बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

महिला वकिलसँग डेट गर्नुपर्ने कारणहरू

मङ्गलबार, २९ साउन २०८१, १६ : ३६
मङ्गलबार, २९ साउन २०८१

नेपालका साथै सम्पूर्ण विश्वमा आकर्षक पेसा हो, कानुन व्यवसाय । पछिल्लो समय हामीकहाँ पनि कानुन व्यवसायमा युवाको आकर्षण बढेको देखिन्छ ।

वकिलहरूले आफ्नो विषयप्रति गहन अध्ययन गर्नुपर्ने हुन्छ । पेसाका सम्बन्धमा विभिन्न किसिमका मानिसलाई भेटघाट गर्नुपर्ने हुन्छ, उनीहरूका समस्या र मनोवृत्ति बुझ्नुपर्छ । यसरी समाजलाई बुझेर आफ्नो बौद्धिक स्तर बढाउने अवसर वकिलहरूलाई हुन्छ । 

यहाँ म महिला वकिलहरूसँग डेट गर्दा वा सम्बन्धमा रहँदा (प्रेम सम्बन्ध, साथीका रूपमा वा जीवन साथीका रूपमा रहँदा)को परिस्थितिलाई केलाउने कोसिस गर्दै छु । 

महिला वकिलहरूसँग प्रायः गहन शैक्षिक पृष्ठभूमि हुन्छ । पेसाको प्रकृतिका कारण उनीहरू जीवनभर सिकाइमा संलग्न रहन्छन् । उनीहरूलाई आलोचनात्मक रूपमा सोच्न, जानकारीको विश्लेषण गर्न र चलाखीपूर्वक तर्क गर्न प्रशिक्षित गरिन्छ । त्यसैले महिला वकिलहरूसँग कुराकानी गर्दा वर्तमान समाजका घटना, मानिसले गर्ने अपराधहरू, मानवीय स्वभाव र मनोवृत्ति, राष्ट्रिय वा अन्तर्राष्ट्रिय कानुनी अभ्यास लगायत कुरा आउँछन् । बौद्धिक छलफल गर्न चाहने पुरुषका लागि महिला वकिलसँगको सम्बन्ध प्रभावकारी हुन सक्छ ।

आफ्नो पेसाका लागि पनि महिला वकिलले आत्मविश्वास बलियो बनाउनुपर्ने हुन्छ । डेटिङ जाँदा वा कसैसँग सम्बन्धमा रहँदा पनि उनीहरू आत्मविश्वासपूर्वक प्रस्तुत हुन्छन् । बलियो आत्मविश्वासले सम्बन्धलाई बलियो बनाउन भूमिका खेल्छ । आखिर सबैले आफ्नो पार्टनर आत्मविश्वासले पूर्ण होस् भन्ने नै चाहन्छन् ।  

महिला वकिललाई समस्याहरू पहिचान गर्न, प्रमाणहरूको मूल्याङ्कन गर्न र उत्तम नतिजा हासिल गर्ने रणनीतिहरू विकास गर्न प्रशिक्षित गरिन्छ । समस्या समाधान गर्ने क्षमताले कानुनी मामिलामा मात्रै होइन, व्यक्तिगत सम्बन्धहरूमा पनि प्रभावकारी भूमिका खेल्न सक्छ । सम्भावित द्वन्द्व वा चुनौतीहरूमा महिला वकिलहरूले तर्कसंगत र रचनात्मक समाधान खोज्न सक्छन् ।

महिला वकिलहरूले व्यक्तिगत स्वतन्त्रतालाई महत्त्व दिने हुँदा अरु व्यक्तिको स्वतन्त्रतालाई सम्मान गर्छन् । उनीहरूले आफ्नो साथी, प्रेमी वा जीवनसाथीको स्वतन्त्रतालाई पनि महत्त्व दिन्छन्, जसले सम्बन्धलाई मजबुत बनाउन भूमिका खेल्छ ।

महिला वकिलहरूले व्यक्तिगत स्वतन्त्रतालाई महत्त्व दिने हुँदा अरु व्यक्तिको स्वतन्त्रतालाई सम्मान गर्छन् । उनीहरूले आफ्नो साथी, प्रेमी वा जीवनसाथीको स्वतन्त्रतालाई पनि महत्त्व दिन्छन्, जसले सम्बन्धलाई मजबुत बनाउन भूमिका खेल्छ । एकले अर्काको स्वतन्त्रता र चाहनालाई बुझेर अगाडि बढ्ने हो भने सम्बन्ध दिगो बन्न सक्छ ।

आफ्नो कामप्रति महिला वकिलहरूको विशेष लगाव हुन्छ । त्यसैले उनीहरूले आफ्नो साथी वा जीवनसाथीले पनि काममा लगाव राखोस भन्ने चाहन्छन् । यद्यपि पेसा र सम्बन्धलाई हाराहारी अगाडि बढाउन पनि उनीहरू सजग हुन्छन् ।

महिला वकिलहरू न्याय, निष्पक्षता र समाजमा सकारात्मक प्रभाव पार्ने सिद्धान्तद्वारा सञ्चालित हुन्छन् । उनीहरूले राख्ने सम्बन्धमा पनि यी सिद्धान्तले कहीँ न कहीँ भूमिका खेलेका हुन्छन् । उनीहरू अर्थपूर्ण सम्बन्ध निर्माण गर्न र आफ्नो पार्टनरको भविष्यलाई समर्थन गर्न प्रतिबद्ध रहन्छन्, जसले सम्बन्धलाई थप मजबुत बनाउँछ । 

अरुको कुरा ध्यान दिएर नसुन्दा र आफ्ना कुरा प्रभावकारी ढंगले राख्न नसक्दा पनि मानिसहरूबिच सम्बन्ध बिग्रने सम्भावना रहन्छ । कानुन व्यवसायको एक आधार हो, प्रभावकारी सञ्चार । महिला वकिलहरू आफ्ना विचारहरू स्पष्ट र प्रेरक रूपमा व्यक्त गर्नुका साथै अरूलाई ध्यान दिएर सुन्नमा उत्कृष्ट हुन्छन् । आफ्नो पेसाले पनि उनीहरूलाई यस्तै बनाएको हुन्छ । आफ्ना कुरा स्पष्ट राख्दा र अरुका कुरा ध्यान दिएर सुन्दा पनि कुनै समस्याको समाधान निस्कने बाटो खुल्छ । महिला वकिलहरूले आफ्नो साथी वा जीवनसाथीलाई बोल्न र सुन्न प्रेरित गरिरहेका हुन्छन् । खुला संवाद र आपसी समझदारीले सम्बन्ध बलियो बन्ने हो । 

प्रायः महिला वकिलहरूले सामाजिक असमानताहरूप्रति ध्यान दिएका हुन्छन् । सामाजिक असमानताहरूले नै सामाजिक अन्याय जन्माउँछ । सामाजिक न्याय, समाजको उन्नति र समृद्धिका लागि हो, कानुन व्यवसाय । त्यसैले अधिकांश महिला वकिलहरूले सामाजिक असमानतालाई केलाउने प्रयास गरेका हुन्छन् । यसो हुँदा उनीहरूलाई समाजमा अन्यायमा परेका मानिसहरूको भावना बुझ्न मद्दत पुगिरहेको हुन्छ । अरुको मर्का बुझ्ने भावनाका कारण नै महिला वकिलहरूसँगको सम्बन्ध सुन्दर हुन सक्छ । आफ्नो साथीले नै जानी–नजानी मर्का पार्न खोज्छ भने महिला वकिलहरू उसलाई सम्झाउन पनि सक्षम हुन्छन् । 

महिला वकिलहरूले आर्थिक स्वतन्त्रता वा आत्मनिर्भरतालाई प्राथमिकता दिन्छन् । यसैले उनीहरूले आफ्नो साथी वा जीवनसाथीलाई आर्थिक रूपमा मजबुत प्रेरित गरिरहेका हुन्छन् । 

महिला वकिलहरू पेसा अनुसार दण्ड–सजायसम्म पुग्नुपर्ने हुन्छ तर सम्बन्धको मामिलामा उनीहरू सम्झौता र समझदारीलाई उच्च महत्त्व दिन्छन् । सम्बन्धलाई बलियो बनाउन लचिलोपन पनि देखाउँछन् । 

महिला वकिलका यी स्वभाव वा गुण तपाईंलाई मन पर्छन् त ?  

(लेखक आचार्य रेसुङ्गा ल फर्म नोटरी पब्लिक, बुटवलमा अधिवक्ता छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरक्षा आचार्य
सुरक्षा आचार्य
लेखकबाट थप