शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

कन्याकुमारीमा ४५ घण्टाको ध्यान: मोदीको छुट्टी हो कि ड्युटी ?

मङ्गलबार, २९ साउन २०८१, १२ : ३४
मङ्गलबार, २९ साउन २०८१

नयाँ दिल्ली । सन् २०२४ को मे ३० र जुन एकको बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कन्याकुमारीको विवेकानन्द रक मेमोरियलमा ४५ घण्टासम्म ध्यानमा बसेका थिए । यो त्यही दिन थियो जुन दिन भारतमा लोकसभाको चुनावी अभियान सकिएको थियो । उक्त समयलाई प्रधानमन्त्रीको कार्यालय (पीएमओ)ले ड्युटीको रुपमा दर्ता गराएको छ ।

बीबीसीले सूचना अधिकार अन्तर्गत पीएमओसँग यसबारे जानकारी मागेको थियो । आवेदनको जवाफमा पीएमओले मोदीले कुनै बिदा नलिएको र प्रधानमन्त्री जहिले पनि ड्युटीमा रहन्छन् भनेर भनिएको छ । सन् २०१४ को मेमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेयता मोदीले एक दिन पनि बिदा नलिएको बताइएको छ ।

नरेन्द्र मोदीअघि भारतका केही पूर्व प्रधानमन्त्रीहरूले आफ्नो कार्यकालमा बिदा लिएका थिए । यसबारे उनीहरूले जानकारी पनि सार्वजनिक गरेका थिए । यो सूचीमा भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरू, पूर्व प्रधानमन्त्री राजीव गान्धी र पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी आदि छन् ।

टाइम्स अफ इन्डियाका अनुसार पीएमओसँग पूर्व प्रधानमन्त्रीहरूको बिदाको जानकारी छैन । विगतमा कयौँ पटक प्रधानमन्त्रीको अनुपस्थितिमा काममा अवरोध नहोस् भनेर वरिष्ठ मन्त्रीलाई जिम्मेवारी दिइएको छ  ।

प्रधानमन्त्रीले कसरी लिन्छन् बिदा ?

‘प्रधानमन्त्रीले बिदाको लागि आवेदन दिने वा बिदा माग्ने भारतमा कुनै प्रणाली छैन, पहिलेको समयमा जब जब प्रधानमन्त्रीलाई आफ्नो लागि समय निकाल्नु पथ्र्यो उनले यसबारे राष्ट्रपतिलाई जानकारी गराउँथे अनि क्याबिनेट सचिवलाई पनि अवगत गराउँथे,’ भारत सरकारको क्याबिनेट सचिव भइसकेका केएम चन्द्रशेखरले भनेका छन् ।

कन्याकुमारी जानुअघि प्रधानमन्त्री मोदीले कुनै मन्त्रीलाई जिम्मेवारी दिएका थिए वा राष्ट्रपतिलाई कुनै जानकारी गराएका थिए भन्ने स्पष्ट छैन । कन्याकुमारीमा ध्यानको बारेमा औपचारिक रूपमा कुनै आधिकारिक प्रेस विज्ञप्ति पनि जारी भएको छैन । तर प्रधानमन्त्री मोदीले ध्यान गरेको धेरै भिडियो उनको आफ्नै यूट्यूब च्यानल र समाचार एजेन्सी एएनआईमा उपलब्ध छन् । यी भिडियोलाई धेरै टिभि च्यानलहरूले पनि प्रसारण गरेका थिए ।

मे ३० मा डीडी न्यूजले आफ्नो कभरेजमा पीएम मोदी मे ३०को साँझदेखि जून एकको साँझसम्मै कन्याकुमारीमा ध्यान गर्ने भनेर समाचार प्रसारण गरेको थियाे । मे ३१ को कभरेजमा एएनआईले प्रधानमन्त्री मोदी दिनरात ध्यानमा व्यस्त रहने र ध्यान ध्यान मण्डपम भित्रै गर्ने भनेको थियो । भाजपाको कयौँ नेताहरूले उनको ध्यान कार्यक्रमको प्रशंसा गरेका थिए । महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले ध्यानको भिडियो अपलोड गर्दै ‘मोदीजीले ध्यानबाट दिव्य ऊर्जा प्राप्त गरे,’ भनेर लेखेका थिए ।

विपक्षी नेताहरूले यसलाई राजनीतिक कार्यक्रम भन्दै मतदातालाई प्रभावित पार्न ध्यान कार्यक्रम आयोजना गरिएको आरोप लगाएका थिए । मोदीको ध्यानलाई उनको औपचारिक ड्युटीको हिस्सा भन्नु हस्यास्पद हुने पूर्व प्रधानमन्त्री मनमोहन सिंहको मिडिया सल्लाहकार संजय बारु भन्छन् । कर्मचारीले ध्यान गर्नुलाई कुनै संगठनले उसको ड्युटी मान्छ ? भनेर उनले उल्टै प्रशन्न गरेका छन् । 

पीएमओले मोदीको ध्यानलाई ड्युटी भन्नुलाई वरिष्ठ पत्रकार नीरजा चौधरीले पनि उटपट्याङ भनेकी छिन् । ‘प्रधानमन्त्रीलाई पूजा गर्ने अधिकार छ, तर यसरी ध्यानलाई अफिशियल ड्युटी भन्नु मेरो बुझाईभन्दा बाहिर छ । यसो भन्नुमा म कुनै तर्क देख्दिन’ उनले भनेकी छिन् ।

मोदीको साधनालाई अफिशियल ड्युटीको रूपमा वर्णन गरेको तथ्यमा पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीका सल्लाहकार सुधीन्द्र कुलकर्णीले भने केही गलत देखेका छैनन् । प्रधानमन्त्री सधैँ ड्युटीमा रहने उनको विश्वास छ । बाजपेयीले पनि बिदामा बस्दा केही न केही काम उनको अगाडि आइरहेको स्मरण कुलकर्णीले गरे । साधारण मान्छेले बिदा लिँदा आफूले गर्ने काम अरुलाई सुम्पने तर प्रधानमन्त्रीको हकमा यो लागू हुन नसक्ने उनको भनाइ छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप