बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

काभ्रेबाट तार चोरी गर्ने गिरोह पक्राउ

आइतबार, २७ साउन २०८१, १९ : १६
आइतबार, २७ साउन २०८१

काभ्रे । काभ्रेका विभिन्न स्थानमा रहेका ट्रान्सफर्मरबाट तामाको तार चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विद्युत् प्रवाहमा प्रयोग हुने ट्रान्सफर्मर निकालेर त्यसभित्र रहेको तामाको तार चोरी गर्ने तथा खरिद गर्ने गिरोहलाई जिल्ला प्रहरी  कार्यालय काभ्रेले पक्राउ गरेको हो ।

प्रहरीले काभ्रेको भुम्लु गाउँपालिका तथा नमोबुद्ध नगरपालिकाका विभिन्न स्थानबाट ट्रान्सफर्मरबाट तामाको तार चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार ४५ दिनको अवधिमा ६ स्थानको ट्रान्सफर्मरबाट तामाको तार चोरी भएको थियो ।

गिरोहले खानेपानी र सिँचाइका लागि विद्युत् प्रवाह गर्न प्रयोग गरिने ट्रान्सफर्मरलाई आफ्नो निशाना बनाउने गरेका प्रहरीले जनाएको छ । चोरी गरिएको ट्रान्सफर्मरको तार कवाडीलाई बेच्ने गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रहरी चौकी भकुण्डेवेशी र इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले  ट्रान्सफर्मर चोरी गर्ने गिरोहमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएको छ ।

चोरी गरेका तामाका तारहरू खरिद गरेको आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । चोरी गरेको तामाका तर खरिद गरेका भक्तपुरका विभिन्न कवाडी पसलमा लगी बेच्ने गरेको र अनुसन्धाका क्रममा उनीहरूलाई पक्राउ गरिएको उनको भनाइ छ ।

अनुसन्धानको क्रममा कवाडीको सामान लिन जाने क्रममा ट्रान्सफर्मर रहेको यकिन गर्ने र उक्त समूहका मुख्य व्यक्तिलाई खबर गर्ने गरेको खुल्न आएको उनले बताए । सो पश्चात् उक्त गिरोहले गाडी समेतको व्यवस्था गरी रात्रिकालीन समयमा योजनाबद्ध रूपमा ट्रासफर्मर निकाली त्यसभित्र रहेको तामाको तारलाई चोरी गर्ने गरेको उनले बताए ।

प्रहरीले असार ७ मा भुम्लु–९ मेलडाँडामा रहेको एनसेलको टावर राखिएको स्थानमा कम्पाउण्डको ताल्चा फुटाएर २५ केभीएको ट्रान्सफर्मर फुटाई ३ लाख रुपैयाँ बराबरको तामाको तार र ग्राउण्ड केवल ४० मिटर चोरी गरेको थियो । सो घटनामा संलग्न भएको भन्दै प्रहरीले जगन्नाथ बस्नेत, कुमार विक, सन्तोष विक, राजेश विक, विष्णु निशंखे र दिकुल खत्रीलाई पक्राउ गरेको थियो ।

असार २४ मा नमोबुद्ध–६ स्थित राखिएको नमोबुद्ध बृहत् खानेपानी आयोजनाको ५० केभीए ट्रान्सफर्मरका तामाको तार चोरीको घटनामा जगन्नाथ बस्नेत, राजेश वि.क., विष्णु विशुंखे, विकुल खत्री, प्रविण बस्नेत, सुनिल ढकाल, प्रेम मिजार र प्रल्हाद बस्नेत संलग्न भएका थिए ।

साउन ७ मा नमोबुद्ध–५ साँधपोखरीमा रहेको कानपुर खानेपानी उपभोक्ता समितिको निर्माणाधीन कार्यालय भवनको कम्पाउण्डमा रहेको ५० केभीए क्षमताको ३ वटा विद्युतको ट्रान्सफर्मर फुटाएर तामाको तार चोरी भएको थियो । उक्त घटनामा प्रतिवादीहरू जगन्नाथ बस्नेत, विष्णु विशुखे, विकुल खत्री, प्रविण बस्नेत, सुनिल ढकाल, प्रेम मिजार र प्रल्हाद बस्नेत संलग्न भएका थिए ।

साउन ११ मा मण्डनदेउपुर–९ रानीटार स्थित रानीटार सिचाई आयोजनाको ६० केभीए क्षमताको ट्रान्सफर्मर तामाको तार चोरी भएको थियो । उक्त घटनामा जगन्नाथ बस्नेत, विष्णु विशुंखे, दिकुल खत्री, प्रविण चस्नेत, सुनिल ढकाल, प्रेम मिजार र प्रल्हाद बस्नेत संलग्न भएका थिए ।

साउन १८ मा मण्डनदेउपुर–७ सोते स्थित सिचार्इं क्रसर र खानेपानीको लागि राखिएको १५० केभीए क्षमताको विद्युतिय ट्रान्समिटर चोरी भएको थियो । घटनाको अनुसन्धानको क्रममा उक्त ट्रान्सफर्मरको सामान बा १ व ७८३४ नम्बरको माइक्रो भ्यानबाट भक्तपुरका कवाडी पसलमा बेचिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप