शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

पेरिस पारा ओलम्पिकअघि किन चर्चामा छिन् भ्यालेन्टिना पेट्रिल्लो ?

मङ्गलबार, २९ साउन २०८१, १२ : १९
मङ्गलबार, २९ साउन २०८१

काठमाडौँ । गृष्मकालीन ओलम्पिक खेलकुदको ३३औँ संस्करण भर्खरै फ्रान्सको राजधानी सहर पेरिसमा सम्पन्न भएको छ । आफ्नो परम्परालाई पछ्याउँदै अब पेरिसमै पारा ओलम्पिक खेलकुद सुरु हुँदै छ । पारा ओलम्पिक अगस्त २८ देखि सेप्टेम्बर ८ तारिखसम्म सञ्चालन हुनेछ ।

पेरिस पारा ओलम्पिकमा इटालीकी एक खेलाडीले इतिहास रच्ने भएकी छन् । ५० वर्षीय इटालियन धाविका भ्यालेन्टिना पेट्रिल्लो पारा ओलम्पिकमा सहभागिता जनाउने पहिलो ‘ट्रान्सजेन्डर’ खेलाडी बन्ने भएकी छन् ।

उनले पेरिस पारा ओलम्पिकको महिला टी–१२ श्रेणीको दुई सय मिटर र चार सय मिटर दौडमा सहभागिता जनाउने भएकी छन् । ‘पेरिस पारा ओलम्पिकमा मेरो उपस्थिति विश्व खेलकुदमा सद्भाव र समानताको सन्देश पनि हो,’ उनले सञ्चारकर्मीसँगको कुराकानीमा भनेकी छन् ।

तर, पारा ओलम्पिकमा ‘ट्रान्सजेन्डर’ खेलाडीको सहभागिताको विषयलाई लिएर कपिपय खेलाडीले विरोध पनि गर्दै आएका छन् । केही खेलाडीले ‘ट्रान्सजेन्डर’ व्यक्तिलाई ओलम्पिकको महिला स्पर्धामा सहभागी गराउन नहुने अभियानसमेत चलाएका छन् ।

भ्यालेन्टिना पेट्रिल्लोले गत वर्ष सम्पन्न वल्र्ड पारा एथलेटिक्स च्याम्पियनसिपमा पनि सहभागिता जनाएकी थिइन् । उनले त्यो प्रतियोगिताको आफ्नो स्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै कांस्य पदक पनि जितेकी थिइन् ।

अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटीका अध्यक्ष एन्ड्र्यू पार्सन्सले भने भ्यालेन्टिना पेट्रिल्लोलाई आफूहरूले पेरिस ओलम्पिकमा स्वागत गरिसकेको प्रतिक्रिया दिएका छन् । उनले अन्य खेलाडीले पनि उनलाई स्वागत गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

हाल ओलम्पिकजस्ता वृहत् प्रतियोगितामा ‘ट्रान्सजेन्डर’ खेलाडीको विषयलाई लिएर कुनै स्पष्ट नियम छैन । अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटीले सम्बन्धित खेलका महासङ्घहरूलाई आफ्नो तरिकाले नियम बनाउन भने छुट दिएको छ ।

एथलेटिक्सको विषयमा पनि विश्व एथलेटिक्स महासङ्घ र विश्व पारा एथलेटिक्स महासङ्घको आ–आफ्नै नियम रहेको छ । विश्व एथलेटिक्स महासङ्घले भने ‘ट्रान्सजेन्डर’ लाई महिलाको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनबाट रोक लगाएको छ ।

विश्व पारा एथलेटिक्स महासङ्घको नियम अनुसार भने ‘ट्रान्सजेन्डर’ खेलाडीले महिलाको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउँछन् । भ्यालेन्टिना पेट्रिल्लो टी–१२ स्पर्धामा हालसम्म ११ पटक राष्ट्रिय च्याम्पियन बनिसकेकी छन् ।  

भ्यालेन्टिना पेट्रिल्लोको जन्म सन् १९७३ को अक्टोबर २ तारिखमा इटालीको नेपल्समा भएको थियो । १४ वर्षको उमेरमा एक रोगका कारण उनको आँखाको ज्योति गुमेको थियो । त्यसपछि पनि उनले इटालीकै बोलोग्नाबाट आफ्नो अध्ययन पुरा गरेकी थिइन् ।

उनले केही समय इटालीको पारा फुटसल टोलीबाट पनि विभिन्न प्रतियोगिता खेलेकी थिइन् । एथलेटिक्स भने उनी सानैदेखि खेल्थिन । उनी ४१ वर्षको उमेरमा पुनः एथलेटिक्समै फर्किएकी थिइन् । त्यसपछि उनी ११ पटक राष्ट्रिय च्याम्पियन पनि बनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप