आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

माधवलाई प्रचण्डको प्रस्ताव : पार्टी एकता गरौँ, प्रधानमन्त्री बनाउने जिम्मा मेरो

मङ्गलबार, २९ साउन २०८१, १४ : ४९
मङ्गलबार, २९ साउन २०८१

काठमाडौँ । पार्टीभित्र नेतृत्व हस्तान्तरणको दबाब बढिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकताको प्रस्ताव गरेका छन् ।

गत असार १७ गते कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सात बुँदे समझदारी भएपछि सत्ताबाहिर पुगेका माओवादी अध्यक्ष प्रचण्डले पार्टीभित्रको दबाब र राष्ट्रिय राजनीतिमा आफूलाई थप शक्तिशाली बनाउन पार्टी एकताको प्रयास गरिरहेको बुझिएको छ ।

त्यसका लागि प्रचण्डले माओवादीबाटै छुट्टिएको विप्लव नेतृत्वको नेकपा र एमालेबाट विद्रोह गरेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग एकताको प्रयास गरिरहेको स्रोत बताउँछ । अध्यक्ष प्रचण्डले सोमबारमात्र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग गोप्य भेटवार्ता गरेर पार्टी एकताको प्रस्ताव गरेको माधव नेपालनिकट स्रोतले बताएको छ ।

‘हाम्रो अध्यक्ष र माओवादी अध्यक्षबिचको भेटवार्तामा प्रचण्डले पार्टी एकताको प्रस्ताव गरेको बुझिएको छ’, स्रोतले प्रचण्डको भनाई उद्धृत गर्दै भन्यो, ‘विप्लवसहितको एकता गरौँ, त्यसपछि तपाईंलाई प्रधानमन्त्री बनाउने जिम्मा मेरो हुन्छ ।’

त्यस क्रममा प्रचण्डले कांग्रेस–एमालेको गठबनधन धेरै नटिक्ने भन्दै परिस्थिति बदलिन सक्ने भएकाले सोही अनुसार अघि बढ्न जोडबल गरेका छन् ।

कुराकानीका क्रममा अध्यक्ष प्रचण्डले यसअघि पनि चुनाव हारेको अवस्थामा समेत आफ्नै पहलमा जिताएर प्रधानमन्त्री बनाएको विगत नेपाललाई स्मरण गराएका छन् ।

‘पार्टी एकता गरौँ, दलको नेता तपाईं बन्नुस्, म पार्टी अध्यक्ष मात्रै हुन्छु र २०८४ अघि प्रधानमन्त्री बन्ने अवस्था आयो भने तपाईं नै प्रधानमन्त्री हुनुस्’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

जवाफमा अध्यक्ष नेपालले आफू हतारिएर पार्टी एकता गर्ने पक्षमा नरहेको भन्दै मोर्चामार्फत सहकार्य बढाउँदै लैजान सकिने जवाफ दिएका छन् ।

‘अहिले हतारमा पार्टी एकता गर्दा दिगो नहुन सक्छ । बरु मोर्चालाई सशक्त बनाएर अघि बढ्दै जाँदा भविष्यमा परिस्थिति हेरेर निर्णय गर्न सकिन्छ’, नेता नेपालले प्रचण्डलाई दिएको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो, ‘ओली नेतृत्वको सरकार कसरी अघि बढ्छ, त्यो पनि हेर्दै जानुपर्छ ।’

संसद्को यो कार्यकालको बाँकी अवधि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति छ । तर उक्त सहमति कार्यान्वयन हुनेमा सभापति देउवा विश्वस्त भए पनि नेपाली कांग्रेसका कतिपय नेताले आशङ्का व्यक्त गरेका छन् । यही अवस्थामा प्रचण्डले पार्टी एकतामा जोड दिएका हुन् । माओवादी केन्द्रको सोमबारको स्थायी कमिटी बैठक नै रोकेर प्रचण्डसहितका नेता एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

माधवकुमार नेपालसँगको भेटवार्तापछि अध्यक्ष प्रचण्डले मंगलबार एकीकृत समाजवादीका एक नेतालाई खुमलटार बोलाएर एकताबारे चासो राखेका थिए ।

‘माओवादीमा जनार्दनले फायर खोलेपछि प्रचण्ड पार्टी एकतामा हतारिएका हुन् । यता माधव नेपाल पनि पार्टी जोगाउन एकता गर्नुपर्ने अवस्थामा छन्’, एकीकृत समाजवादीका एक नेताले भने, ‘एकीकृत समाजवादीमा एकताका सवालमा केही समस्या छन् । यदि त्यो समस्या हल भएमा एकता चाँडै हुन पनि सक्छ ।’

तर एकीकृत समाजवादीमा माओवादीसँग भन्दा पनि एमालेसँग एकता गर्नुपर्ने मत बलियो छ । एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले अध्यक्ष नेपाल र प्रचण्डबिच भेटवार्ता हुनु स्वाभाविक रहेको बताए ।

‘भेटवार्ताहरू भइरहेका छन् । तर पार्टी एकता गरिहाल्नेगरी भेटवार्ता भएकोजस्तो लाग्दैन’, पाण्डेले भने, ‘योजना नै बनाएर भेटवार्ता भएको होइन ।’

उनले ती भेटवार्तामा पार्टी एकतालाई भन्दा पनि मोर्चालाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा कुराकानी हुने गरेको बताए । उनले पार्टी एकताबारे पहिलादेखि नै कुराकानी हुँदै आए पनि घनीभूत रूपमा छलफल भइनसकेको दाबी गरे ।

‘कुराकानी त पहिलादेखि नै भइरहेको छ । तर घनीभूत रूपमा छलफल भइसकेको अवस्था छैन’, पाण्डेको भनाइ छ । पार्टी एकतासँगै नेता नेपाललाई प्रचण्डले प्रधानमन्त्री बनाउने  प्रस्ताव गरेको हो ? भन्ने प्रश्नमा पाण्डेले भने, ‘उहाँले प्रस्ताव गरेर त्यस्तो हुने पनि होइन, त्यस्ता प्रस्तावबाट एकता गर्ने, नयाँ सोच लिने र मोर्चा बनाउने कुरामा हामी जाँदैनौँ ।’

उनले राजनीतिक स्थिरताका लागि दलहरूबिच सहकार्य, कार्यगत एकता र मोर्चालगायतका कुरामा छलफल हुनुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए । माओवादी, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र नेसपाको महेन्द्र यादव समूहको समाजवादी मोर्चा कायमै छ । मोर्चाको माध्यममार्फत आबद्ध दलहरूले सरकारमाथि दबाब बढाउँदै लैजाने र पार्टी एकता गर्नेसम्मको रणनीति बनाएका छन् ।

केही दिन अघिमात्र अध्यक्ष प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा पार्टीभित्र असन्तुष्टि र गुटहरू रहेको स्विकार्दै चाँडै माओवादीबाट छुट्टिएकाहरू माओवादीमै फर्केको खबर सुन्न पाउने आश्वासन कार्यकर्ताहरूलाई दिएका थिए ।

खासगरी कांग्रेस–एमाले गठबन्धन सरकारले संविधान संशोधनमार्फत साना पार्टीमाथि थ्रेसहोल्ड प्रतिशत बढाउन खोजेपछि साना दलहरू सङ्कटमा पर्ने आकलन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप