१० बजे, १० समाचार
आज २०८१ साउन २७ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव राजनीतिक भेटघाटमा व्यस्त, भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद राख्ने विषयमा विवाद, माओवादी बैठकमा संगठन र नेतृत्वबारे निर्मम समीक्षा, कांग्रेस बैठकमा प्रस्तावित ११ एजेण्डामा छलफल जारी, संविधान पुनरावलोकन आयोग गठन गर्न उपेन्द्रको प्रस्ताव, ३० वर्षे सेवा अवधिका कारण ठुलो संख्यामा प्रहरीका उच्च अधिकृत एकसाथ घर जाँदै, स्वास्थ्यमन्त्रीले ल्याए स्वास्थ्य क्षेत्र सुधारको दीर्घकालीन योजना, कर्णाली प्रदेशसभा : वर्षमा दुई वटा कानुनमात्र निर्माण लगायत छन् ।
१. नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव राजनीतिक भेटघाटमा व्यस्त
दुईदिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्री आइतबार राजनीतिक भेटघाटमा व्यस्त रहे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
२. भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद राख्ने विषयमा विवाद
राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु गरेको छ । विधेयकमा रहेको ‘मुद्दा चलाउने अवधि : भ्रष्टाचारजन्य कसुरमा त्यस्तो कार्य भएको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउनुपर्ने’ प्रावधानमा सत्ताधारी दलहरूबिच नै गहिरो मतभेद देखिएको छ ।
३. माओवादी बैठकमा संगठन र नेतृत्वबारे निर्मम समीक्षा
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा नेताहरूले पार्टी नीति र नेतृत्वको विषयमा खुलेर बहस गरेका छन् । शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेतृत्वको विकल्प, विचार संश्लेषण, पार्टी निर्माण लगायत विषयमा निर्मम समीक्षा गर्दै नेताहरूले आफ्नो धारणा राखेका छन् ।
४. कांग्रेस बैठकमा प्रस्तावित ११ एजेण्डामा छलफल जारी
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार पनि जारी रह्यो । बैठकमा प्रस्तावित विभिन्न ११ एजेण्डामाथि छलफल भइरहेको छ ।
५. संविधान पुनरवलोकन आयोग गठन गर्न उपेन्द्रको प्रस्ताव
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान पुनरवलोकन आयोग गठन गर्न प्रस्ताव गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा उनले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्दै सोही आयोगको सुझावका आधारमा संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।
६. ३० वर्षे सेवा अवधिका कारण ठुलो संख्यामा प्रहरीका उच्च अधिकृत एकसाथ घर जाँदै
नेपाल प्रहरी (जनपद समूहतर्फ) र सशस्त्र प्रहरीमा ठुलो संख्यामा उच्च अधिकृतहरू अवकाशमा जाँदै छन् । २०५१ भदौ १६ मा प्रहरीमा प्रवेश गरेकाहरू भदौ १५ बाट अवकाशमा जान लागेका हुन् । अवकाश हुन लागेका प्रहरी अधिकृतहरू ५० देखि ५२ वर्ष उमेर समूहका छन् । ३० वर्षे सेवा अवधिका कारण कम उमेरमै उच्च अधिकृतहरू अवकाशमा जाँदा दुवै संगठनले क्षमता र अनुभवले खारिएका अधिकृतहरू गुमाउन लागेको प्रहरीका पूर्व डीआईजी हेमन्त मल्लले बताए ।
७. स्वास्थ्यमन्त्रीले ल्याए स्वास्थ्य क्षेत्र सुधारको दीर्घकालीन योजना
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि दीर्घकालीन योजना सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र सुधारका योजना सार्वजनिक गरेका हुन् ।
८. संवैधानिक आयोगमा ६ पद रिक्त
निर्वाचन आयोगदेखि राष्ट्रिय समावेशी आयोगसम्म गरी संवैधानिक आयोगमा ६ पद रिक्त छन् । लामो समयदेखि रिक्त पाँच संवैधानिक आयोगमा ६ जना नियुक्त गर्न बाँकी छ । निर्वाचन आयोग, राष्ट्रिय समावेशी आयोग, प्राकृतिक स्रोत तथा वित्तीय आयोग, महिला आयोग, समावेशी आयोग र मुस्लिम आयोगमा केही पद रिक्त छन् ।
९. कर्णाली प्रदेश सभा : वर्षमा दुई वटा कानुनमात्र निर्माण
कर्णाली प्रदेश सभाले एक वर्षको अवधिमा जम्मा दुई वटामात्रै कानुन बनाएको छ । प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना तथा सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा सम्बन्धमा बनेको विधेयक पारित भएका छन् । तर दुई वटा कानुन बनाउनका लागि अग्रसर प्रदेश सभाका पदाधिकारी, सांसद तथा कर्मचारीको सेवा, सुविधामा राज्यको करोडौँ रकम खर्च भएको छ ।
१०. न्यायालय सुधार प्रतिवेदन तीन वर्षदेखि अलपत्र
तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको एक समितिले दिएको प्रतिवेदन तीन वर्षदेखि अलपत्र पारेर सर्वोच्च अदालतले न्यायालयको सुधारलाई बेवास्ता गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई लोहनीको सुझाव : बीआरआई लिन्न भनेर निर्णय नगर्नुस्
-
पेप्सीको बिक्रीमा कर छल्ने वरुण वेभरेजलाई जरिवाना र बिगो, अमित गुप्तालाई एक वर्ष कैद
-
स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा दलका नेताहरूको लस्कर
-
चीन भ्रमण स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै
-
पाकिस्तानमा शिया–सुन्नीबिचको लडाईमा दर्जनौँको मृत्यु
-
किन हडतालमा उत्रिए वायुसेवा निगमका पाइलटहरू ?