बिहीबार, १५ कात्तिक २०८१
ताजा लोकप्रिय

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षमा १९६ जनामा मिर्गौला र १५ जनामा कलेजो प्रत्यारोपण

मङ्गलबार, २९ साउन २०८१, १७ : ५३
मङ्गलबार, २९ साउन २०८१

काठमाडौँ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षको अवधिमा १९६ जनामा मिर्गौला र १५ जनामा कलेजो प्रत्यारोपण भएको जानकारी दिएको छ । 

विश्व अंगदान दिवसका अवसरमा मङ्गलवार आयोजित कार्यक्रममा केन्द्रले यसबारे जानकारी गराएको हो । 

केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठका अनुसार उक्त सङ्ख्यामा २ जना सुर्खेतमा प्रत्यारोपण गरेको पनि सामेल छ । 

स्थापनाको १२ वर्ष अवधिमा केन्द्रमा १२९२ जनाको मिर्गौला र २७ जनाको कलेजो प्रत्यारोपण भई सकेको पनि उनले बताए । 

श्रेष्ठले अंगदान र प्रत्यारोपणमा केन्द्रले अग्रणी भूमिका खेलेको औँल्याउँदै देशभरि विभिन्न अंगदानको प्रवर्द्धन सम्बन्धी कार्यक्रम गर्ने गरेको बताए ।  आफ्नो भवन र उपयुक्त जमिन नहुँदा केन्द्रमा आउने सेवाग्राहीहरूलाई नियमित सेवा दिन कठिन भइरहेको उनले जानकारी दिए । 

अंग प्रत्यारोपण जस्तो जटिल, महँगो र संवेदनशील सेवा नेपाल सरकारको केन्द्रबाट उपलब्ध हुँदै गएको कार्यको उच्च मूल्याङ्कन गर्दै कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले यथाशक्य छिटो सूर्यविनायक स्थित भक्तपुर इट्टाटायल कारखानाको जग्गा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नाममा उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने आश्वासन दिए । 

भक्तपुर जिल्लाका संघीय सांसद दुर्लभ कुमार थापाले विश्वस्तरको सेवा दिई रहेको यस केन्द्रको स्थान अभाव भएको हुँदा तत्काल विस्तारको लागि सरकार सँग जोडदार माग गरे । 

उक्त कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले मृत्यु पर्यन्त अंगदानको घोषणा गरे । 

यस्तै कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा हुनु गौरवको कुरा भएको बताए । 

गत आर्थिक वर्षमा मात्र केन्द्रको नेतृत्वमा राष्ट्रिय प्रत्यारोपण सम्मेलन, १३ वटा अस्पतालमा अन्तर्क्रिया कार्यक्रम,  २० वटा अस्पतालका ट्रान्सप्लान्ट कोर्डिनेटरहरुको लागि  प्रथम राष्ट्रिय स्तरको तालिम, देशका विभिन्न भागमा निःशुल्क स्वास्थ्य शिविर तथा अंगदान शिविर आयोजना गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप