जब आफैँले गाउँदै गरेको गीत राजनराज सिवाकोटीले प्रकाशलाई दिए...
काठमाडौँ । २०६६ सालमा गायक तथा सङ्गीतकार राजनराज सिवाकोटी पुतलीसडकस्थित रिबेल क्रिएसनको स्टुडियोमा ‘आरती–६६’ एल्बमका लागि ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’ बोलको गीतको पहिलो लाइन रेकर्ड सकेर दोस्रो अन्तरामा प्रवेश गर्दै थिए । ठिक त्यही बेला कसैले स्टुडियोमै आएर भन्यो– ‘दाइ, एक जना दृष्टिविहीन गायक हुनुहुन्छ, एकदमै राम्रो स्वर छ, उहाँको स्वर चेक गर्ने हो ?’
सिवाकोटीले बोलाउन भनेसँगै उनी स्टुडियोमा प्रवेश गरे । उनी उनी अरू कोही नभएर गायक प्रकाश तिमिल्सिना थिए । यस्तो संयोगमा तिमल्सिनासँग आफ्नो पहिलो भेट सिवाकोटीले रातोपाटीलाई सुनाए ।
‘प्रकाशसँग भेटपछि म उनको स्वरबाट प्रभावित भएँ । पहिलो लाइन गाइसकेको भए पनि हेडफोन फुकालेर गाउँदै गरेको सो गीत उनैलाई दिएँ’, सिवाकोटीले भने, ‘खासमा त्यो गीत म आफैँले गाउन तयार गरेको थिएँ ।’ त्योसँगै प्रकाशलाई अरू थप गीत पनि गाउन लगाएको सिवाकोटीले सुनाउँछन् ।
तिनै ३६ वर्षीय गायक प्रकाश तिमिल्सिनाको शनिबार साँझ निधन भएको छ । भैँसेपाटीस्थित डेरामा अचेत अवस्थामा फेला परेका उनलाई पाटन अस्पतालका चिकित्सकले मृत घोषित गरेका हुन् ।
सिवाकोटीले दिएको ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’ नै गायक तिमिल्सिनालाई नेपाली साङ्गीतिक क्षेत्रमा चिनाउने र अहिलेसम्मको सर्वाधिक हिट हो ।
नेपाली संगीतिक क्षेत्रका प्रतिभाशाली गायकको रूपमा प्रकाशको सम्झना गर्छन् सिवाकोटी । ‘प्रकाशको मेरो घरमा राम्रो आवतजावत पनि थियो’, सिवाकोटीले भने ‘तीन महिना अगाडि फोन गरेको थियो । बिचका केही समय भेट भएको थिएन । अहिले नराम्रो खबर आयो ।’ फोनमा पहिलेझैँ कम ब्याकका लागि राम्रो गीत मागेको सिवाकोटीले बताउँछन् ।
‘तीन वटा गीत गाउन लगाउँछु भनेर तयार पारेर राखेको थिएँ’, सिवाकोटी भन्छन् ‘त्यो काम गर्न पाइएन ।’
प्रकाशको निधनले देशले होनहार प्रतिभा गुमाएको सिवाकोटीको बुझाइ छ ।
अन्तर्राष्ट्रिय साङ्गीतिक क्षेत्रमा समेत दृष्टिबिहीन नेपाली गायकको रूपमा स्थापित थिए, प्रकाश । थुप्रै भाषामा गीत गाउन सक्ने प्रतिभाशाली गायकको रूपमा प्रकाशलाई आफूले चिन्दै आएको गायक डम्बर नेपाली बताउँछन् ।
‘प्रकाश भाइसँग एक समय मेरो सङ्गत राम्रो थियो । उनी मल्टिट्यालेन्ट व्यक्ति थिए’, नेपालीले भने ‘ब्रिटिस स्कुलमा अध्ययन गरेका उनी दुई दर्जन भन्दा बढी भाषाका गीत गाउने सामर्थ्य राख्थे ।’ प्रकाशको निधन आफूले अझै पत्याउन नसकिरहेको नेपालीको भनाइ छ ।
‘प्रकाशको यति छिटो निधन होला भन्ने कसैले पनि कल्पना गरेको थिएन । ऊ एकदमै मनोबल बढी भएको मिहिनेती मानिस थियो’, नेपाली थप्छन् ।
सङ्गीतकार चेतन सापकोटा पनि प्रकाशलाई प्रतिभाशाली गायकको रूपमा चर्चा गर्छन् । ‘मैले केही गीत पनि गाउन लगाएको छु । सुरुदेखिनै माया गरेर र कार्यक्रम भयो भने सिफारिस गर्ने गर्थेँ’, सापकोटा थप्छन् ‘अङ्ग्रेजीमा मास्टर गरेका थिए । धेरै भाषा जान्थे ।’ प्रकाश धेरै भाषामा गीत गाउन सक्ने मल्टिट्यालेन्ट व्यक्ति समेत भएको सापकोटा बताउँछन् ।
गायक प्रकाशको शवलाई श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा राखिएपछि पशुपति आर्यघाटमा आइतबार नै अन्त्येष्टि गरिने कार्यक्रम छ ।
प्रकाश २०४५ सालको भूकम्पपछि आएको बाढीका कारण घरसँगै बुवा–आमा गुमाएर टुहुरो बनेका थिए । त्यही समय उनको आँखाको ज्योति पनि गुमेको थियो ।
२०६५ सालमा इमेज च्यानलले आयोजना गरेको एउटा रियालिटी शोमा विजयी हुँदै भारतको कोलकातामा सम्पन्न साउथ एसियन स्टारमा सहभागी भएपछि उनी ‘दिव्य दृष्टि’ शीर्षकमा २०६५ सालमा पहिलो एल्बम सार्वजनिक गर्दै साङ्गीतिक फाँटमा उदाएका थिए । ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’ गीत गाएपछि उनको करियरले रफ्तार लिएको हो।
गीतलाई रिमेक गर्दै गाउन माहिर उनले उदित नारायण झाका दुई गीतहरू ‘तिमीलाई देखेर’ तथा ‘बल्ल बल्ल भेट भएको दिन’को रिमेक समेत बनाएका थिए । यी दुवै गीतबाट उनले प्रशंसा पाउन सफल भएका थिए ।
झन्डै एक सय हाराहारी गीत रेकर्ड गराएका उनी आफ्नो गायन क्षमता भगवानको उपहार ठान्थे । उनले केही समय सोल्टी होटेलको क्यासिनोमा अङ्ग्रेजी गीत पनि गाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीप्रति आक्रोश बढेको रास्वपाको निष्कर्ष : कस्तो हो आन्दोलनको नयाँ स्वरूप ?
-
भारतीय सेना प्रमुखको सम्मानमा जंगी अड्डामा रात्रिभोज
-
ठगी मुद्दा फरार प्रतिवादी पक्राउ
-
मिथानोल विषाक्तताका कारण लाओसमा चौथो पर्यटकको मृत्यु
-
सर्वोच्चको आदेशसँगै मापदण्ड भित्रका संरचना तत्काल भत्काउन नपाइने, के हुन्छ अबको प्रक्रिया ?
-
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन