शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
सन्दर्भ : अन्तर्राष्ट्रिय युवा दिवस

युवाको दायित्व र जिम्मेवारी

सोमबार, २८ साउन २०८१, ०६ : ४६
सोमबार, २८ साउन २०८१

आज अगस्ट १२ अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस । प्रत्येक वर्ष १२ अगस्टमा मनाइने अन्तर्राष्ट्रिय युवा दिवसले युवा पुस्ताको भूमिका, चुनौतीहरू र भविष्यको सम्भावनालाई उजागर गर्न महत्त्वपूर्ण अवसर प्रदान गरिरहेको छ । 

युनेस्कोका अनुसार, विश्वभर ६० लाखभन्दा बढी युवा शिक्षा प्रणालीबाट बाहिर छन् । यसका विभिन्न कारण छन् । तल्लो आय भएका देशहरू (खासगरी अफ्रिकी राष्ट्रहरू)मा युवाको बेरोजगारी दर उच्च छ । कोरोना महामारीको प्रभावले युवाहरूको मानसिक स्वास्थ्यमा ठुलो असर पारेको छ । कतिपय देशका युवामा डिप्रेसन, चिन्ता र अन्य मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढिरहेका छन् । 

आविष्कार गर्न, राजनीतिक परिवर्तन गर्न वा समृद्धि ल्याउन युवाहरूकै भूमिका विशेष हुन्छ । त्यस कारण युवाका बारेमा विभिन्न कोणबाट बहस हुन आवश्यक छ । 

  • नेपालमा युवाको अवस्था

हाम्रो देशमा विभिन्न समयमा राजनीतिक परिवर्तन गर्न युवाहरू आन्दोलन वा विद्रोहमा संलग्न हुँदै आए । निरंकुश जहानियाँ राणाशासन फालेर प्रजातन्त्र ल्याउन होस्, पञ्चायती व्यवस्था ढालेर बहुदलीय व्यवस्था ल्याउन होस् युवाकै अर्थात् युवा आन्दोलनकै भूमिका महत्त्वपूर्ण रह्यो । पछिल्लो समय निरंकुश राजतन्त्र फालेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पनि विभिन्न तहमा युवाहरूको बलिदानी रहेको छ ।

यतिखेर हामीकहाँ १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मानिन्छ । पछिल्लो जनगणना अनुसार यो उमेर समूहको जनसङ्ख्या ४२.५६ प्रतिशत (१,२४,१२,१२३) रहेको छ । यस्तै, कुल जनसङ्ख्यामध्ये १५ देखि ५९ वर्ष उमेर समूहको जनसङ्ख्या ६१.९६ प्रतिशत छ । जनसङ्ख्याको यो स्थिति अर्थात् काम गर्न सक्ने जनशक्ति यति ठुलो सङ्ख्यामा रहनुलाई जनसाङ्ख्यिक लाभांश मानिन्छ । समृद्धि श्रमबाट मात्रै सम्भव छ र श्रम गर्न सक्ने सबैभन्दा बढी क्षमता युवामै हुन्छ । 

नेपाली युवाहरूको शिक्षा, सीप र रोजगारीको वर्तमान अवस्था सन्तोषजनक छैन । जसले देशको सामाजिक र आर्थिक विकासमा प्रत्यक्ष असर पारेको छ ।

आधारभूत शिक्षा (कक्षा १–८) मा भर्ना दर ९० प्रतिशतभन्दा माथि छ तर एसईई उत्तीर्ण दर अत्यन्त कमजोर छ । यसमाथि शिक्षा र सीपको तालमेल छैन । विश्व बजारमा टिक्न सक्ने र बिक्न सक्ने शिक्षाको अभावले हाम्रा कलेजहरू बिस्तारै विद्यार्थीविहीन बन्दै गइरहेका छन् । अर्थात् अध्ययनसँगै अवसरको खोजीमा युवाको ठुलो पंक्ति बिदेसिने क्रम चलिरहेकै छ । 

युवाहरूको ठुलो हिस्सा वैदेशिक रोजगारीमा निर्भर छ, जसले गर्दा देशमा उत्पादनशीलता घटेको छ । औद्योगिक क्षेत्रको विकास ठप्प प्रायः छ । 

नेपाली समाजमा विद्यमान रुढिग्रस्त मूल्य–मान्यताबाट कतिपय युवा समेत ग्रसित छन् । कामलाई जात र लिङ्गका आधारमा छुट्ट्याउने पुरानो सोच केही हदसम्म समाजमा अझै पनि हाबी छ । लैङ्गिक असमानता र जातीय विभाजनले युवा पुस्तालाई समेत विभाजन गरेको अवस्था छ ।

नेपाली राजनीतिमा युवाहरूको राजनीतिक सहभागिता व्यापक छ । यद्यपि हरेक विद्रोहमा निर्णायक भूमिकामा रहेका युवाहरू नीति–निर्माण तहमा हस्तक्षेप गर्न चुकिरहेका छन् । युवाको अधिकारका लागि पनि हामीकहाँ अलि फराकिलो रूपमा बहस आवश्यक छ । 

हामीकहाँ १६ वर्षमा नागरिकता पाइन्छ तर १८ वर्ष पुगेपछि मात्रै मतदान गर्न पाइन्छ । स्थानीय तहमा २१ वर्ष, प्रदेश र प्रतिनिधि सभामा २५ वर्ष र राष्ट्रिय सभामा ३५ वर्ष उमेर तोकिएको छ । यस्तै ४५ वर्ष पुगेपछि मात्रै राष्ट्रपतिको उम्मेदवार हुन सकिन्छ । यस्ता प्रावधानले धेरै क्षमतावान् युवालाई बार–बन्देज भइरहेको छ । विज्ञता र परिपक्वता युवा उमेरमा हासिल गर्नै नसकिने होइन । मताधिकार भएको उमेरमा उम्मेदवार हुन पनि पाउनुपर्छ । यसो भयो भने युवाहरू कार्यकर्ता मात्रै होइनन्, नीति–निर्माता बन्न सक्छन् भन्ने मान्यता विकास हुन्छ । 

  • युवाको दायित्व 

युवाहरू संविधान, लोकतन्त्र र मानव अधिकारका विषयमा शिक्षित र सचेत हुनैपर्छ । युवाहरू जिम्मेवार नागरिक नबनी लोकतान्त्रिक व्यवस्था संस्थागत र बलियो हुँदैन । 

विभिन्न दल तथा क्षेत्रमा रहेका चेतनशील युवाले सामाजिक न्यायका लागि आवाज उठाउने मात्रै होइन, संघर्ष गर्नुपर्नेछ । श्रमको अधिकार, महिला अधिकार, बाल अधिकार, उत्पीडित र अल्पसङ्ख्यक समुदायका अधिकार आदिको संरक्षणका लागि युवाहरू सचेत र आन्दोलित हुन आवश्यक छ । संविधान, कानुन, नीति तथा कार्यक्रमहरूको कार्यान्वयनका लागि र आवश्यक नीति निर्माणका लागि राज्यलाई युवाहरूले झकझकाइरहनुपर्छ । 

युवाहरू प्रायः पारदर्शिता र उत्तरदायित्वका पक्षधर हुन्छन् । युवाको संलग्नता र युवाको आवाजले राजनीतिक र नीतिगत प्रक्रियामा पारदर्शिता बढाउन मद्दत पुर्‍याउँछ । युवाहरूले भ्रष्टाचार, अनियमितता, कुशासनका विरुद्धमा र सुशासनको पक्षमा सशक्त भूमिका खेलिरहेका छन् । जसले गर्दा राजनीतिक प्रणालीमा उत्तरदायित्वको भावना बढ्छ । नागरिक समाजमा विश्वसनीय वातावरण सिर्जना हुन्छ ।

नागरिक समाजले युवाहरूको राजनीतिक सहभागितालाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । राजनीतिक विश्लेषकले अनुमान गर्नै नसक्ने राजनीति होइन, सिंगो समाजले अनुमान गर्न सक्ने र समुदायले पत्याउने सुसंस्कारयुक्त राजनीति आजको आवश्यकता हो । 

राजनीति र नीति निर्माण तहमा युवाहरूको संलग्नता वृद्धि गर्नु सजिलो काम होइन । यसका लागि सरकार, राजनीतिक दल र नागरिक समाजले सहयोग गर्न आवश्यक छ । 

युवाहरूलाई प्रभावकारी रूपमा राजनीतिमा संलग्न गराउन सकियो भने देशको विकास, समृद्धि, लोकतन्त्र र सामाजिक न्यायमा महत्त्वपूर्ण भूमिका खेल्नेछन् । 

  • जिम्मेवारी

नेपाली राजनीति लामो समयदेखि एक किसिमले अस्थिर रहँदै आएको छ । एकातिर लगातार सरकार परिवर्तन भइरहन्छ, अर्कोतिर दलहरूबिचमा विभिन्न किचलो उब्जिरहन्छ; भ्रष्टाचार उस्तै छ । इत्यादि कारण युवाहरूमा राजनीतिक प्रणालीप्रति निराशा बढेको छ । धेरैजसो युवाहरू राजनीतिक स्थायित्व हुने वा देशमा समृद्धि आउनेमा विश्वस्त छैनन् । त्यसैले युवामा आशा जगाउन राज्यले र युवा स्वयंले पहलकदमी गर्नुपर्नेछ ।

नेपाली युवाहरूले सूचना प्रविधि (आईटी), विभिन्न एप र सफ्टवेयर लगायत क्षेत्रमा रुचि देखाएको र काम गरेको पनि देखिन्छ । 

हामीकहाँ राज्यले युवाका लागि गर्नुपर्ने जिम्मेवारी र युवाले राज्यका लागि गर्नुपर्ने जिम्मेवारी धेरै छन् ।

युवाले विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्ने हो भने देश छिटै समृद्धिको यात्रामा अगाडि बढ्न सक्छ । यसका लागि राज्यले युवालाई विज्ञान र प्रविधिका विषय पढाउन प्राथमिकता दिनुपर्छ । हामीलाई कृषि लगायत विभिन्न क्षेत्रमा प्रगति गर्न विज्ञान र प्रविधि आवश्यक छ । विज्ञान र प्रविधिलाई हाम्रो कृषि लगायत उत्पादनसँग जोड्नका लागि धेरै नै गर्न बाँकी छ । 

राष्ट्रिय उत्पादन बढाउनेदेखि वातावरण जोगाउने सम्मका काममा युवाको विशेष भूमिका रहन्छ । त्यसैले राज्यले राष्ट्रिय आवश्यकता हेरी युवा जनशक्ति उत्पादन गर्नुपर्छ ।

अर्कोतिर राजनीतिमा लागेका युवाले आफ्ना संगठनलाई सशक्त बनाउन जरुरी छ । संगठनात्मक संरचनालाई सुदृढ गर्न, स्पष्ट लक्ष्यहरू निर्धारण गर्न र दीर्घकालीन रणनीतिहरू तयार पार्न युवाले विशेष ध्यान दिनुपर्छ । यस्तो अभ्यासले नयाँ पुस्ताबाट नेता जन्मने सम्भावना बढ्छ ।

(लेखक राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णहरि केसी
कृष्णहरि केसी
लेखकबाट थप