बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

डेंगुबाट मृत्यु हुनेको सङ्ख्या शून्यमा झार्ने सरकारी लक्ष्य विफल

डेंगु र हैजा कसरी फैलिँदैछ ?
सोमबार, २८ साउन २०८१, १० : ०२
सोमबार, २८ साउन २०८१

काठमाडौँ । डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शून्यमा झार्ने सरकारी लक्ष्य विफल भएको छ । पछिल्लो पटक ३ हजार ८४ डेंगु सङ्क्रमितमध्ये एक जनाको मृत्यु भइसकेको छ ।

सन् २०२३ मा ५१ हजार २४३ जनामा डेंगु सङ्क्रमण भएकोमा २० जनाको मृत्यु भएको थियो । यस्तै, सन् २०२२ मा ५४ हजार ७८४ जनामध्ये ८८ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव, एउटै क्षेत्रको मात्रै दायित्व बुझ्ने परिपाटी, आम नागरिक सचेत नरहनुजस्ता कारणले सङ्क्रमण र मृत्युदर बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । ‘अस्तिसम्म हामीले रोकेको हो,’ उनले भने, ‘हामीसँग पर्याप्त मात्रामा जनशक्ति छैन । काम गर्न समस्या छ । डेंगु रोकथाम एउटै क्षेत्रको मात्रै दायित्व होइन, सम्पूर्ण क्षेत्र जोडिएको छ ।’

मन्त्रालयले डेंगु बढ्ने समयमा स्वास्थ्यकर्मीलाई तालिम दिने, स्थानीय तहलाई प्राविधिक सहयोगका साथै झकझक्याउने लगायत कार्य गर्दै आएको छ । ‘सरकारी निकायबाट पहल गरेरमात्रै डेंगु नियन्त्रण हुँदैन,’ उनले भने, ‘नागरिक आफैँ सचेत हुनुपर्छ ।’

  • डेंगु र हैजा कसरी फैलिँदैछ ?

नेपालमा पछिल्लो समय हैजा र डेंगुको सङ्क्रमण बढ्दो छ । हैजा सङ्क्रमण छिटो फैलिने भएकाले एक जनामा पुष्टि हुनासाथ मेडिकल भाषामा ‘आउट ब्रेक’ भनिन्छ । व्यक्तिगत सावधानी नअपनाउँदा डेंगु र पिउने पानीमा निगरानी हुन नसक्दा हैजा जस्ता रोग फैलिने विज्ञहरूले बताएका छन् ।

डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् । यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार सङ्क्रामक रोग नियन्त्रण गर्न सबै पक्षको भूमिका रहन्छ । ‘डेंगु र हैजा वा अन्य सङ्क्रामक रोग एक निकायले मात्रै नियन्त्रण गरेर हुँदैन,’ उनले भने, ‘यसलाई नियन्त्रण गर्न व्यक्तिगतदेखि सामुदायिक र संघदेखि स्थानीय निकायको महत्त्वपूर्ण भूमिका छ ।’

सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले हैजा व्यावसायिक पानीबाट र डेंगु सावधानी नअपनाउँदा फैलिने गरेको बताए । ‘रेडी टु ड्रिङ्क अर्थात् व्यावसायिक पानीमा हैजा सङ्क्रमण गराउने दिसाजन्य पदार्थ फेला परेको समाचार आएको छ । पिउने पानीमा हैजा गराउने पदार्थ भेटिनुको अर्थ व्यावसायिक पानीबाटै हैजा सरेको हो,’ उनले भने, ‘मनसुन सुरु भए लगत्तै लामखुट्टेको लार्भा नष्ट गर्ने भनेर सुझाएका हौँ । त्यो नगर्दा सङ्क्रमण देखिन थाल्यो ।’

मनसुन सक्रिय भएकाले हैजा, डेंगु लगायत पानीजन्य विभिन्न रोगको सङ्क्रमण अझै बढ्ने सम्भावना रहेको पुनले बताए ।

  • डेंगु सङ्क्रमण अझ बढ्न सक्ने

विज्ञहरूले डेंगु सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरेका छन् । मन्त्रालयका प्रवक्ता बुढाथोकीले पानी लगातार परिरहेकाले डेंगुको जोखिम थप निम्तिने बताए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत साता २ हजार ३६५ जना डेंगु सङ्क्रमित भएकोमा ७१९ जना नयाँ सङ्क्रमित थपिएर ३ हजार ८४ जना पुगेको हो । देशका ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । यस्तै एक जनाको मृत्यु पनि भइसकेको ईडीसीडीले जनाएको छ ।

मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको ईडीसीडीले जनाइएको छ ।

के हो डेंगु र कसरी जोगिने ?  

डेंगु रोग लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । डा. पुनका अनुसार एडिज प्रजातिको लामखुट्टेले डेंगु सार्दछ ।

गर्मी एवं वर्षाको समयमा योे लामखुट्टेको प्रजनन् गर्ने वातावरण अनुकूल हुने भएकाले यो सिजनमा डेंगु बढी देखिन्छ । त्यसैले डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो ।

एडिज लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने गर्छ । त्यसैले घर आसपासमा पानी जम्ने ठाउँ हुन दिनुहुँदैन । पानी राखिएको भाँडा खुला छाड्न नहुने विज्ञ सुझाउँछन् । झ्यालढोकामा जाली लगाउने, शरीर पूरा ढाक्ने गरी लुगा लगाउन डा. पुनको सुझाव छ ।

  • पाँच जिल्लामा हैजा सङ्क्रमण बढ्ने अनुमान

देशभर ललितपुर, काठमाडौँ, कैलाली, प्युठान र रुपन्देही गरी पाँच जिल्लामा हैजा फैलिएको छ । यो सङ्क्रमणको क्षेत्रफल र सङ्ख्या अझै बढ्न सक्ने विज्ञहरूको आकलन छ । मनसुन सक्रिय, पानीको नियमन नभएकाले हैजा फैलन सक्ने डा. पुनको अनुमान छ ।

ईडीसीडीका अनुसार देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएकोमा सबैभन्दा बढी ललितपुरमा ३४ जना सङ्क्रमित छन् । यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना, प्युठानका २ र रुपन्देहीका १ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । 

बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन चिकित्सकहरूले आग्रह गरेका छन् । 

  • हैजा के हो र कसरी जोगिने ?

इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख डा. मुकेश पौडेलका अनुसार पानीजन्य रोग अन्तर्गत हैजा पर्दछ । पानी र खाने कुरामा हैजाको जीवाणु मिश्रित भएमा यो रोग फैलिन्छ ।

खासगरी सङ्क्रमित व्यक्तिको दिसामा रहेको जीवाणु खानेकुरासम्म आइपुग्ने र पानी वा खाने कुरा प्रदूषित भइसकेपछि मानिसले सेवन गर्दा हैजा रोग लाग्दछ । बर्खामा हैजा लाग्नुको मुख्य कारण पानी प्रदूषण हुनका साथै व्यक्तिगत सरसफाइ नहुनु रहेको डा. पौडेलले बताए ।

विगतका वर्षमा पनि फाट्टफुट्ट हैजाका बिरामी देखिएका थिए । तर यो वर्ष एकै ठाउँ धेरै ठाउँमा देखिन थालेको छ ।

डा. मुकेश पौडेलले व्यक्तिगत हाइजिन, खाने पानीको हाइजिन, वितरण गरिने पानीको हाइजिन व्यवस्थापन हुन गर्न सुझाएका छन् । यो विषयलाई ध्यान दिनसके हैजाबाट जोगिन सकिन्छ । पिउने पानीमा शुद्धता व्यवस्थापन हुन नसकेको देखिन्छ ।

‘हैजाको जीवाणु छन् । यसबाट जोगिन प्रिभेन्टिभ मेजर अपनाउनुपर्छ । बाहिरको खानेकुरा खाँदा सावधानी अपनाउनुपर्ने देखिएको छ,’ पौडेलले भने, ‘हैजाको जीवाणु हाइजिन व्यवस्थापन गर्न नसकेको ठाउँहरूमा देखिएको छ । जो मान्छेले अलिकति व्यक्तिगत सरसफाइमा ध्यान दिएको छैन, जसले हाइजिन मेन्टेन गरेन, जसले जथाभाबी खाएको छ, त्यस्ता मानिसमा हैजा देखिने धेरै सम्भावना हुन्छ ।’

बर्खायामको समय पानी शुद्धीकरण गरेर मात्रै पिउनु पर्ने, पानी उमालेर पिउने यो रोगबाट बच्ने मुख्य उपाय रहेको उनको भनाइ छ । खाना बनाउनुअघि, बच्चाहरूलाई खुवाउनु अघि अनिवार्य हात धुन डा. पौडेल सुझाउँछन् । ‘सडेगलेका खानेकुरा नखाने, खाद्य स्वच्छतामा विशेष ध्यान दिनुपर्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप