शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

जसपा नेपालले सङ्गठन विस्तारको चार महिने अभियान सञ्चालन गर्ने

सोमबार, २८ साउन २०८१, २० : २८
सोमबार, २८ साउन २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठन विस्तारको चार महिने अभियान सञ्चालन गर्ने भएको छ । पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्ने लक्ष्यसहित आगामी भदौ पहिलो सातादेखि मङ्सिर मसान्तसम्म आधारभूत सङ्गठन निर्माण अभियान सुरु गर्ने जनाएको हो ।

सङ्घ र प्रदेश सरकारबाट बाहिर रहेको जसपा नेपालले सिँगो पार्टी पङ्क्ति आगामी चार महिनासम्म विशुद्ध सङ्गठन निर्माणमा होमिन लगाउने र त्यसका लागि केन्द्रीय नेतृत्वलाई एक दिवसीय प्रशिक्षणसमेत दिइएको जनाएको छ ।

यस्तै, ललितपुरको महालक्ष्मीस्थान–६ सानोगाउँस्थित थसी ब्याक्वेटमा आइतबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठक जारी छ । बैठकको दोस्रो दिन आज दुई सय १५ जना केन्द्रीय सदस्यलाई सङ्गठन निर्माण अभियानबारे प्रशिक्षण दिइएको छ ।

केन्द्रीय सदस्यलाई प्रशिक्षण दिँदै अध्यक्ष यादवले आगामी चार महिनासम्म सङ्गठन निर्माण, विस्तार, शुद्धीकरण र सुदृढीकरण अभियानमा होमिन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिए । ‘जनतासँग जसपा नेपाल,  आधारभूत सङ्गठन निर्माण’ नाम दिइएको अभियानलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सक्रिय भएर लाग्न अध्यक्ष यादवले आह्वान गरे ।

सङ्गठनलाई चुस्तदुरुस्त र बलियो बनाउन, उत्पीडित समुदायको हक अधिकारको पैरवी गर्ने उद्देश्यले अभियान सुरु गर्न लागिएको उनको भनाइ थियो । “यो केन्द्रीय समिति बैठकले आगामी अभियान सञ्चालन गर्न समयावधि निर्धारण गर्ने र केन्द्रीय सदस्यलाई जिल्ला, महानगर, नगरलगायत स्थानीय तहको अभियन्ताको रूपमा जिम्मेवारी दिएर पठाउँछौँ”, अध्यक्ष यादवले भने ।

देशव्यापी रूपमा जनपरिचालन अभियान, जसमा सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रम तय भएको जसपा नेपालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप