शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
राजनीति

‘नेतृत्व हस्तान्तरण’को आन्तरिक दबाब झेल्दै देउवा र प्रचण्ड

सोमबार, २८ साउन २०८१, १५ : ४१
सोमबार, २८ साउन २०८१

काठमाडौँ । प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बैठक केही दिन यता काठमाडौँमा चलिरहेका छन् । कांग्रेसको केन्द्रीय समिति बैठक र माओवादीको स्थायी कमिटी बैठकमा विचार, संगठन र नेतृत्वबारे घनीभूत बहस चलिरहेको छ ।

दुवै पार्टीका बैठकमा नेताहरूले नेतृत्वको कमी कमजोरी खुट्याउँदै खुलेर आलोचना गरेका छन् र, नेतृत्वमाथि साझा प्रश्न पनि गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले जारी केन्द्रीय समिति बैठकमा आफ्नो नेतृत्वबारे विभिन्न प्रश्न सामना गर्नुपरेको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अवस्था पनि उस्तै छ । दुवै दलका नेताहरूले आ–आफ्नो नेतृत्वमाथि प्रश्न गर्दै नेतृत्व हस्तान्तरण गर्न सुझाव दिइरहेका छन् ।

नेताहरूले कांग्रेसमा देउवा र माओवादीमा प्रचण्डको विकल्प खोजे पनि दुवै नेताको विकल्प ‘को हो’ भन्नेबारे सम्बन्धित पार्टीभित्र अलमल देखिन्छ । तर दुवै पार्टीका नेतामाथि नेतृत्व हस्तान्तरणबारे साझा प्रश्न भने उठेको छ ।

नेतृत्व हस्तान्तरणसँग जोडेर उठाइएका प्रश्न कांग्रेस र माओवादीमा समान छन् । यद्यपि अरु विषय र पृष्ठभूमि भने दुवै पार्टीमा फरकफरक छन् ।

देउवामाथि शेखरको प्रश्न

नेपाली कांग्रेसको सभापतिमा हाल शेरबहादुर देउवा दोस्रो कार्यकाल सम्हालिरहेका छन् । २०७८ सालमा सम्पन्न १४ औँ महाधिवेशनमार्फत डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा सभापतिमा निर्वाचित भएका हुन् । विधानतः देउवाले तेस्रो कार्यकालको नेतृत्व गर्ने छैनन् तर आगामी २०८२ सालमा गर्नुपर्ने १५औँ महाधिवेशन देउवाले अनेक बहानामा पर सार्ने हुन् कि भन्ने त्रास नेताहरूमा देखिन्छ । सोही त्रासका कारण नेताहरूले समयावधिभित्र महाधिवेशन नहुने हो कि भनेर बैठकमा आशङ्का मिश्रित प्रश्न गरेका छन् ।

अघिल्लो महाधिवेशनमा देउवासँग सभापतिमा पराजित शेखरले आइतबारको केन्द्रीय समिति बैठकमा समयमै सभापतिले महाधिवेशन गर्न आलटाल गर्नुहुन्छ कि भन्ने आशङ्का बढेको भन्दै त्यसको छनक अहिले नै देखिन थालेको बताए । जवाफमा देउवाले आशङ्का हटाउन र सबै मिलेर समयमै महाधिवेशन गर्नतिर लाग्न कोइरालालाई सुझाव दिए ।

‘अहिलेको कार्यसमितिको समय सकिएलगत्तै महाधिवेशन समयमै हुन्छ । किन सार्ने ? सार्ने कुरै छैन । तपाईं हामी सबै एक भएर त्यसमा लागौँ न !’ देउवाको भनाइ छ ।

कोइरालाले नियमित समयअनुसार महाधिवेशन हुँदा ०८२ को मंसिरमा १५औँ महाधिवेशन हुनुपर्नेमा जोड दिँदै पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि अबिलम्ब समितिहरू बनाउन देउवालाई आग्रह गरे ।

‘ठिक चार वर्षमा कांग्रेसको महाधिवेशन होस् । मैले यसो भनिरहँदा म यहाँ बिग्रिएको प्रणालीलाई ट्रयाकमा ल्याउने मनसायबाट यो कुरामा जोड दिइरहेको छु’, कोइरालाको भनाइ छ । 

प्रचण्डमाथि शर्मा र पुनको दबाब

माओवादी केन्द्रको बैठकमा पनि उपमहासचिवद्वय जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन दुवैले अध्यक्ष प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न दबाब बढाएका छन् । शर्मा र पुनको भाषा शैली फरकफरक भए पनि आशय प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने नै बुझिन्छ ।

माओवादी स्थायी कमिटी बैठकमा नेता शर्माले त लिखित डकुमेन्ट नै पेस गरेका छन् । ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा नेता शर्माले प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न र उनको भूमिकालाई सुनिश्चित गर्न अबको बाँकी समय वैचारिक र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका प्रचण्डले चाहेकै व्यक्तिलाई हस्तान्तरण गर्न सुझाव दिएका छन् ।

‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने,’ शर्माले आफ्नो दस्तावेजमा प्रचण्डप्रति प्रश्न उठाउँदै लेखेका छन्, ‘पार्टीलाई आम जनताबाट अलगथलग मात्र पारिएन, माथिदेखि तलसम्म परिवारवाद हावी गराइयो ।’

शर्माले मात्र होइन, पुनले पनि प्रचण्डको विकल्प खोज्नेबेला भइसकेको बैठकमा बताएका छन् । ‘अबको नेतृत्व अविच्छिन्न हुनु हुँदैन । एक कार्यकाल वा दुई कार्यकालको व्यवस्था विधानमा राखौँ’, पुनले बैठकमा भनेका छन्, ‘अध्यक्षज्यूले जनयुद्धपूर्वदेखि शान्ति प्रक्रियासम्म अविच्छिन्न रूपमा ३५ वर्ष नेतृत्व लिने अवसर पाउनुभयो । अब त्यस्तो हुनुहुँदैन । अहिले नै नेतृत्वको विकल्प खोज्ने बेला आएको छैन । तर, कार्यकारी तोक्ने गरी विधानमै उल्लेख गर्नुपर्छ ।’

नेतृत्वमाथि साझा प्रश्न

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ नेपाली कांग्रेस र माओवादी केन्द्र दुवै पार्टीमा नेतृत्व परिवर्तनबारे साझा प्रश्न उठेको बताउँछन् ।

‘कांग्रेसमा छुट्टै र माओवादीमा छुट्टै मेलो छ । तर दुवैतिर नेतृत्वमाथि साझा प्रश्न उठेको छ’, श्रेष्ठले रातोपाटीसँग भने, ‘कांग्रेस नवउदारवादी बाटोमा चल्ने, माओवादी केन्द्र समाजवादी बाटोमा चल्ने भएकाले यी पार्टीभित्र चलेका बहस अलगअलग हुन् ।’

विश्लेषक श्रेष्ठले माओवादीको हकमा उठेको प्रश्नमा यदि अब पनि नेतृत्वले गम्भीरतापूर्वक लिएन र आत्मसमीक्षा गरेन भने पार्टी भड्खालोमा जाने निश्चित रहेको बताए ।

‘के कारणले माओवादीको मत प्रतिशत घट्दैघट्दै ११÷१२ मा आइपुगेको हो भनेर मूल्याङ्कन गरेन भने आगामी निर्वाचनमा माओवादी योभन्दा पनि तल जान्छ’, उनले भने, ‘किनभने माओवादी पार्टी जनताबाट अलग्गिएको छ ।’

श्रेष्ठले माओवादीको वर्गआधार भनेको वर्किङ क्लास (निम्न मध्यमवर्ग) भएको भन्दै उत्पीडित समुदाय आधार भए पनि त्यो वर्गको प्रतिनिधित्व माओवादीले गर्नै छाडेको बताए ।

‘माओवादीले व्यक्ति नेतृत्वसहित छोडेको वर्गआधार समात्नुपर्छ भनिएको हो । वर्गआधार समातेन भने या त कांग्रेस एमालेजस्तो हुनजान्छ या समाप्त हुन्छ’, उनले भने, ‘त्यसकारण माओवादीका सामुन्ने ठुलो चुनौती र अवसर दुवै छ । सरकारबाट बाहिरिएपछि आफूलाई फेर्ने र आफूलाई आत्मसमीक्षा गर्ने अवसर माओवादीमा छ । किनभने सरकारमा बसेर त्यो काम गर्न सकिँदैनथ्यो । यसरी मिलेको अवसरमा उसले गर्नुपर्ने काम गर्छ या गर्दैन भन्ने कुरामा भर पर्छ ।’

विश्लेषक श्रेष्ठले माओवादीमा प्रचण्डको विकल्पमा थुप्रै नेताहरू रहेको दृष्टान्त पेस गरे । ‘जनार्दन शर्मा, वर्षमान पुन र नारायणकाजीहरू प्रचण्डसरह नै नेतृत्व गर्न सक्छन्’, उनले भने, ‘तर प्रचण्डले सहजै नेतृत्व हस्तान्तरण गर्ने सम्भावना छैन । उहाँमा त्यो इच्छा पनि छैन ।’

पार्टीभित्र आम रूपमा मूल नेतृत्वमाथि धेरैै असन्तोष बढिसकेको भन्दै श्रेष्ठले त्यो सम्हालिनसक्नुकै अवस्थामा पुग्न लागेको टिप्पणी गरे । ‘किनभने युद्धकालीन स्कुलिङबाट आएको पार्टीमा नेतृत्वबारे यसरी बैठकमै हाकाहाकी भन्नु निकै ठुलो परिघटना हो’, श्रेष्ठले भने, ‘अहिलेको अवस्थामा माओवादीमा प्रचण्डसहित भएर पार्टीले कहाँकहाँ समाजवादी बाटो बिरायो ? भनेर आत्मसमीक्षा गर्नुपर्ने देखियो । प्रचण्डसहित मूल्याङ्कन भयो भने बल्ल यहाँयहाँ गल्ती भएछ, अब सच्याउनुपर्छ भन्ने हो ।’

प्रचण्डले नसच्याएको खण्डमा बाँकी नेताहरूले आँट गर्नुपर्ने श्रेष्ठको सुझाव छ । उनले अहिले नेपालमा निम्न मध्यम वर्ग र वर्किङ क्लास ७० प्रतिशत हाराहारीमा रहे पनि त्यसको प्रतिनिधित्व गर्ने पार्टी नै नरहेको बताए ।

श्रेष्ठले कांग्रेस पुँजीपति वर्गको पार्टी भएको र ऊ त्यो वर्गसँग नअलग्गिएको बताए । ‘जुन वर्गको नेतृत्व गर्ने हो, त्यो वर्गसँगै छ कांग्रेस’, श्रेष्ठले कांग्रेस र माओवादीमा फरक छुट्ट्याउँदै भने, ‘कांग्रेसको वर्गआधार भनेको मिडिल क्लास र हाइअर मिडिल क्लास हो । त्यो वर्गको कांग्रेसले अहिले पनि प्रतिनिधित्व गर्छ । कांग्रेसमा व्यक्तिको नेतृत्वमात्र बदल्नुपर्छ भनिएको हो । शेरबहादुर देउवा धेरै बुढा भए र असक्षम पनि भएकाले बदल्नुपर्छ भनिएको हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप