शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
गाईजात्रा

‘नेताको गाईजात्राले पीडा, हाम्रोले खुसी दिन्छ’

सोमबार, २८ साउन २०८१

काठमाडौँ । कमल गाउँले नेपाल कलाक्षेत्रका चर्चित अनुहार हुन् । चलचित्र, टेलिचलचित्र होस् वा म्युजिक भिडियो, सबैमा उनको उपस्थिति देख्न सकिन्छ । 

केही वर्ष अघिसम्म उनी तिज गीतका म्युजिक भिडियोमा निकै छाउँथे । प्रायः गीतमा उनी जँड्याहाको भूमिकामा देखिन्थे । अचेल भने उनी ओझेलमा छन् । काम दिनले बेवास्ता गर्दा आफू फुर्सदिलो बनेको उनी बताउँछन् ।

अरू बेला हराए पनि उनी हरेक वर्ष गाईजात्रामा भने देखिने गर्छन् । विगत २५ वर्षदेखि उनको गाईजात्रे कोसेली नियमित आइरहेको छ । यस वर्षका लागि उनले २४औँ कोसेलीका रूपमा ‘भीषण ८४’ सार्वजनिक गरेका छन् । 

राजनीतिदेखि सामाजिक विषयसम्ममा व्यङ्ग्य गरिएको ‘भीषण ८४’ ले अहिले दर्शकको मन जितिरहेको छ । दाङको घोराही उप–महानगरपालिकाको रझेनामा जन्मिएका गाउँलेसँग रातोपाटीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

  • पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?

– यो वर्षको गाईजात्राका लागि ‘भीषण ८४’ नामक कोसेली ल्याएको छु । अहिले म गत बिहीबार सार्वजनिक कोसेलीकै प्रचारप्रसारमा लागेको छु । त्यसको अलावा राष्ट्रिय नाचघरमा ‘गाईजात्रा महोत्सव २०८१’ आयोजना हुँदैछ । त्यसका लागि खबर आएको छ । त्यसको तयारी पनि गर्दैछु ।

  • किन ल्याउनुभयो ‘भीषण ८४’ ?

– विगत २५ वर्षदेखि नियमित रूपमा गाईजात्राका लागि गाईजात्रे कोसेली केही न केही ल्याउँदै आएको छु । यसैको निरन्तरता लागि यो पटक ‘भीषण ८४’ बनाएको हो । दर्शकले मेरा यस्ता कोसेलीबाट हरेक वर्ष रमाउँदै आउनुभएको छ । यो वर्ष अलिकति ढिलो हुँदा दर्शकले सोधेर हैरान बनाउनुभएको थियो ।

  • के हो ‘भीषण ८४’ ?

– ‘भीषण ८४’ एउटा ‘गाईजात्रा’ का लागि भनेर तयार गरिएको हास्यव्यङ्ग्यको खुराक  हो । यसमा राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिदेखि आर्थिक गतिविधिमाथि पनि व्यङ्ग्य गरिएको छ ।  अहिलेको राष्ट्र निर्माणमा देखिएको ‘हिरो’ भनेको बालेन शाह हुन्  । उहाँले काम गरेर देखाउनु भएको छ । उहाँलाई काम गर्न दिऔँ भनेको छु । हिजोदेखिको देशको रोग भ्रष्टाचारमाथि पनि प्रहार गरेको छु । यसमा एउटा प्यारोडी गीत पनि छ । सडक कवि शम्भु दाहालबाट प्रेरित मैले उहाँकै शैलीमा यो ‘भीषण ८४’ ल्याएको छु । 

  • अचेल कमल गाउँले गाईजात्रामा मात्र झुल्किन्छ भन्छन् नि ?

– यो कुरा सही हो । अचेल लामो समयदेखि म आफ्नो गाईजात्रे कोसेलीमा मात्र देखिँदै आएको छु । कुनै समय म म्युजिक भिडियो, टेलिफिल्मदेखि फिल्मसम्म छाएको थिए । जँड्याहाको भूमिकामा यति फिट थिए कि ४ सय गीत त जँड्याहाको भूमिकामै छ । 

२५ वर्षदेखि मैले नियमित गाईजात्रा कोसेली ल्याउँदै आएको छु । अन्य समय नदेखेपनि दर्शकले गाईजात्रामा मलाई सधैँ देख्दै आएका छन् । बिचमा फ्याट्टफुट्ट काम नगरेको होइन । तर ती चर्चामा आएनन् ।

  • किन नियमित गाईजात्रे केसेली ल्याइरहनु भएको छ ?

– म कलाकार मात्र होइन, हास्यव्यङ्ग्यमा कलम चलाउने व्यक्ति हुँ । नेपालमा अभिनय गर्नेभन्दा बढी कलम चल्नेहरू अगाडि बढ्दा रहेछन् । लेख्ने र स्वर पनि भएको र वर्षभरि भएका विभिन्न घटनालाई एउटा गाईजात्रे कोसेलीमार्फत स्मरण गर्दा राम्रो होला भन्ने मेरो सोच हो ।

  • अन्य कलाकारले पनि गाईजात्रे कोसेली सार्वजनिक गरेका छन् । अरूको र तपाईंको कोसेलीमा भिन्नता के छ ?

– म सारेगमपको ७ वटा सुरको सबैभन्दा हाइस्पिडको सुरमा ल्याउने गर्छु । यो नै मेरो विशेषता हो । यसलाई तार सप्तक पनि भन्छन् । यो कराएर चिच्याउने स्केल विश्वमा चलेको छ । दर्शकले जुन अन्यको गाईजात्रामा पाउँदैनन् । गाईजात्राका लागि बनाउने कन्टेन्ट देशको राजनीतिदेखि सामाजिकसम्मकै हुन् ।

  • गाईजात्रामा व्यङ्ग्य गर्नैपर्छ र ?

– गाईजात्रा आफ्नो तरिकाले मनाए हुन्छ । हिजोको व्यवस्थामा खुलेर बोल्न, मन लागेको भन्न पाइँदैन थियो । त्यो समय एक दिन वाक स्वतन्त्रता दिवस भनेर मनमा लागेको कुरा खुलेर गर्ने, व्यङ्ग्य प्रहार गर्ने गरियो । हिजो अग्रजले गरेको परम्परालाई निरन्तरता दिन अहिले पनि गरिँदै आएको हो । अहिले नेपालमा दिनदिनै गाईजात्रा छ । वर्षमा एक दिन हुने गाईजात्राले केही महत्त्व राख्दैन ।  वर्षभरि नेताहरूले गर्ने गाईजात्राले सर्वसाधारणलाई पीडा दिन्छ भने हाम्रो गाईजात्राले हाँसो दिन्छ ।

  • व्यङ्ग्यले सम्बन्धित क्षेत्रमा कस्तो प्रभाव परेको देख्नु भएको छ ?

– त्यो जिरो छ ।  यसले व्यवस्था परिवर्तन हुने, उथलपुथल ल्याउने केही गर्दैन । दर्शक, श्रोतालाई केही क्षण खुसी गर्दै विगतमा पुर्‍याउँछ । 

  • तपाईंको व्यङ्ग्य हेरेर कुनै नेताले प्रतिक्रिया दिएका पनि छन् कि ?

– अहिलेसम्म छैन । किनभने उहाँहरूको यस्तो भन्ने फुर्सद पनि छैन । हामी सिंहदरबार सबैको हो भन्छौँ । तर जनतालाई सिंहदरबार छिर्न निकै सकस छ । 

  • यो पटकको गाईजात्रामा ‘भीषण ८४’ मात्र हो कि, अन्य केही पनि आउँछ ?

– अहिलेलाई ‘भीषण ८४’ मात्र भनौँ । ‘भीषण ८४’मा मैले व्यङ्ग्य प्रहार गरेर नेगेटिभ कुरा गरेको छु । केही समयपछि पोजेटिभ कुराको अर्को कोसेली ल्याउँछु, होला । 

  • कमल गाउँले कलाकारिताबाट हरायो भन्छन् नि ?  

– म सधैँभरि व्यस्त हुनुपर्ने कलाकार हो । किनभने दर्शकले मलाई निकै मनपराइदिनुहुन्छ । तर पब्लिकका माझ पुर्‍याउने च्यानल, सर्जक र व्यक्तिले यो कोही होइन, कि जस्तो मान्नुहुन्छ । पहिले पहिले तिजका गीत तथा अन्य प्राजेक्टमा जँड्याहा, काका, मास्टरलगायत भूमिकामा मलाई खोजिन्थ्यो । तर अहिले छैन । 

बलिउड, हलिउड सबै कलाक्षेत्रमा क्यारेक्टर कलाकारको महत्त्व ठुलो ठान्छन् । हाम्रोमा त्यो संस्कार छैन । नेपालमा हिरो हिरोइनको भ्यालु हुने तर क्यारेक्टर कलाकारको भ्यालु नहुने रहेछ । नेपालमा प्रतिभावान्ले भन्दा पनि निर्माता निर्देशक चिनेकाले बढी काम पाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया