बाल चित्रकथा ‘हार्मोनियमको धुन’ प्रकाशित

काठमाडौं । ललिता ‘दोषी’द्वारा लिखित बालचित्रकथा ‘हार्मोनियमको धुन’ सार्वजनिक भएको छ । अभिभावकले आफ्ना बालबालिकाको इच्छा नबुझ्दा तिनमा पर्ने मनोवैज्ञानिक असरलाई कथाले सरल रूपमा प्रस्तुत गरेको छ ।
यो दिदीबहिनी आयुषा र अनुपमाको कथा हो । पढाइसँगै गीत गाउन सिपालु आयुषालाई बुवाले बढी नै माया गर्छन् र हार्मोनियमको धुनसँगै गीत गाउन सिकाउँछन् । तर, अनुपमाको पढाइ राम्रो नभएकाले उनीप्रति बेवास्ता गरिदिन्छन् । उनको उपेक्षाले अनुपमामा बिस्तारै बेचैनी र निराशा बढ्दै जान्छ । पढाइमा दिएको दबाबले उनी खाना पनि राम्रोसँग खाँदिनन् । यो कुरा थाहा पाएकी आमाले उनलाई हरेक साँझ बाहिर लिएर जान्छिन् । यसमा पनि बुवाले शङ्का गर्दै उनलाई लिएर नजान दबाब दिन्छन् । एक दिन स्कुलमा गीत प्रतियोगिता हुन्छ, जहाँ अनुपमाले अप्रत्याशित नतिजा निकाल्छिन् । के उनी विजयी भइन् होला ? अनि आमाले हरेक साँझ उनलाई कहाँ लगेकी रहिछन् ? यस्तै जिज्ञासाले पनि कथा रोचक बनेको छ ।
सबै बालबालिकामा कुनै न कुनै प्रतिभा हुन्छ र त्यसलाई बुझेर अभिभावकले हौसला दिनुपर्छ भन्ने सन्देश कथाले दिएको छ । यो कथा पाँच वर्ष वा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा सात वर्षमाथिका बालबालिकाले आफै अध्ययन गर्न सक्नेछन् । कृष्णदीप सिग्देलले सम्पादन गरेको कथामा विनीता बुद्धाचार्यका चित्रले आकर्षण थपेका छन् ।
पुस्तक कथालय इन्कले प्रकाशन गरेको हो । २४ पृष्ठ रहेको पुस्तकको मूल्य दुई सय रुपैयाँ रहेको छ । यस बाहेक उनका बालकथा र लोककथा सङ्ग्रह पनि कथालय बाट प्रकाशित छन् I
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
विवादमा अक्षयको चलचित्र, चोरीको आरोप
-
जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले भने, ‘पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन्’
-
नेपाल–भारत ऊर्जा व्यापार : भारतीय बजार नेपालमा आइपुग्यो, नेपालसँग छैन उत्पादन
-
३३ औँ उपाधिबाट एक जित टाढा बायर्न
-
५ गोलको थ्रिलरमा रियललाई हराउँदै बार्सालाई कोपा डेल रे