हरिबोलले देखाए प्रचण्डको कमजोरी, भेट नदिएकोमा प्रसाईंले झारे झाँको
काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा नेताहरूले नेतृत्वमाथि आक्रोश पोखेका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार पाँचौँ दिनको बैठकमा उपमहासचिव हरिबोल गजुरेलले संविधान निर्माणताका अध्यक्ष प्रचण्डको छवि राम्रो भए पनि त्यसयता लगातार बिग्रिँदै गएको बताएको एक नेताले रातोपाटीलाई जानकारी दिए ।
‘संविधान बन्दासम्म माओवादीको क्रेज राम्रो थियो । थोरै सिट ल्याए पनि मधेसी दललाई समेत सहमति गराएर संविधान जारी गराउँदा प्रचण्डको इमेज पनि राम्रो थियो तर बिस्तारै खस्किँदै गएकोतर्फ उहाँले सचेत गराउनुभयो’, ती सदस्यले भने ।
समाजवादको कुरा गर्दा सहरी क्षेत्र रहेको पूर्वमा नेतृत्वले ध्यान दिन नसक्दा पार्टी कमजोर भएको निष्कर्ष निकाल्दै गजुरेलले भनेका थिए, ‘क्रान्तिलाई पश्चिमबाट पूर्वमा सिफ्ट गर्नुपर्थ्यो । गाउँबाट सहरमा सार्नुपर्थ्यो । पार्टीले गाउँ क्षेत्रलाई नै प्राथमिकता दियो ।’
गजुरेलले पुँजीवाद भएको ठाउँमा धेरै श्रमिक हुनाले त्यस्तो ठाउँ नै समाजवादको आधार हुने बताए । संविधान बनेपछि त्यता ध्यान दिनुपर्नेमा नेतृत्व चुकेको उनको भनाइ थियो । ‘पूर्वी क्षेत्र, सहरी क्षेत्रमा संगठन बलियो बनाउनुपर्थ्यो । यसमा ध्यान नपुग्दा पूर्वमा हामी चौथो पार्टी भयौँ,’ बैठकमा उनले भने, ‘काठमाडौँ उपत्यका प्रायः शून्य नै भयौँ । कार्यदिशा समाजवाद भन्ने, काम कारबाही जनयुद्धकालीन भयो ।’
उनले एमालेसँग गठबन्धन गर्नु ठिक भए पनि वैचारिक रूपमा पर्याप्त तयारी नगरी हतारोमा एकता गर्दा पार्टीलाई ठुलो क्षति भएको बताएका थिए ।
बैठकमा ज्येष्ठ कम्युनिस्ट मञ्चका अध्यक्ष नन्दप्रसाद प्रसाईँले आफूलाई भेट नदिएकोमा अध्यक्ष प्रचण्डको झाँको झारेको अर्का एक सदस्यले बताए । उनले विधान अधिवेशनले पास गरेकोभन्दा फरक विधान आएकोमा पुनर्लेखन हुनुपर्ने माग राखेका थिए । प्रचण्डसँग आफूमात्र नभई पार्टीका ८० प्रतिशत नेता तथा कार्यकर्ता रूष्ट भएको प्रसाईंको भनाइ थियो ।
‘नन्द प्रसाईँ कमरेडले अलि भावनात्मक कुरा राख्नुभयो । उहाँले अनुभव र उमेरको हिसाबले पनि अभिभावकका रूपमा आफ्ना मत राख्नुभएको हो,’ ती नेताले भने, ‘आफूलाई भेट नदिएकोमा अध्यक्षको झाँको झार्नुभयो । म पनि पुरानो र अनुभवी नेता हुँ । मसँग भेट गर्न चाहनुहुन्न भने आम कार्यकर्ताको अवस्था के होला ? नेतृत्व फुर्किने होइन, अहिले नै तपाईंको विकल्प खोजेका छैनौँ । आफ्ना कमी कमजोरीलाई सच्याएर जानोस् ।’
स्थायी समिति सदस्य खगराज भट्टले आफूलाई दलको नेता बनाउन अध्यक्षले दिएको निर्देशन कार्यान्वयन हुँदैन भने पार्टी कसरी बन्छ भनेर प्रश्न उठाएका थिए । पार्टीमा विधि र पद्धति मिचेर जाने हो भने माओवादी आन्दोलन नै समाप्त हुने उनले चेतावनी दिएका थिए ।
यता लेखा आयोगका अध्यक्ष पेशलकुमार खतिवडाले विधान अधिवेशनले पास गरेको विधान फरक ढंगले लेखिएर आएकोमा असन्तुष्टि जनाएको अर्का एक सदस्यले बताए । आठौँ महाधिवेशनमा प्रचण्डले पार्टी सच्चिने कि अवसान हुने भनेको प्रसङ्ग कोट्याउँदै उनले दुई वर्षपछि आउँदा समेत पार्टीमा कुनै परिवर्तन नआएकोमा प्रश्न उठाएका थिए ।
‘आठौँ महाधिवेशनमा जहाँ तपाईंले कि त पार्टी रुपान्तरण हुनुप¥यो, कि त अवसान रोज्नु प¥यो भन्नुभएको थियो । तर दुई वर्षपछि आउँदा पनि तपाईंमा कुनै परिवर्तन देखिएन, के फरक भयो ? अब पनि नसच्चिने भए अवसानमा जाने हो त ?’, खतिवडाको भनाइ उद्धृत गर्दै ती नेताले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसले उत्तर कोरियालाई दियो १० लाख ब्यारेल तेल
-
सम्बन्ध विच्छेद पछिको पहिलो पोष्ट, के कारण खुसी छन् एआर रहमान ?
-
काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति
-
डा. बाबुराम भट्टराईको ‘समृद्ध समाजवाद’ अवधारणा : सम्भावना र सीमाहरू
-
सरकारले मधेसको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको विकासमा ध्यान नदिएको प्रभु साहको आरोप
-
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ : अर्थमन्त्री पौडेल