आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

‘सतीदेवी’ले छोरीको दृष्टिकोणबाट कथा भन्छ : मलिका

सोमबार, २८ साउन २०८१, १५ : ०९
सोमबार, २८ साउन २०८१

काठमाडौँ । अभिनेत्री मलिका महत पछिल्लो समय फिल्म ‘सतीदेवी’को कारण चर्चामा छिन् । २०७५ ‘यात्रा’ फिल्मबाट अभिनय थालेकी महतको ‘सतीदेवी’ चौथो फिल्म हो । 

आजको अवस्थासम्म आउँदा उनी अझ धेरै परिपक्क भएकी छन् । जसले गर्दा उनलाई ‘सतीदेवी’मा  केन्द्रीय भूमिका मिलेको छ । आफू केन्द्रीय भूमिकामा भएपछि फिल्म चलाउनुपर्ने दबाब उनलाई छ । तर उनी फिल्म टिमवर्क भएकोले एकको बलमा भन्दा टिमको बलमा फिल्म चल्ने बताउँछिन् ।

‘मैले मात्र राम्रो गरेर पनि हुन्न । फिल्म राम्रो भएर मेरो काम ध्वस्त छ भने पनि हुँदैन’, उनले भनिन्,‘सबै पक्ष उस्तै राम्रो हुनुपर्छ ।’ ‘सतीदेवी’ छोरीको दृष्टिकोणबाट भनिएको कथामा बनेको फिल्म भएकोले सफल हुनेमा आफू विश्वस्त रहेको उनको भनाई छ । 

‘यो महिला प्रधान फिल्म हो । छोरा र छोरीबिचको भेदभावको कथामा फिल्म बनाएका छौँ । यो हाम्रो समाजको यथार्थ कथा हो । त्यसलाई छोरीको दृष्टिकोणबाट देखाइएको छ,’ उनले थपिन् ।

स्क्रिप्टलाई सबैभन्दा महत्त्वपूर्ण मान्ने गरेकी मलिका ‘सतीदेवी’को स्क्रिप्ट एकपटक पढ्नसाथ काम गर्न राजी भएकी रहेछिन् । स्क्रिप्ट पढ्ने बितिक्कै यो छाड्नु हुँदैन भन्ने भएकोले फिल्म अभिनय गरेको उनले बताइन् ।  आफूले अहिलेसम्म अभिनय गरेको फिल्म मध्य बलियो  ‘सतीदेवी’ भएको उनको धारणा छ । 

लक्ष्मण सुवेदीले निर्देशन गरेको ‘सतीदेवी’मा मलिकाको अलावा सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटाको साथमा बालकलाकार हर्षिका वली र मन्जिला बानियाँ प्रमुख भूमिकामा छन् ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्म श्रीदेवी सुवेदीले निर्माण गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप