बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

लुम्बिनी प्रदेशका २१ सहकारी समस्यामा

केही सञ्चालक जेलमा, केही फरार
मङ्गलबार, २९ साउन २०८१, १० : ३५
मङ्गलबार, २९ साउन २०८१

बुटवल । बुटवलको चौराहामा रहेको सुप्रिम सहकारी बन्द भएको एक वर्ष पुग्न लागेको छ । एक हजारभन्दा धेरै बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि बन्द रहेको उक्त सहकारीका अध्यक्ष ओम गुरुङ जेलमा छन् भने सहकारीको रकम हिनामिनाको आरोप लागेका जीवी राई र व्यवस्थापक नरेश केसीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

प्रहरीले राईसहित २८ जनाविरुद्ध सहकारीको रकम अपचलन गरेको आरोपमा रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ ।

सुप्रिम सहकारीको कार्यालयबाट ५ किलोमिटर दुरीमा पर्ने योगीकुटीमा रहेको शिव शिखर सहकारी पनि बन्द छ । एक वर्षदेखि बन्द रहेको शिव शिखर सहकारीका ४ सय बचतकर्ताले करिब ३ करोड रुपैयाँ निक्षेप फिर्ता पाउन सकेका छैनन् ।

बाँके जिल्लाको नेपालगन्जमा रहेको नमस्ते सहकारीका बचतकर्ताले पनि आफ्नो रकम फिर्ता पाउन सकेका छैनन् । नमस्ते सहकारीका सञ्चालक र व्यवस्थापक फरार रहेपछि अहिले लुम्बिनी प्रदेश सहकारी दर्ता कार्यालयले रकम अपचलन गरेको प्रतिवेदनसहित जिल्ला प्रहरी कार्यालय बाँकेलाई कारबाहीका लागि पत्राचार गरेको छ । प्रहरीले मुद्दा दर्ताका लागि बचतकर्ताहरूको विवरण सङ्कलन गरिरहेको जनाएको छ ।

लुम्बिनी प्रदेशमा बचतकर्ताको रकम फिर्ता नगर्ने सुप्रिम, शिव शिखर र नमस्तेजस्ता सहकारी सङ्ख्या २१ पुगेको छ । ती सहकारीका झण्डै १० हजार बचतकर्ता रकम डुब्ने चिन्तामा छन् ।

thumb

लुम्बिनी प्रदेश सहकारी दर्ता कार्यालय प्रमुख मधुकृष्ण पौडेलले हालसम्म २१ सहकारीविरुद्ध कार्यालयमा उजुरी आएको बताए । उनले समस्या समाधानका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको रातोपाटीलाई जानकारी दिए ।

आर्थिक वर्ष २०७९-८० मा १७ वटा सहकारीले बचतकर्ताको रकम फिर्ता  नगरेकोमा कारबाही प्रक्रिया अघि बढेको छ भने आर्थिक वर्ष २०८०-८१ मा त्यस्ता ५ वटा सहकारी थपिएको छ ।

सहकारी बोर्ड लुम्बिनी प्रदेशका कार्यकारी उपाध्यक्ष टीकाराम पोखरेलले कानुन अनुसार समस्याग्रस्त सहकारी घोषणा भएपछि मन्त्रीपरिषद्ले निर्णय गरेर ती सहकारीलाई नयाँ व्यवस्थापन गर्न सक्ने बताए ।

पछिल्लो समय बचत फिर्ता नगरी कारबाही अघि बढाइएको सहकारीमा विश्व विराट बहुउद्देश्यीय सहकारी संस्था लि. रुपन्देही, जनसेवा बहुउद्देश्यीय सहकारी संस्था लि.घोराही दाङ, सप्तदीप बहुउद्देश्यीय सहकारी संस्था लि.रुपन्देही, नमस्ते बचत तथा ऋण सहकारी संस्था लि. बाँके, सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.रुपन्देही छन् ।

पौडेलले भने, ‘बचतकर्ताको रकम जोखिममा पार्ने सहकारीका केही सञ्चालक सम्पर्कमा ल्याएर रकम फिर्ता गराउने चरणमा छौँ, केही सञ्चालक थुनामा, केही फरार छन् । सबैलाई कानुनको दायरमा ल्याउँछौँ ।’

सहकारी बोर्ड लुम्बिनी प्रदेशका कार्यकारी उपाध्यक्ष टीकाराम पोखरेलले सहकारीको सिद्धान्तभन्दा बाहिर गएर बचतकर्ताको रकम समयमा फिर्ता नगर्ने सहकारीलाई समस्याग्रस्त घोषणा गरेर नयाँ ढङ्गबाट बचतकर्ताको रकम फिर्ता गराउन छलफल चलिरहेको रातोपाटीलाई बताए ।

उनले कानुन अनुसार समस्याग्रस्त सहकारी घोषणा भएपछि मन्त्रीपरिषद्ले निर्णय गरेर ती सहकारीलाई नयाँ व्यवस्थापन गर्न सक्ने बताए ।

बचतकर्ताको प्रश्न– रकम कहिले फिर्ता हुन्छ ?

सुप्रिम सहकारीबाट बचतकर्ताको १ अर्ब ७ करोड रकममध्ये झण्डै ९० करोड अपचलन भएको थियो । शिव शिखर सहकारीबाट ३ करोड अपचलन भएको छ । ती सहकारीका कोही सञ्चालक जेलमा छन् भने कोही फरार छन् ।

यता बचतकर्ताहरू रकम डुब्ने चिन्तामा छन् । सुप्रिम सहकारीका बचतकर्ताले फेरि आन्दोलन गर्न थालेका छन् । सुप्रिम सहकारी पीडित संषर्घ समितिका संयोजक विजय नेपालले दाङ पुगेर सहकारी नियामक निकायलाई ज्ञापनपत्र बुझाएको बताए ।

उनले सहकारी सञ्चालन गर्दा सरकारले नियमन गर्न नसकेकाले आफूहरूको पैसा डुबेको बताए । अब प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिँदै फेरि धर्नामा बस्ने योजना रहेको उनले सुनाए ।

बुटवलकै सुप्रिम, आगन्तुक, साइन, उपकार, सप्तदीप, नमस्ते, उपदेश, सुनौलो बहुउद्देश्यीय सहकारी पनि बचत रकम फिर्ता गर्न नसकेपछि बन्द छन् । बुटवलका सहकारीहरूले लघु जलविद्युत्, उद्योग, पर्यटन, कृषिका क्षेत्रमा बढी लगानी गरेका छन् । त्यस्तै घरजग्गा खरिद, हायर पर्चेजमा पनि सहकारीको बिनाधितो लगानी छ ।

भक्तपुरमा केन्द्रीय कार्यालय रहेको शिव शिखर सहकारीले बुटवलमा करिब ३ सय बचतकर्ताको ३ करोड रुपैयाँ तिर्न बाँकी छ ।

कृषि सामग्री उत्पादन र ग्रोसरी सामग्री बिक्री गर्दै आएको शिव शिखरले दैनिक बचत रकम अन्य व्यवसायमा लगानी गर्दै गएपछि स्थानीय बचतकर्ता समस्यामा परेका हुन् ।

उक्त सहकारी अध्यक्ष केदार शर्मा र व्यवस्थापक अहिले प्रहरी हिरासतमा छन् । सो सहकारीका बचतकर्ता बुटवल उपमहानगर –११, देवीनगरका उमेश थापा मगरले आफ्नो बचत रकम कहिले फिर्ता पाउने भन्ने टुङ्गो नभएको बताए ।

बुटवलकै सुप्रिम, आगन्तुक, साइन, उपकार, सप्तदीप, नमस्ते, उपदेश, सुनौलो बहुउद्देश्यीय सहकारी पनि बचत रकम फिर्ता गर्न नसकेपछि बन्द छन् । बुटवलका सहकारीहरूले लघु जलविद्युत्, उद्योग, पर्यटन, कृषिका क्षेत्रमा बढी लगानी गरेका छन् । त्यस्तै घरजग्गा खरिद, हायर पर्चेजमा पनि सहकारीको बिनाधितो लगानी छ ।

जिल्ला सहकारी संघ रूपन्देहीका अध्यक्ष भीम तुलाचनले सहकारीले बचत सङ्कलनको रकम घरजग्गा, गाडीलगायतका अन्य क्षेत्रमा लगानी गर्दा समस्या देखिएको बताए ।

Screenshot_2024-08-11-20-21-18-47_be80aec1db9a2b53c9d399db0c602181 (2)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप