राम कार्कीको सुझाव– पदाधिकारी केन्द्रीय सरकारमा जान बन्द गर्नुपर्छ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वैचारिक नेता तथा सचिव राम कार्कीले पार्टी पदाधिकारी केन्द्रीय सरकारमा जान बन्द गर्नुपर्ने बताएका छन् । चार दिनदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी माओवादी स्थायी समिति बैठकमा नेताहरूले नीति र नेतृत्वको विषयमा गरमागरम बहस गरिरहेको बेला कार्कीले फरक तर्क गरेका हुन् ।
रातोपाटीसँग कुराकानी गर्दै सचिव कार्कीले पुँजीवादी सरकारमा बसेर समाजवादी कार्यक्रम लागु गर्न नसक्ने भएपछि सरकारमा पदाधिकारीहरू जानुको औचित्य नहुने बताए । ‘पदाधिकारी केन्द्रीय सरकारमा जाने कुरा बन्द गर्नुपर्छ । केन्द्रीय सरकारमा अन्यलाई पठाइदिऊँ । हामीले समाजवादी कार्यक्रम लागु गर्न सकेनौँ भने सरकारलाई धेरै महत्त्व दिन भएन ।’
यसको विकल्पमा केन्द्रीय सदस्य वा श्रमिक, महिला, किसान नेतालाई केन्द्रीय सरकारमा पठाउनुपर्नेमा उनले जोड दिए ।
‘केन्द्रीय सरकारमा बिचका नेतालाई पठाऔँ । जो मजदुर, किसान, महिलामा काम गरेकालाई लैजानुपर्छ । मुख्य नेताले सत्तामा गएर झुन्डिने क्रम सकिएपछि धेरै नियन्त्रण हुन्छ’, उनले भने, ‘केन्द्रीय सदस्य वा श्रमिक नेताहरू सरकारमा जाने, ठुला नेता संसद् वा स्थानीय सरकारमा भएपछि बदमासी गर्न डराउँछन् । यसले गर्दा पार्टीको नियन्त्रण पनि राम्रो हुन्छ ।’
वर्तमान नेतृत्व र संगठनबाट सर्वहारा वर्गको अधिनायकत्व स्थापित हुन्छ भन्ने प्रश्नमा कार्कीले त्यो तागत राख्न नसके अर्को माओवादी जन्मिने जिकिर गरे ।
‘त्यो तागत राख्न नसके त्यसको ठाउँमा अर्को आउँछ । त्यो मुद्दा बोकेर अर्को आउँछ । समाज कहिल्यै रिक्त रहँदैन । माओवादीले यी मुद्दा अगाडि लान सकेन भने अर्को आउँछ’, उनले भने, ‘अहिलेको स्थितिमा त्यो ठाउँ एमालेले लिन सक्दैन । दलित, महिला, किसान मुक्तिका कुरा कांग्रेसले बोकेर हिँड्दैन वा रास्वपा र राप्रपाले बोकेर हिँड्दैन । कि माओवादी सुध्रिनु प¥यो कि अर्को शक्ति आउनुपर्यो ।’
मुख्य कुरा अहिले जुन पुँजीवाद व्यवस्था छ, त्यसलाई रङरोगन गर्ने, त्यसलाई डेन्टिङ–पेन्टिङ गर्ने बेलासम्म सुध्रिन नसक्ने भएकाले यसलाई रेट्रोफिटिङ गर्ने गरी समाजवादमा गएमा पार्टी बदलिन थाल्ने कार्कीको विश्वास छ ।
- समस्या कहाँ देखियो ?
कार्कीले वामपन्थी नेतृत्वको सरकारमा पनि मौलिक र भिन्न प्रकारको सुधारको स्थिति नदेखिएको बताए । जमिनको वर्गीकरण (सहर, आवास, कृषि, वन)लाई छुट्ट्याउनेगरी विभाजन हुन नसकेको, किसानको वर्गीकरण (धनी, गरिब, मध्यम)मध्ये गरिबभन्दा गरिब किसानलाई के दिन सकिन्छ ? तिनीहरूलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भनेर वामपन्थी सरकारले नीति बनाउन नसक्नु कमजोरी रहेको उनको भनाइ छ ।
असंगठित मजदुरहरू ईंटा बोक्ने, बनाउने, गिट्टी कुट्ने आदि मजदुरलाई कम्तीमा नगरपालिका वा गाउँपालिकाको तर्फबाट प्रमाणपत्र दिने र, त्यो प्रमाणपत्रको आधारमा उनीहरूलाई रासन, स्वास्थ्य, बीमाको सुविधाजस्ता कार्यक्रम नसमेटेकोमा उनले त्रुटि औँल्याए ।
- समाजवादमा कसरी जाने ?
समाजवादले ‘विश्वास गर्ने कुरामा विश्वास नगर’, भन्ने गरेको तर्क पेस गर्दै कार्कीले भने, ‘समाजवादले शङ्का गर, प्रश्न, जिज्ञासा राख, कुनै कुरामा पनि विश्वास नगर । प्रमाणित ज्ञानलाई स्वीकार गर भन्छ । त्यसैले शिक्षा, शिक्षा प्रणाली, यससम्बन्धी सोचमा, पाठ्यक्रममा, शिक्षकको तालिममा ठुलो परिवर्तन ल्याउनुपर्थ्यो । समाजवादमा जाने हो भने अहिले ८ कक्षादेखि नै पाठ्यक्रम परिमार्जन गर्नुपर्छ । तालिमसँगसँगै जीवन उपयोगी विभिन्न प्रकारको सिप सिकाउनुपर्छ ।’
श्रम र शिक्षालाई जोड्न आवश्यक रहेको कार्कीको भनाइ छ । शिक्षित मान्छेले गर्ने श्रम र केही तालिम नलिएकाले गर्ने श्रममा फरक पर्ने भन्दै उनले श्रम र शिक्षाको बिचमा एउटा द्वन्द्वात्मक सम्बन्ध रहनेतर्फ ध्यान दिनुपर्ने बताए ।
समाजवादमा जानका लागि किसान, मजदुरहरूको पक्षपोषण गर्ने, शिक्षामा ठुलो परिवर्तन ल्याउनुपर्ने कार्कीको तर्क छ । नेपालमा रहेको संस्कारले समाजलाई अगाडि बढ्न नदिएको उनको भनाइ छ ।
‘आफ्नो मान्छे भन्ने, नातावाद गर्ने, कृपावाद गर्ने, कोसेली खाने, घुस खाने यो संस्कार रह्यो । यसलाई तोड्ने खालको शिक्षातर्फ जानुपर्छ,’ उनले भने, ‘पारदर्शी खालको जीवन बिताउन प्रोत्साहित गर्नुपर्छ । कामको सिलसिलामा धेरै–थोरै जति खाए पनि पारदर्शी हुनुपर्छ । जनताले नखानोस् भन्दैन । उनीहरूले चोरेर नखाऊ, ढाँटेर नखाऊ भनेका छन् ।’
माओवादी बैठकको सुरुमै बोलेका उनले समाजवादी विचारको विकास, पार्टी निर्माणको साथसाथै नेतृत्वको विकल्पमा समेत आफ्ना विचार राखे ।
यसपटक कार्कीजस्तै अन्य नेताले पनि ०७० देखि पार्टी लगातार ओरालो लागेको, संसदीय निर्वाचनमा एक्लै भिड्न सक्ने सामर्थ्य गुमाएको, नेतृत्वले नै गुटबन्दी गरेको, पार्टीभित्र फरक विचारलाई स्विकार्न नसकेको, नेताहरूको जीवनशैली पुँजीवादी हुँदै गएको, जनताबाट पार्टी अलग भएको लगायत विषय उठाएका छन् ।
यद्यपि अध्यक्ष प्रचण्डको विकल्प तत्काल खोज्ने स्थितिमा नेताहरू नरहे पनि उत्तराधिकारी बनाएर जाने वा विधान संशोधनमार्फत नयाँ नेतृत्वको सुनिश्चित हुने वातावरण बनाउने गरी अघि बढ्न जोड दिएका छन् ।
तर प्रचण्ड तत्कालै नेताहरूको विचार मान्न तयार देखिएका छैनन् । कसैले चाहँदैमा तत्कालै नेतृत्व परिवर्तन नहुने स्पष्ट पार्दै उनले त्यसका लागि वर्ग संघर्ष, वैज्ञानिक प्रयोग, विभिन्न कालखण्डमा खेलेको भूमिका र परिस्थितिको आवश्यकताले नेतृत्व जन्मिने धारणा बैठकको प्रारम्भमै राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसले उत्तर कोरियालाई दियो १० लाख ब्यारेल तेल
-
सम्बन्ध विच्छेद पछिको पहिलो पोष्ट, के कारण खुसी छन् एआर रहमान ?
-
काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति
-
डा. बाबुराम भट्टराईको ‘समृद्ध समाजवाद’ अवधारणा : सम्भावना र सीमाहरू
-
सरकारले मधेसको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको विकासमा ध्यान नदिएको प्रभु साहको आरोप
-
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ : अर्थमन्त्री पौडेल