बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

ओलम्पिकमा स्वर्ण जित्ने खेलाडीलाई ससुराले दिए भैँसी पुरस्कार

सोमबार, २८ साउन २०८१, १५ : १२
सोमबार, २८ साउन २०८१

काठमाडौँ । फ्रान्सको राजधानी पेरिसमा सम्पन्न ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा स्वर्ण पदक जित्ने पाकिस्तानी खेलाडी अरशद नदिमले आफ्नो देशमा गजबको पुरस्कार पाएका छन् । ओलम्पिकमा उनले एथलेटिक्सको पुरुष ज्याभलिन थ्रो स्पर्धामा आफूभन्दा प्रभावशाली प्रतिद्वन्द्वीहरुलाई पछि पार्दै स्वर्ण पदकमाथि कब्जा जमाएका थिए ।

स्वर्णको बलियो दाबेदारका रूपमा हेरिएको भारतीय खेलाडी निरज चोपडालाई पछि पार्दै उनले स्वर्ण चुमेका थिए । अरशद नदिमले स्वर्ण पदकसँगै ओलम्पिकमा नयाँ कीर्तिमान पनि बनाए । उनले एसिया र ओलम्पिकको कीर्तिमान एकैपटक भंग गरे ।

पेरिस ओलम्पिकमा पाकिस्तानले जितेको यो एकमात्र पदक हो । यही एउटा स्वर्णले पाकिस्तानलाई पदक तालिकामा भारतभन्दा पनि माथि उभ्याउन मद्दत पु-यायो । भारतले पेरिस ओलम्पिकमा एक रजत र पाँच कांस्य पदक जितेको छ ।

स्वर्ण पदक जितेर स्वदेश फर्किएपछि अरशद नदिमले एकपछि अर्को पुरस्कार पाएका छन् । पाकिस्तान सरकारले उनले ५० हजार अमेरिकी डलर पुरस्कार दिएको छ । अन्य संघसंस्थाबाट पनि उनले एकपछि अर्को पुरस्कार पाइरहेका छन् ।

यसैक्रममा उनले पुरस्कारको रूपमा भैँसी पनि पाएका छन् । उनलाई भैँसी पुरस्कार सरकारले वा अन्य कुनै संघसंस्थाले दिएका होइनन् । यो पुरस्कार उनले आफ्ना ससुराबाट पाएका हुन् । अरशद नदिमलाई उनका ससुरा मुहम्मद नवाजले भैसी पुरस्कार दिने घोषणा गरेका हुन् ।

ससुरा मुहम्मद नवाजले यस्तो घोषणा सञ्चारमाध्यममार्फत गरेका हुन् । खासमा अरशद नदिमको गाउँमा भैँसी पुरस्कार दिइनुलाई निकै सम्मानित रूपमा हेरिन्छ । ‘ओलम्पिकमा स्वर्ण पदक जिते पनि उनी आफ्नो माटोसँग जोडिएका व्यक्ति हुन् । त्यसैले मैले उनलाई भैँसी पुरस्कार दिने घोषणा गरेको हुँ,’ उनले भनेका छन् ।

अरशद नदिमको ससुराका चार छोरा र तीन छोरी छन् । त्यसमध्ये सबैभन्दा कान्छी छोरी आयशासँग अरशद नदिमले विवाह गरेका हुन् । ‘जब मैले ६ वर्षअघि आफ्नी छोरीको विवाह अरशद नदिमसँग गर्ने निर्णय गरेँ त्यतिबेला उनी सामान्य नोकरी गर्थे । उनले खेलाडी बन्ने सपना पालेका थिए । उनी आफ्नो घर वरपर र खेतमा भाला फालेर खेलको अभ्यास गर्थे,’ अरशद नदिमका ससुराले भनेका छन् ।

२७ वर्षीय अरशद नदिम अत्यन्तै गरिब परिवारबाट आएका खेलाडी हुन् । ओलम्पिकमा स्वर्ण जित्ने सपना साकार पार्न उनले निकै ठुलो सङ्घर्ष गर्नु परेको थियो । उनको जन्म पन्जाबी राजपुत परिवारमा भएको थियो । उनका पिता निर्माण मजदुरको रूपमा काम गर्थे ।

आफ्ना बाबु–आमाको आठ सन्तानमध्ये उनी साइला छोरा हुन् । आफ्नो परिवार चलाउन उनका पिताले निकै सङ्घर्ष गर्नु पर्ने अवस्था थियो । विद्यालयमा अध्ययन गर्दादेखि नै उनी खेलकुदप्रति बढी आकर्षित हुन्थे । विद्यालयमा अध्ययन गर्दा उनी क्रिकेट, ब्याडमिन्टन, फुटबल र एथलेटिक्स खेल्थे ।

तर, बिस्तारै उनी अरू खेल छाडेर एथलेटिक्सतर्फ एकोहोरिएका थिए । खासगरी उनका पिता मुहम्मद असरफले उनलाई ज्याभलिन थ्रो खेल्न प्रोत्साहित गरेका थिए । उनले सन् २०१६ मा भारतको गवाहाटीमा सम्पन्न दक्षिण एसियाली खेलकुदमा पनि स्वर्ण पदक जितेका थिए । त्यो उनको पहिलो ठुलो अन्तर्राष्ट्रिय सफलता थियो ।

पेरिस ओलम्पिक सुरु हुनुभन्दा चार महिना अघिसम्म पनि उनीसँग नयाँ भाला किन्न पैसा थिएन । उनका पिताले आफ्नो छिमेकीसँग सापटी लिएर उनका लागि खेल सामाग्री खरिद गर्थे । ओलम्पिकमा स्वर्ण जितेपछि उनी आफैले आफ्नो विगत स्मरण गरेका हुन् ।

पेरिस ओलम्पिकको अभ्यासका क्रममा उनले आठ वर्षभन्दा पुरानो भाला प्रयोग गरेका थिए । त्यो भाला उनले सन् २०१५ मा पाएका थिए । त्यतिबेला उनले भर्खरै अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी सुरु गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप