आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

उपेन्द्रको प्रस्ताव– मन्त्रालय घटाऔँ, प्रहरी प्रदेश सरकारलाई हस्तान्तरण गरौँ

आइतबार, २७ साउन २०८१, २० : ००
आइतबार, २७ साउन २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघ र प्रदेश दुवैमा मन्त्रालयको सङ्ख्या घटाउन प्रस्ताव गरेका छन् । आइतबार पार्टीको केन्द्रीय समिति बैठकको पहिलो दिनमा पेस ६१ बुँदे समसामयिक राजनीतिक प्रस्तावमा उनले खर्च कटौती गर्न मन्त्रालयको सङ्ख्या घटाउनुपर्नेमा जोड दिएका हुन् ।

संघीयता कार्यान्वयन सम्बन्धी प्रस्तावमा उनले उल्लेख गरेका छन्, ‘प्रदेश सरकारमा मन्त्रालयहरूको सङ्ख्या घटाउने । संघीय सरकारमा मन्त्रालयको सङ्ख्या घटाउने र प्रदेश मामिलासम्बन्धी विषयहरू प्रदेश सरकारलाई नै जिम्मेवारी दिने र अनावश्यक फजुल खर्च कटौती गर्ने । संविधान बमोजिम प्रदेशलाई हस्तान्तरण गर्न बाँकी रहेका विभिन्न मन्त्रालय मातहतका निकायहरू प्रदेशलाई तुरुन्त हस्तान्तरण गर्ने ।’

अध्यक्ष यादवले प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ बमोजिम प्रदेश सरकारहरूलाई प्रहरी हस्तान्तरण गर्नुपर्ने पनि बताएका छन् । त्यस्तै, संघीय निजामती ऐन संसद्बाट पारित गरी कर्मचारी समायोजन सम्बन्धी कार्यहरू सम्पन्न गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।

संविधानको अनुसूची ६ र ७ को अधिकार सूचीअनुसार प्रदेशहरूलाई क्षेत्राधिकार प्रदान गर्नुपर्ने उनको प्रस्ताव उल्लेख गरिएको छ । त्यस्तै, संविधानको धारा ५६ (५) मा व्यवस्था भए बमोजिम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र कायम गरी त्यसको क्षेत्राधिकार निर्धारण गर्नुपर्ने उनले बताएका छन् ।

जसपा नेपालको जनकपुरधाममा सम्पन्न एकताको प्रथम महाधिवेशनपछि नवगठित केन्द्रीय समितिको बैठक ललितपुरमा आजदेखि सुरु भएको हो । बैठक साउन ३० गतेसम्म बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप