बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मेस्सी कहिले मैदानमा फर्किन्छन् ? यसो भन्छन् प्रशिक्षक मार्टिनो

मङ्गलबार, २९ साउन २०८१, १२ : ५३
मङ्गलबार, २९ साउन २०८१

काठमाडौँ । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी लामो समयदेखि मैदान बाहिर छन् । पछिल्लो समय अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेल्ने ३७ वर्षीय मेस्सी घाइते भएका कारण केही समयका लागि मैदानबाट टाढिएका हुन् ।  

तर, उनको क्लब इन्टर मियामीसँगै विश्वभरका समर्थकलाई पनि मेस्सी कहिले खेलमा फर्कन्छन् भने चासोको विषय बन्दै आएको छ । इन्टर मियामीका प्रशिक्षक गेरार्डो ‘टाटा’ मार्टिनोले पनि मेस्सी कहिले खेलमा फर्कन्छन् भन्ने विषयमा अनभिज्ञता जाहेर गरेका छन् ।

‘मेस्सी कहिले फर्कन्छन् भन्ने विषयमा म आफै पनि अनभिज्ञ छु । हामी अधैर्यतापूर्वक उनको प्रतीक्षा गरिरहेका छौँ,’ प्रशिक्षक मार्टिनोले भनेका छन् । आफ्नो कप्तानीमा अर्जेन्टिनालाई लगातार दुईपटक कोपा–अमेरिकाको उपाधि चुमाएका मेस्सी गत महिना सम्पन्न कोपा–अमेरिकाका क्रममा घाइते भएका थिए ।

कोपा–अमेरिकाको पछिल्लो संस्करणमा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १–० गोलले हराएको थियो । कीर्तिमानी रूपमा आठ पटकका बालोन डी’ओर विजेता मेस्सी सोही प्रतियोगिताका क्रममा घाइते भएका थिए ।

त्यसपछि उनी इन्टर मियामीमा फर्किएका छैनन् । ‘लियोको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको जानकारी हामीले पाएका छौँ । तर, उनी कहिले खेलमा फर्कन्छन् भन्ने कुराको टुङ्गो लागिसकेको छैन । उनको अनुपस्थितिले हामीलाई पनि अप्ठ्यारो परिरहेको छ । हामी पनि उनी छिट्टै खेलमा फर्किउन भन्ने चाहन्छौँ,’ प्रशिक्षक मार्टिनोले भनेका छन् ।

पछिल्लो समय इन्टर मियामी लिग्स कपको उपाधि जोगाउने अभियानमा छ । अघिल्लो सिजनको लिग्स कपको उपाधि मेस्सी, सर्जियो बुस्क्वेट्स, जोर्डी अल्बा र रोबर्ट टेलरसहितको इन्टर मियामीले जितेको थियो । अर्कोतिर, अमेरिकाको व्यावसायिक फुटबल मेजर लिग सकरमा पनि टोलीका लागि मेस्सीको अनुपस्थिति खड्किएको छ ।  

एक समाचारका अनुसार, मेस्सी अहिले व्यक्तिगत रूपमा नियमित अभ्यास गरिरहेका छन् । यसै महिना (अगस्त) को अन्त्यसम्म उनी खेलमा फर्कने अनुमान पनि गरिएको छ । मेस्सी सन् २०२३ मा इन्टर मियामीमा आबद्ध भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप