भारतीय विदेश सचिव मिस्रीको परिचयात्मक भ्रमणमा राजनीतिक तामझाम
काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमण सकेर सोमबार स्वदेश फर्केका छन् । जुलाईमा विदेश सचिव नियुक्त भएका उनी भुटानको भ्रमण सकेर नेपाल आएका थिए ।
भारतको राष्ट्रिय सुरक्षा परिषद्को उपप्रमुखबाट सचिवमा नियुक्त भएका मिश्रीले छिमेकी देशहरूमा परिचयात्मक भ्रमण गरिरहेका छन् । यद्यपि उनको नेपाल भ्रमण परिचयात्मकमा मात्र सीमित रहेन ।
प्रधानमन्त्रीदेखि सत्ता पक्षका नेता, विपक्षी नेता लगायत विभिन्न मन्त्रीसँग भारतीय विदेश सचिव मिश्रीले भेट गरे । हरेक भेटमा नेपाल–भारतबिच भएको सन्धि सम्झौताको बारेमा चर्चा हुनका साथै अगामी रणनीतिक विषयमा पनि कुराकानी भएको बैठकमा सहभागीहरू बताउँछन् ।
विदेश सचिव मिस्रीको यो भ्रमणपछि छिटै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भनिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको निमन्त्रणा सन्देश पनि मिस्रीले प्रधानमन्त्री ओलीलाई दिएका छन् ।
प्रधानमन्त्री ओलीलाई दिल्लीमा स्वागत गर्न भारत आतुर छ । भनिन्छ– ओलीलाई भारत भ्रमणको निमन्त्रणा दिनका लागि नै सचिव मिश्री नेपाल आएका थिए ।
भारतसँग ओलीको सम्बन्ध राम्रो बन्न सकेको छैन । ओलीले चाल्ने कदमलाई भारतले सकारात्मक रूपमा लिने गरेको छैन । तर अहिलेको गठबन्धन हेर्दा भारतले प्रधानमन्त्री ओलीसँग सम्बन्ध बनाउन चाहेको छ र त्यसका लागि छिटै नै भारत भ्रमणमा बोलाउन लागेको स्रोतहरूले दाबी गरेका छन् ।
भारतीय विदेश सचिवले नेपालमा ठुलादेखि साना सबै दलका शीर्ष नेतालाई भेटेर आफ्नो भ्रमणलाई राजनीतिक रङ दिएको विश्लेषण पनि भइरहेको छ ।
परिचयात्मक भ्रमण
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले भारतीय विदेश सचिव मिस्रीको भ्रमण परिचयात्मक रहेको बताए । विदेश सचिव नियुक्त भएपछि छिमेकी राष्ट्रहरूको भ्रमण गरेर परिचय आदानप्रदान गर्ने भारतको चलन रहेको भन्दै राईले सोही अन्तर्गत मिश्रीले नेपाल भ्रमण गरेको बताए ।
भ्रमणमा आउँदा भेटघाटको क्रममा सबै विषयमा कुराकानी हुनु स्वाभाविक रहे पनि भारतीय विदेश सचिवको भ्रमणका क्रममा कुनै सन्धि सम्झौता नभएको उनले प्रस्ट पारे । भारतीय सहयोगबाट सञ्चालित विभिन्न परियोजना, दुई देशका बिचमा रहेका विभिन्न संयन्त्रलाई सुचारु गरेर कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको उनको भनाइ छ ।
राईले भने, ‘यो राजनीतिक भ्रमण बिल्कुल होइन, यो विदेश सचिवको परिचयात्मक भ्रमणमात्र हो ।’
परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा भारतीय विदेश सचिव मिश्री नेपाल भ्रमणमा आएका थिए । उनले भ्रमणका क्रममा राष्ट्रपतिदेखि लिएर प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, विभिन्न दलका शीर्ष नेतासँग भेट गरे ।
हवाई रुट माग
भेटघाटको क्रममा दुई देशको सीमा विवाद, हवाई रुट, महाकाली सन्धिलगायतका विषयमा छलफल भयो । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाललाई थप हवाई रुट उपलब्ध गराउन सचिव मिस्रीमार्फत भारत सरकारलाई आग्रह गरिन् ।
उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले महाकाली नदीमा पुल निर्माणका लागि भारतले सहज बनाइदिन आग्रह गरेका थिए ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग नेपालमा सञ्चालित विभिन्न आयोजनाको बारेमा विदेश सचिव मिस्रीले चासो राख्दै कार्यान्वयन लगायतको विषयमा जानकारी लिएका थिए । सो अवसरमा अर्थमन्त्री पौडेलले नेपाल–भारतबिच रहेको सहकार्यलाई अझै तीव्रता दिउँ भनेका थिए ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘भारतीय विदेश सचिव मिस्री नेपाल टेक्ने बित्तिकै उहाँको मुख्य चासो भनेकै नेपालमा चीनले आफ्नो खुट्टा जमायो भन्नेमा चिन्तित रहेको पाइयो ।’
चीनबारे चिन्ता
नेताहरूसँगको भेटमा खुलेर चीनको बारेमा कुरा नगरे पनि विकास आयोजनाको विषयमा कुरा गर्दा हरेक ठाउँमा त्यस्तै सङ्केत गरेको देखिएको परराष्ट्र मन्त्रालयका ती अधिकारीको भनाइ छ । उनले भने, विदेश सचिव मिस्रीको यो भ्रमणलाई हल्का रूपमा लिनु हुन्न । यसको प्रभाव अबको केही दिनमा देखिने छ ।’
नेपालमा सरकार परिवर्तन हुने बित्तिकै भएको भ्रमणले राजनीतिक सङ्केत गरेको बताउँदै ती अधिकारीले भने, ‘भारतीय विदेश सचिवको भ्रमणलाई नेपालले पनि निकै महत्त्व दिएको देखियो ।’
यो भारतको मात्र होइन, चीनका कुनै अधिकारीको भ्रमण हुँदा पनि यस्तै राजनीतिक गतिविधि हुने गरेको छ । चीनबाट पनि भ्रमण आउँदा यस्तै सबैजसो नेतासँग भेटघाट हुने गरेको छ ।
नेपालले कति स्पेस दिने ?
परराष्ट्र विज्ञ दिनेश भट्टराईले भारतमा विदेश सचिवको जिम्मेवारी सम्हाले लगत्तै उसले विदेशलाई बुझ्न, छिमेकलाई बुझ्न यस्ता भ्रमण गर्ने गरेको बताए । उनले भने, ‘हाम्रो नेपालमा सबै जानेका छन्, बुझेका छन् । कहीँ जाँदैनन्, तर भारतका विदेश सचिवहरू छिमेकी देशहरूको भ्रमण गरेका हुन्छन् र धेरैभन्दा धेरै कुरा बुझ्न कोसिस गरेका हुन्छन् ।’
भ्रमण गरेर जति बढी भेटघाट गर्न सक्यो त्यति नै कुरा बुझिन्छ र निकटता हुन्छ भनेरै उनीहरू नेपाल आएर यसरी भेटघाट गर्ने गरेको भट्टराईको भनाइ छ । उनले नेपालले यसबाट कति फाइदा लियो भन्ने कुरा मुख्य चासोको विषय हुनुपर्ने बताए ।
कसैले भेट्न चाह्यो भन्दैमा भेट्न गइहाल्ने, सामान्य भ्रमणलाई राजकीयजस्तो बनाइदिने काम भारतले नभएर नेपालले गरेको भन्दै भट्टराईले कसलाई कति स्पेस दिने भन्ने कुरा नेपालले बुझ्नुपर्ने प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ राजनीतिक कोर्सको ६ महिना : ओलीको प्रतिवेदनमा सरकारका सात उपलब्धि
-
घरमा लिन नआएको भन्दै गाउँपालिका उपाध्यक्ष आक्रोशित, सरकारी गाडी तोडफोड
-
अध्यक्ष शेर्पामाथि छानबिन र कारबाहीको माग गर्दै अनुशासन समितिमा उजुरी
-
चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेको मुद्दामा फैसला
-
साताको कारोबारको पहिलो दिन नेप्से ५.३२ अंकले बढ्यो
-
तत्काल माओवादीको विशेष महाधिवेशन बोलाउन प्रदेश अध्यक्षहरुको दबाब