सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

सोमबार, २८ साउन २०८१, २१ : ४९
सोमबार, २८ साउन २०८१

आज २०८१ साउन २८ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा नेतृत्व परिवर्तनको दबाब झेल्दै देउवा र प्रचण्ड, नेपाल भ्रमण सकेर फर्किए भारतीय विदेश सचिव, पेरिस ओलम्पिकमा नेपाल : भाडाका प्रशिक्षकदेखि खेलाडीलाई मागेको पोसाकसम्म, भदौ ७ गते सम्मका लागि कांग्रेस बैठक स्थगित, निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग गरे उपनिर्वाचनबारे छलफल, राष्ट्र बैंकका महँगा गाडीलाई कसरी बनाइयो निजी ?, सशस्त्रमा ३० वर्षे कार्यकाल तत्काल लागु गर्न नहुने कार्यदलको सुझाव, संसदमा सांसदले घुसबारे दिएको अभिव्यक्ति झुटो रहेको निष्कर्ष लगायत छन् ।

१. नेतृत्व परिवर्तनको दबाब झेल्दै देउवा र प्रचण्ड
प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको आन्तरिक बैठकमा नेतृत्व परिवर्तनको विषय उठेको छ । कांग्रेसको केन्द्रीय समिति बैठक र माओवादीको स्थायी कमिटी बैठकमा विचार, संगठन र नेतृत्वबारे घनीभूत बहस हुनका साथै नेतृत्वको कमी कमजोरी खुट्याउँदै खुलेर आलोचना भएको छ ।

२. नेपाल भ्रमण सकेर फर्किए भारतीय विदेश सचिव
भारतका विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमण पूरा गरी सोमबार स्वदेश फर्किएका छन् । भ्रमणको दोस्रो दिन सोमबार उनी पशुपतिनाथ मन्दिर दर्शनदेखि राजनीतिक भेटवार्तामा व्यस्त रहे । 

३. पेरिस ओलम्पिकमा नेपाल : भाडाका प्रशिक्षकदेखि खेलाडीलाई मागेको पोसाकसम्म
पेरिस ओलम्पिक प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नेपालको सहभागिता औपचारिकतामा सीमित रह्यो । यस क्रममा नेपालको व्यवस्थापकीय लापरवाही भने छताछुल्ल भएको छ । प्रतियोगितामा सहभागिता जनाउन पेरिस पुगेका खेलाडीलाई उतै भाडाका प्रतिशक्षक खोजिएकोदेखि खेलाडीका लागि मागेको पोसाक दिएको विषय उजागर भएको छ । 

४. भदौ ७ गते सम्मका लागि कांग्रेस बैठक स्थगित
नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक भदौ ७ गतेसम्मका लागि स्थगित भएको छ । बैठकका क्रममा सोमबार पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन् ।

५. निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग गरे उपनिर्वाचनबारे छलफल
निर्वाचन आयोगका पदाधिकारीहरूले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन गराउनेबारे छलफल गरेका छन् । 

६. राष्ट्र बैंकका महँगा गाडीलाई कसरी बनाइयो निजी ?
नेपाल राष्ट्र बैंकले किनेका महँगा सवारी साधनलाई बैंकका उच्च पदस्थ अधिकृतले अवकाशपछि आफ्नो नाममा नामसारी गरी निजी बनाउने विकृत अभ्यासको पटाक्षेप भएको छ । यो प्रवृत्तिलाई मलजल गर्न बैंकका तीन पूर्वगभर्नरले आ–आफ्नो कार्यकालमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पाइएको हो । 

७. सशस्त्रमा ३० वर्षे कार्यकाल तत्काल लागु गर्न नहुने कार्यदलको सुझाव
सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवा अवधि हटाए पनि तत्काल लागु गर्न नहुने अध्ययन कार्यदलको निष्कर्ष छ । गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य नेतृत्वको अध्ययन कार्यदलले सशस्त्रमा २०९५ सालबाट मात्र ३० वर्षे सेवा अवधि हटाउनुपर्ने निष्कर्ष सहितको प्रतिवेदन गृहमन्त्री रमेश लेखकलाई बुझाएको छ ।

८. संसदमा सांसदले घुसबारे दिएको अभिव्यक्ति झुटो रहेको निष्कर्ष
समकक्षता (इक्युभ्यालेन्ट) लिन ५ हजार रुपैयाँ घुस दिएको आरोप लगाएका सांसद विरेन्द्र महतोले झुटो बोलेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको छानबिन समितिले समकक्षता लिनका लागि ५ हजार रुपैयाँ घुस दिएको भन्ने आरोप झुटो भएको पत्ता लगाएको हो ।

९. कोशी प्रदेशसभा दुई तिहाईले थिचियो
कोशी प्रदेश सभा बैठक अनिश्चित बन्दै गएकोमा विपक्षी दलहरूले आपत्ति जनाउन थालेका छन् । प्रदेश सभामा सत्ता पक्षसँग दुई तिहाइ मत भए पनि बैठक बोलाउन सरकारले चासो नदेखाएको उनीहरूको आरोप छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप