जिल्ला न्यायाधीश बर्खास्त भएको एक अपहरण आरोपितको मुद्दामा उच्च अदालत पाटनले थाल्यो सुनुवाइ
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका तत्कालीन न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई न्याय परिषदले छानबिनपछि २०८० फागुन १३ गते बर्खास्त गर्ने निर्णय लियो । उनलाई न्यायाधीशको पदबाटै बर्खास्त गर्नुपर्ने कारण थियो– भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावल अपहरण घटना सम्बन्धी उनको फैसला ।
उक्त घटनाका मुख्य अभियुक्त भनिएका ‘सोले र कुमार’ भनेर चिनिने दुर्गाबहादुर बुढाथोकीलाई न्यायाधीश निरौलाले एउटै व्यक्ति भए पनि नाम फरक परेको तर्ककै आधारमा सफाइ दिने फैसला सुनाएका थिए । उक्त फैसला सार्वजनिक भए लगत्तै विवादमा पर्यो ।
प्रहरीले सीमापारी भारत पुगेर खोजी गरी बुढाथोकीलाई नेपाल ल्याएर अदालतमा पेस गरेको थियो । तर अदालतले नाम धेरै भएको आधार देखाउँदै कमजोर प्रमाणमा टेकेर सफाइ दिने फैसला गरेको थियो ।
बयानका क्रममा पीडित आफैँले अपहरण गरेको अनि फिरौती लिएको स्वीकार गरेका थिए । तर न्यायाधीश निरौलाले त्यसलाई अस्वीकार गर्दै सफाइ दिएपछि न्याय परिषदले छानबिन गर्दै न्यायिक विचलनमा परेको ठहर गर्दै पदबाटै बर्खास्त गरेको थियो ।
जिल्ला अदालतले बुढाथोकीलाई सफाइ दिएपछि न्यायाधीश निरौलामाथि छानबिन भएको थियो भने सरकार पक्षले उच्च अदालतमा मुद्दाको पुनरावेदन गरेको थियो । जिल्लाको सफाइ दिने फैसला त्रुटिपूर्ण भएको भन्दै सरकारद्वारा २०७९ असार ३० मा उच्च अदालत पाटनमा पुनरावेदन दर्ता भएको थियो ।
उक्त मुद्दामा सोमबार आदेश गर्दै उच्च अदालतका न्यायाधीशद्वय पुरुषोत्तमप्रसाद ढकाल र प्रकाश खरेलको संयुक्त इजलासले प्रमाण मिसिल झिकाउने आदेश गरेको छ । उक्त प्रमाण उपलब्ध भएपछि उच्चले यसको अन्तिम सुनुवाइ गर्नेछ । उच्चले अन्तिम सुनुवाइ गर्दै जिल्लाको फैसला सदर वा बदर गर्ने निर्णय लिनेछ ।
के थियो घटना ?
२०६५ साल पुस १ गते साँझ बालाजु औद्योगिक क्षेत्र हाताबाट भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावल अपहरणमा परे । अपहरणकारीहरूले ठुलो रकम मागेपछि रावलका बुबा हरिकृष्ण रावलले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा अपहरणमा संलग्न भएको भनी केही व्यक्ति पक्राउ परे । पक्राउ परेको समूहमाथि काठमाडौँ जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक मुद्दा दायर भयो ।
उक्त मुद्दामा प्रल्हाद महत, विष्णु जिसी, टासी गुरुङ, विकास कार्की लगायतका प्रतिवादी तत्कालै पक्राउ परी मुद्दा चलाइएको थियो । जिल्ला अदालतले उनीहरूलाई दोषी ठहरसमेत गर्यो । घटनामा संलग्न भए पनि सोले तथा कुमार बुढाथोकी उपनाम भएका दुर्गा बहादुर बुढाथोकी भने फरार रहे ।
उनी पक्राउ नपरेपछि तत्कालीन समयमा जिल्ला अदालतमा फरार देखाउँदै अभियोगपत्र पेस भयो । फैसला हुँदा उनी फेला परेको बखतमा मुद्दा मुल्तवीबाट जगाउने आदेश भयो ।
१ करोड ५० लाख रुपैयाँ फिरौती लिएर अपहरणमुक्त गरिएको घटनामा योजनाकारको रूपमा बुढाथोकी थिए । यही कारण प्रहरीले उनको खोजी जारी नै राखेको थियो । प्रहरीले बुढाथोकी भारतको दार्जीलिङमा रहेर व्यापार गरिरहेको सूचना पायो । त्यसलगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोली दार्जीलिङ पुगेको थियो ।
२०७७ साल पुस १४ गते भारतको दार्जीलिङ पुगेर बुढाथोकीलाई पक्राउ गरी नेपाल ल्याउन सीआइबी सफल भएको थियो । २०७७ साल माघ ११ गते सरकारी वकिलमार्फत् काठमाडौँ जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक मुद्दामा अभियोगपत्र जगाउने निवेदन पेस भयो र उनलाई पनि अदालत बुझाइयो ।
२०७७ साल माघ १३ गते जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले बुढाथोकीलाई तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्ने नदेखिएको भन्दै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो । उक्त आदेशपछि बुढाथोकी थुनामै रहेर मुद्दाको पुर्पक्ष गरिरहेका थिए । तर, २०७८ साल असोज ५ गते अन्तिम फैसलाको पेसी पनि न्यायाधीश निरौलाकै इजलासमा परेको थियो । करिब ९ महिना थुनामा बसेपछि पुर्पक्षका लागि थुनामै पठाउने आदेश गरेका न्यायाधीश निरौलाले नै नाम फरक परेका कारण देखाएर ‘अभियोग दाबी नपुग्ने’ भन्दै सफाइ दिने फैसला सुनाए । यही प्रकरणमा उनले अवधि बाँकी हुँदै जिल्ला न्यायाधीशबाट बर्खास्त हुनु परेको थियो ।
जिल्ला अदालतमा बयानमा क्रममा बुढाथोकीले आफू दुर्गाबहादुर नभएर प्रकाश क्षेत्री भएको दाबीसमेत गरेका थिए । प्रहरीले उनको बारेमा विगतसहितको सबै प्रमाण पेस गरेको थियो । प्रहरीले उनी सर्लाहीका स्थानीय भएको र सर्लाहीकै भएकाले बुढाथोकीको अपहरणका अर्का नाइके प्रल्हाद महतसँग राम्रै चिनजान भएकै आधारमा योजना बनेको दाबी गरेको थियो । बुढाथोकीको पेसा थियो– चोरी । मोटरसाइकल चोरी गर्ने अनि प्रल्हादको समूहलाई दिने ।
बानेश्वरस्थित एभरेस्ट होटलको पार्किङबाट मोटरसाइकल चोरी गरेपछि २०६४ वैशाख २५ गते पहिलोपटक बुढाथोकी पक्राउ परेका थिए । महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएका उनी हिरासतको ग्रील नै तोडेर फरार भएका थिए ।
बाबुराजाको अपहरण हुनभन्दा झण्डै एक वर्षअघि अपहरणका मुख्य नाइके अमर टण्डन पक्राउ परेका थिए । उनी पक्राउ परे पनि उनका सहयोगी उदय सेट्टीले अपहरणको धन्दा चलाएका थिए ।
२०६५ पुस १ गते भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरण भएको थियो । मारुती भ्यानमा हालेर ४÷५ जनाको समूहले मुखमा पट्टी बाँधेर रावलको अपहरण गरेको थियो । पछि अपहरणमा प्रयोग भएको मारुती भ्यान कान्ति बाल अस्पतालको पार्किङबाट प्रहरीले बरामद गरेको थियो । यो अपहरणबारे प्रहरीले रावल मुक्त भएपछि मात्र पत्ता लगाउन सकेको थियो ।
यही घटनाको अनुसन्धानका क्रममा अपहरणकारीका नाइके भारतीय नागरिक उदय सेट्टीलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको थियो । बुढाथोकी पनि उनकै समूहको भएको पाइएको थियो ।