बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

करिब आठ महिनापछि दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल

एएफसी च्यालेन्ज लिगमा नेपालको चर्च ब्वाइज र भुटानको पारो आज भिड्दै
मङ्गलबार, २९ साउन २०८१, १० : ०६
मङ्गलबार, २९ साउन २०८१

काठमाडौँ । एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा मंगलबार नेपालको चर्च ब्वाइज युनाइटेड क्लबले भुटानको लिग पारो फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दै छ । उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल समयअनुसार, साँझ ६ बजे सुरु हुनेछ ।   

चर्च ब्वाइज युनाइटेड नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता क्लब हो । पारो फुटबल क्लब भने भुटानको ‘ए’ डिभिजन लिग च्याम्पियन हो । खेलअघि आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफूहरू उत्कृष्ट प्रदर्शनका लागि तयार रहेको बताएका छन् ।

चर्च ब्वाइज युनाइटेडले भुटानी क्लबविरुद्धको खेलका लागि राष्ट्रिय टोलीका केही खेलाडीलाई पनि क्लबमा अनुबन्ध गरेको छ । चर्च ब्वाइज युनाइटेडको प्रशिक्षकमा बालगोपाल महर्जन र कप्तानमा अनन्त तामाङ रहेका छन् ।

भुटानी क्लब पारोमा भने जापानका प्रभावशाली खेलाडी केइसुके होन्डा पनि आबद्ध छन् । उनी विश्वकप समेत खेलिसकेका खेलाडी हुन् । भुटानी टोलीको प्रशिक्षकमा पुष्पलाल शर्मा र कप्तानमा किनली वान्चुक रहेका छन् ।

भुटानी टोलीका जापानी खेलाडी होन्डा र प्रशिक्षक पुष्पले दशरथ रङ्गशालाको अवस्था निकै कमजोर रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले दशरथ रङ्गशालामा खेल्नु आफूहरूका लागि चुनौतीपूर्ण हुने टिप्पणी गरेका छन् ।

दशरथ रङ्गशालामा करिब आठ महिनापछि अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । दशरथ रङ्गशालामा पछिल्लो पटक गत मङ्सिरमा विश्वकप छनोटअन्तर्गत नेपाल र यमनबिच खेल भएको थियो । त्यसयता कुनै अन्तर्राष्ट्रिय खेल भएको छैन ।

दशरथ रङ्गशालाको अवस्था मापदण्ड अनुरूप नरहेको भन्दै एसियाली फुटबल महासङ्घ (एएफसी) ले विश्वकप छनोट खेल खेल्न पनि रोक लगाएको थियो । त्यसपछि नेपालले विश्वकप छनोटको बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेल ‘न्यूट्रल भेन्यू’ मा खेल्नु परेको थियो ।

एएफसीले खासगरी दशरथ रङ्गशालाको खेल मैदान, फ्लडलाइट र सुरक्षाको विषयमा प्रश्न उठाएको थियो । केही दिनअघि मात्र एएफसीले दशरथ रङ्गशालामा पुनः अन्तर्राष्ट्रिय फुटबल खेलाउन अनुमति दिएको हो ।

हाल दशरथ रङ्गशालाको रेखदेख राष्ट्रिय खेलकुद परिषद् आफैले गरिरहेको छ । च्यालेन्ज कपलगत्तै भदौको पहिलो साता दशरथ रङ्गशालामा साफ यू–२० च्याम्पियनसिप फुटबल सुरु हुँदै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप