनी सिकिस्त बिरामी भइन् । सिन्धुली जिल्ला अस्पतालमा भर्ना भएकी उनको रगत परीक्षण गर्दा कालाजार देखियो ।

जिल्ला अस्पतालमा सुविधा नरहेको भन्दै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल रिफर गरिएको अस्मिताका आफन्तको भनाइ छ । साउन २२ गते टेकु अस्पतालमा भर्ना भएकी अस्मिताको थप परीक्षण गर्दा डेंगु र स्क्रब टाइफस देखापर्यो । उनी करिब एक साता अस्तालत भर्ना भइ उपचार गरेर साउन २९ गते डिस्चार्ज भइन् । एक सातामा उनलाई पुनः परीक्षणका लागि आउन चिकित्सकले सुझाएका छन् ।

अस्मिताले जस्तै ज्वरोलाई सामान्य ठान्दा पछि विभिन्न सङ्क्रमण देखिन सक्ने चिकित्सक बताउँछन् । बर्खायाममा देखापर्ने ज्वरोलाई सामान्य रूपमा नलिन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल चालिसे सुझाउँछन् ।

‘हामीकोमा स्क्रब सार्ने कीटाणु पनि छ, डेंगु सार्ने लामखुट्टे पनि छ, डेंगुको भाइरस पनि छ,’ उनले भने, ‘जो रिक्स समूहमा छन्, उनीहरूलाई एकैपटक दुई वटा इन्फेक्सन नहोला भन्न सकिन्न, दुई वटा इन्फेक्सन हुँदा मान्छे सिरियस हुने सम्भावना बढी हुन्छ । दुई वटा इन्फेक्सनले एकैपटक आक्रमण गर्दा बिरामी सिरियस हुन सक्छ ।’

dr. bimal chaliseरोग पहिचान समयमै गर्नुपर्ने डा. चालिसे बताउँछन् । ज्वरो, बान्ता, झाडापखाला लगायत लक्षण देखा परेमा परीक्षण गराउनु पर्ने उनको भनाइ छ ।

एकै पटक दुई–तीन थरी रोगको सङ्क्रमण केहीलाई मात्रै हुन्छ र तर मिश्रित सङ्क्रमण देखिएमा जटिलता बढी हुने भएकाले समयमा रोग पहिचान गरी उपचार गराउन डा. चालिसेको सुझाव छ । ‘मिश्रित सङ्क्रमण केहीलाई मात्रै देखा पर्छ । समयमा उपचार गरेमा निको हुन्छ । अत्तिहाल्नु पर्ने हुँदैन । सजगता अपनाउनु पर्छ,’ उनले भने, ‘दुई वटा इन्फेक्सन एकै व्यक्तिलाई हुन सक्छ भनेर स्वास्थ्यकर्मीले पनि बुझ्नु पर्छ । समयमा पहिचान हुन सकेन भने जटिलता निम्तिन्छ ।’

कलिलो उमेरका, वृद्धवृद्धा, दीर्घरोगका बिरामी, नियमित औषधि सेवन गर्ने (सुगरका बिरामी, मिर्गौलाका बिरामी लगायत) बिरामी, गर्भवती लगायत सङ्क्रमण रोगको जोखिममा पर्छन् । यस्ता व्यक्तिले बढी सजगता अपनाउनुपर्ने डा. चालिसे बताउँछन् ।

सङ्क्रामक रोग देखा पर्नुमा सरुवा रोगको ‘कक्टेल प्रकोप’ रहेको सङ्क्रामक रोग विशेषज्ञ डा.शेर बहादुर पुनको तर्क छ । ‘सरुवा रोगको कक्टेलको रूपमा प्रकोप देख्छु,’ उनले भने, ‘डेंगु र हैजामात्र होइन, विभिन्न सङ्क्रामक रोग छन् । पानीबाट पनि फैलिएको छ, कीटजन्य पनि फैलिएको छ ।’

उनले पछिल्लो पटक टेकु अस्पताल बढी मात्रामा सर्पदंशका बिरामी दैनिक १० देखि १५ जना आउने गरेको बताए । यसका साथै हैजा, हैजाविनाका झाडापखाला, स्क्रब टाइफस, टाइफाइड, हेपाटाइसिसका बिरामी उपचारका लागि आउने गरेको उनले जानकारी दिए । सरकारी तथ्याङ्कले पछिल्लो समय डेंगु र हैजा सङ्क्रमण बढ्दो देखाउँछ ।

सङ्क्रामक रोग देखा पर्नुमा सरुवा रोगको ‘कक्टेल प्रकोप’ रहेको सङ्क्रामक रोग विशेषज्ञ डा.शेर बहादुर पुनको तर्क छ । ‘सरुवा रोगको कक्टेलको रूपमा प्रकोप देख्छु,’ उनले भने, ‘डेंगु र हैजामात्र होइन, विभिन्न सङ्क्रामक रोग छन् । पानीबाट पनि फैलिएको छ, कीटजन्य पनि फैलिएको छ ।’

विभिन्न सङ्क्रमण तर तथ्याङ्क हैजा र डेंगुकोमात्रै

नेपालमा पछिल्लो समय विभिन्न सङ्क्रामक रोग एकै पटक देखिन थालेका छन् । डेंगु, हैजा, कोरोना, स्क्रबटाइफस, टाइफाइट लगायत विभिन्न सङ्क्रामक रोग देखिएका हुन् । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले  डेंगु र हैजा सङ्क्रमितको विवरण सार्वजनिक गर्दै आएको छ । तर यी बाहेक कोरोना, स्क्रबटाइफस, टाइफाइट लगायत विभिन्न सङ्क्रामक रोग विवरण सार्वजनिक गर्दैन । अस्पतालमा यस्ता रोगका बिरामी भने फेला पर्छन् ।

भाइरल ज्वरो लगायत विभिन्न रोगका सङ्क्रमित अस्पताल पुग्ने गरेको सङ्क्रामक रोग विशेषज्ञ डा. पुनको भनाइ छ । ईडीसीडीका अनुसार डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई जना पुगेको छ । ३ हजार ३३९ जना सङ्क्रमितमध्ये २ जनाको मृत्यु भएको हो ।

मृत्यु भएका डेंगु सङ्क्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले उल्लेख गरेको छ । देशभर ७७ मध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । तनहुँका ६५६ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यो जिल्लामा मात्रै पाँच सयभन्दा बढी डेंगु सङ्क्रमित छन् ।

साउन २५ गते ३ हजार ८४ जनामा डेंगु देखिएको थियोे । ईडीसीडीले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार तीन दिनको फरकमा २५५ जना थप सङ्क्रमित पुष्टि भएको छ । सो तथ्याङ्क अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी ५८२ जना सङ्क्रमित छन् । यस्तै, सबैभन्दा कम डेंगु प्रभावित कर्णाली प्रदेश देखिएको छ । यहाँ ४७ जनामात्रै डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।

यस्तै, देशभरका ५० जनामा हैजा सङ्क्रमण भएको छ । ललितपुर ३८ जनामा हैजा देखिएको हो । यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । 

कसरी जोगिने ?

बर्खायाममा खानेपानी, किर्नाको टोकाइबाट रोग सङ्क्रमण हुने उच्च सम्भावना हुन्छ । यस्ता रोगबाट जोगिन व्यक्तिगत सरसफाइ र सजगता अपनाउनुपर्ने विज्ञ बताउँछन् ।

यो मौसममा खानेपानीको शुद्धतामा विशेष ध्यान दिन, व्यक्तिगत सरसफाइमा ध्यान दिन डा. चालिसेको आग्रह छ । उनले उमालेको वा निर्मलीकरण गरेको पानीमात्रै पिउने, साबुन–पानीले हात पटक–पटक धुने, खाना खानुभन्दा पहिला अनिवार्य हात धुन सल्लाह दिए ।

बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले हैजा, झाडापखाला, ज्वरो, फुडपोइजन लगायत पानीजन्य समस्या देखिन सक्छ ।

त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा विशेष ध्यान दिन, व्यक्तिगत सरसफाइमा ध्यान दिन डा. चालिसेको आग्रह छ । उनले उमालेको वा निर्मलीकरण गरेको पानीमात्रै पिउने, साबुन–पानीले हात पटक–पटक धुने, खाना खानुभन्दा पहिला अनिवार्य हात धुन सल्लाह दिए ।

यस्तै, डेंगु, स्क्रब टाइफस लगायत विभिन्न रोग कीटजन्य रोगबाट जोगिन किराको टोकाइबाट जोगिनु उपयुक्त उपाय हो । घरको वरिपरि पानी जम्न नदिने, पूरै शरीर ढाक्ने कपडा लगाउने, घरमा बस्दा अनिवार्य झुलभित्र बस्ने, लामखुट्टे भगाउने क्रिम प्रयोग गर्ने, झ्यालढोका बन्द राख्ने, आफ्नो वरिपरिको वातावरण सरसफाइ गर्न डा. पुन सुझाउँछन् । लामखुट्टेको लार्भा खोजेर मार्न पुनको सुझाव छ ।

यस्तै, झाडी वा बारीमा जथाभावी नबस्ने, नाङ्गो खुट्टाले नटेक्ने, खेतबारी जाँदा पञ्जा प्रयोग गर्ने, सर्पको प्रकोपजन्य क्षेत्रमा बासोबास गर्नेले वैशाखदेखि असोजसम्म सर्पबाट सचेत रहने, राति सुत्नु अगाडि ओछ्यान टकटक्याउने, भुइँमा नसुत्ने, राति बाहिर जाँदा बत्ती बालेर जाँदा सर्पको टोकाइबाट जोगिन सक्ने चिकित्सक बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप