बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

हेटौंडा उपमहानगरले राजस्व दर बढाएपछि व्यवसायी आन्दोलित

सोमबार, २८ साउन २०८१, २० : ०१
सोमबार, २८ साउन २०८१

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि राजस्वको दरमा हेरफेर गरेको छ ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि २०० रुपैयाँदेखि २० हजार रुपैयाँसम्म राजस्वको दर परिवर्तन गरेको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै उपमहानगरपालिकाले नयाँ दर अनुसार राजस्व सङ्कलन गर्न थालेपछि व्यवसायी भने आन्दोलित भएका छन् ।

यता बजेट अधिवेशनमा उक्त विषयमा छलफल नभएको भन्दै वडा अध्यक्षहरूले नै असन्तुष्टि व्यक्त गरिरहेका छन् । उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि निर्धारण गरेको दर अनुसार गत आर्थिक वर्षमा २ हजार रुपैयाँ राजस्व तिर्दै आएका बजार क्षेत्रमा कपडासहित सिलाइ बुनाइ गर्ने व्यवसायीले ३ हजार रुपैयाँ राजस्व तिर्नुपर्ने भएको छ भने गत आर्थिक वर्ष सिलाइ बुनाइ मात्रै गर्नेलाई एक हजार रुपैयाँ राजस्व लिँदै आएकोमा चालु आर्थिक वर्षमा एक हजार ५०० रुपैयाँ राजस्व निर्धारण गरेको छ ।

बुटिक व्यवसायीलाई यस वर्षदेखि छुट्टै वर्ग बनाएर वार्षिक ८ हजार रुपैयाँ राजस्व तोकेको छ । गत वर्ष एक हजार ५०० सय रुपैयाँ राजस्व तिरेका ड्राइ क्लिनर्स व्यवसायीले चालु आर्थिक वर्षमा ३ हजार ५०० रुपैयाँ (१३३ प्रतिशतले बढी) तिर्नुपर्ने भएको छ ।

गत आर्थिक वर्ष सबैखाले सहकारी संस्थालाई वार्षिक २ हजार ५०० रुपैयाँ राजस्व लिएको उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा सहकारीलाई वर्गीकरण गरेर १२ हजार रुपैयाँसम्म राजस्व निर्धारण गरेको छ । वर्गीकरण अनुसार बचत तथा ऋण सहकारी संस्थाले १२ हजार रुपैयाँ, ८ हजार रुपैयाँ, दुग्ध र कृषि सहकारीले एक हजार ५०० रुपैयाँ र अन्य सहकारीले ५ हजार रुपैयाँ राजस्व तिर्नुपर्नेछ ।

निजी अस्पतालले गत आर्थिक वर्ष १० हजार रुपैयाँ राजस्व तिरेका थिए भने चालु आर्थिक वर्षमा १८ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । विशेषज्ञ क्लिनिकले गत आर्थिक वर्षमा ६ हजार रुपैयाँ तिरेको थियो भने चालु आर्थिक वर्षमा १० हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।

राजस्व वृद्धिप्रति व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरिरहँदासमेत उपमहानगरपालिका आफ्नो निर्णयमा अडिग छ । उपमहानगरपालिकाको साउन १६ मा बसेको कार्यपालिका बैठकले समेत राजस्व दर कायम राख्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले नगरसभाबाट पारित भएको राजस्वको दर कार्यान्वयनमा समेत आइसकेकाले राजस्वको दर कायमै राखेर अगाडि बढ्ने निर्णय गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले राजस्व वृद्धि गर्ने विषयलाई गम्भीरताका साथ नलिएका कारण विवाद देखिएको बताए । परिस्थिति र सरोकारवालासँग पर्याप्त छलफल नगर्नाले व्यवसायी आन्दोलित हुनुपरेको उनले बताए । पालिकाबाट राजस्व वृद्धि गर्ने प्रक्रियामा कमजोरी भएको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए ।

व्यवसायीको विरोध, आन्दोलनको घोषणा

राजस्व वृद्धि गर्ने उपमहानगरको निर्णयप्रति व्यवसायीहरूले विरोध जनाएका छन् । राजस्व परिवर्तनको दर र क्षेत्रलाई हेर्दा अध्ययन, अनुसन्धान र कुनै वैज्ञानिक आधारविना नै दर परिवर्तन गरिएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।

आर्थिक मन्दी, खुम्चिएको व्यावसायिक परिस्थितिमा स्थानीय सरकारले करको दरमा चर्को वृद्धि गरेको व्यवसायीको भनाइ छ । आर्थिक मन्दीसँगै व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा स्थानीय सरकारले राजस्वमा शत प्रतिशतभन्दा बढी राजस्व वृद्धि गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले विरोध जनाएको छ ।

अव्यावहारिक रूपमा राजस्वको दर परिवर्तन र शत प्रतिशतसम्म वृद्धिले व्यवसायी थप मर्कामा पर्ने भन्दै आन्दोलनमा उत्रिएको मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाटले जानकारी दिए । संघले उपमहानगरपालिकाको राजस्व वृद्धिको निर्णयका विरुद्धमा आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै संघको अगुवाइमा व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन् । करको दर र दायरा बढाउँदै नयाँ शीर्षकमा पनि उच्च दरमा करको दर कायम गरेको भन्दै नगरप्रमुख, उपप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै उपमहानगरको सकारात्मक प्रतिक्रियाको अपेक्षामा रहेका व्यवसायीले अन्ततः आन्दोलनको घोषणा गरेको उपाध्यक्ष रानाभाटले बताए ।

कोभिड–१९ देखि निरन्तर व्यवसाय खस्कँदो अवस्था रहेका बेला सहयोग गर्नुपर्ने स्थानीय सरकारले करको दर बढाएर व्यवसायीलाई थप पीडा दिने काम गरेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य भएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताए ।

संघले ५ दिने आन्दोलनका कार्यक्रमअन्तर्गत धर्ना दिनेदेखि व्यवसाय बन्द गरेर चाबी उपमहानगरपालिकालाई बुझाउनेसम्मका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनका कार्यक्रमसँगै संघले व्यवसायीहरूको तर्फबाट सामूहिक रुपमा उपमहानगरपालिका विरुद्ध मुद्दा समेत दर्ता गराउने जनाएको छ ।

आन्दोलनका कार्यक्रम अन्तर्गत पहिलो दिन सोमबार राजनीतिक दलसम्वद्ध व्यावसायिक संघ, संस्थाका प्रतिनिधि र सहकारी संस्थाका प्रतिनिधिहरूसँग छलफल गरिएको छ भने व्यापारीको भेला आयोजना गरेर आन्दोलनको आवश्यकता, औचित्य र व्यवसायीको साथ सहयोगका विषयमा जानकारी गराइएको छ ।

दोस्रो दिन मंगलबार कर अवज्ञा गर्न व्यवसायी र नगरवासीलाई आह्वान गर्न सुरु गर्ने, विभिन्न संघ, संस्था, प्रदेश सरकार, राजनीतिक दललाई ज्ञापनपत्र बुझाउनुका साथै विभिन्न क्षेत्रका प्रतिनिधिसँग अन्तरक्रियाको कार्यक्रम तय गरिएको अध्यक्ष गुप्ताले बताए ।

तेस्रो दिन बुधबार हेटौँडा बजारको बुद्धचोकसँगै विभिन्न स्थानमा राजस्व वृद्धिको निर्णय विरुद्ध हस्ताक्षर सङ्कलन गर्ने, हेटौंडा उपमहानगरपालिकामा १ घण्टा धर्ना दिने, राजस्व वृद्धिको विरोधमा विभिन्न स्थानमा कालो ब्यानर राख्ने उनको भनाइ छ ।

चौथो दिन बिहीबार हेटौँडा उपमहानगरपालिकामा २ घण्टा धर्ना दिने, नगर सरकार खोज्दै मैनबत्ती जुलुस गर्ने र पाँचौँ दिन शुक्रबार र्‍यालीसहित व्यापार व्यवसाय बन्द गरी हेटौँडा उपमहानगरपालिकामा चाबी बुझाएर पहिलो चरणको आन्दोलनको कार्यक्रम समापन गर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप