बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सातै प्रदेशमा मानव अंग प्रत्यारोपण उपकेन्द्र बनाइने

मङ्गलबार, २९ साउन २०८१, १४ : ५८
मङ्गलबार, २९ साउन २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उपकेन्द्र खोलिने घोषणा गरेका छन् । विश्व अंगदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान गर्नेहरूलाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि यो विषय समेटिएको बताए । 

‘मानव अंगदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रूपमा उप–केन्द्र सञ्चालन हुनेछन्,’ मन्त्री पौडेलले भने, ‘तत्काल कोशी प्रदेशबाट यो काम थालिने छ ।’

मन्त्री पौडेलले कोशीमा छिट्टै उपकेन्द्र खुल्ने जानकारी दिँदै अरू प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढिरहेको बताए । केन्द्रले देशभर सेवा प्रदान गर्न नसक्ने भएकाले देशभर नै सेवा बिस्तार गर्ने बताए । ‘यस(केन्द्र)ले मात्र देशैभर सेवा दिन सक्दैन,’ उनले भने, ‘त्यसैले भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अंग प्रत्यारोपण उप–केन्द्र खोल्ने तयारी गरेका छौँ ।’

सीमित जनशक्ति, पूर्वाधार र श्रोतका कारण चाहे जस्तो सेवा दिन नसकिएको उल्लेख गर्दै मन्त्री पौडेलले हाल भएका जनशक्ति र श्रोतलाई सक्रिय बनाएर जनतालाई बढी लाभ दिने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

भक्तपुरस्थित केन्द्र साँघुरो भएकाले समस्या परेको गुनासो आएको भन्दै मन्त्री पौडेलले सूर्यविनायकमा स्थानान्तरणका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बताए ।  ‘मैले यो कुरा स्टन्ट गर्न भनेको होइन,’ मन्त्री पौडेलले भने, ‘यो आवश्यकता हो । पूर्वाधार, जनशक्ति र उपकरणको पक्षबाट व्यवस्थित गर्छौं ।’

मन्त्री पौडेलले अस्पताललाई उपकरण तथा जनशक्ति थप्ने विषयमा आवश्यक पहल गर्न प्रतिबद्ध रहेको पनि बताए ।

मन्त्री पौडेलद्वारा अंगदान घोषणा

मन्त्री पौडेलले मानव अंगदान जीवनदान भएको भन्दै यसलाई प्रोत्साहित गरिनु जरुरी रहेको उल्लेख गरे । कार्यक्रममा अंगदातालाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले पनि अंगदान गर्ने घोषणा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप