आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
भारतीय विदेश सचिवको नेपाल भ्रमण

को हुन् भारतीय विदेश सचिव मिस्री जसले भुटानपछि रोजे नेपालको भ्रमण ?

आइतबार, २७ साउन २०८१, १५ : ५३
आइतबार, २७ साउन २०८१

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले जिम्मेवारी सम्हालेको एक महिनाभित्रै नेपालको भ्रमण गरेका छन् । उनी भुटानको भ्रमण सकेर आइतबार नेपाल भ्रमणमा आइपुगेका छन् ।

मिस्रीले विदेश सचिवको कार्यभार गत जुलाई १५ (असार ३१) देखि सम्हालेका हुन् । उनी १९ जुलाई (साउन ४)मा भुटान भ्रमणमा निस्केका थिए । २० जुलाईमा उनी भारत फर्केका थिए ।

भुटानबाट फर्केको २२ दिनपछि उनी नेपाल भ्रमणमा आएका हुन् । सचिवमा नियुक्त भएपछि परिचयात्मक भ्रमणको रूपमा उनले नेपाल भ्रमण गरेका हुन् ।

परराष्ट्र सचिव सेवा लम्सालले दोस्रो बिमस्टेक स्तरीय परराष्ट्रमन्त्रीहरूको रिट्रिटमा सहभागी हुन असार २६ गते भारत गएको बेला भारतीय विदेश सचिव मिस्रीलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन् ।

त्यतिबेलासम्म मिस्रीले विदेश मन्त्रालय सचिवको रूपमा आफ्नो कार्यभारसमेत सम्हालेका थिएनन् । विनय मोहन क्वात्रा विदेश सचिवबाट हटेपछि मिस्री नियुक्त भएका हुन् ।

विनय मोहन क्वात्रा नेपालका लागि भारतीय राजदूत पनि रहिसकेका व्यक्ति हुन् । राजदूतको कार्यकाल पूरा गरी भारत फर्केपछि उनी सचिवमा बढुवा भएका थिए ।

६० वर्षीय सचिव मिस्री जम्मु काश्मिरका हुन् । उनले विदेश मन्त्रालयमा उपसचिवदेखि लिएर निर्देशकसम्मको पदमा काम गरिसकेका छन् । भारतका तत्कालीन प्रधानमन्त्री इन्द्रकुमार गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदीको निजी सचिवको रूपमा काम गरिसकेका सचिव मिश्रलाई चीन र राष्ट्रिय सुरक्षाको जानकार मानिन्छ ।

सन् २०१८ को अन्तिमदेखि २०२१ सम्म चीनका लागि भारतीय राजदूतमा नियुक्त भएका सचिव मिस्री सन् २०२० जुनमा लद्दाखको गलवान घाटीमा भारतीय सेना र चीनको सेनाबिच भएको झडपको क्रममा दुई देशको बिचमा भएको वार्तामा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

त्यसका साथै उनी युरोप, अफ्रिका, एसिया र उत्तर अमेरिका, स्पेन, म्यान्मासहितको भारतको विभिन्न दूतावासमा काम गरिसकेका छन् । त्यसबाहेक पाकिस्तान, श्रीलंका, अमेरिका, जर्मनीलागयतको देशमा रहेको भारतीय दूतावासमा विभिन्न पदमा रहेर उनले काम गरेका छन् ।

चीनबाट फर्केपछि २०२२ मा भारतको उपप्रमुख राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा नियुक्त भएका उनले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार प्रमुख अजित डोभलको सहयोगीको रूपमा काम गरे ।

त्यहाँबाट सिधै उनी विदेश सचिवमा नियुक्त भए । प्रधानमन्त्री नरेन्द्र मोदीको सचिवालयमा थोरै समय काम गरेका उनलाई मोदीले विशेष रूपमा सचिवका लागि आग्रह गरेका थिए ।

उनले पदभार सम्हालेपछि भुटानको दुई दिने भ्रमण गरेका थिए । सन् २०२३ को अन्तिममा भुटानका विदेश मन्त्रीले चीनको भ्रमण गरेका थिए । भुटानको कुनै पनि विदेश मन्त्रीको त्यो पहिलो चीन भ्रमण थियो ।

भारत र भुटानको राम्रो सम्बन्ध छ । भुटानका विदेश मन्त्री चीनको भ्रमण गरेपछि भारत चिन्तित बनेको थियो । भुटान र चीनबिच सीमा विवाद छ । डोकलाम पठार क्षेत्रमा चीन, भुटान र भारतको त्रिबिन्दु सीमा छ ।

त्यसमा भुटानले कुनै सम्झौता गर्छ कि भन्नेमा भारतको चिन्ता थियो तर सो भ्रमणपछि भुटानका प्रधानमन्त्रीले भारतको भ्रमण गरेर भारतलाई आश्वस्त पारेका थिए कि भारतको अहित हुने गरी चीनसँग कुनै सम्झौता हुने छैन ।

त्यसपछि भारतबाट विदेश सचिव मिस्रीको भुटान भ्रमण भएको थियो । अहिले उनी नेपाल भ्रमणमा छन् ।

पछिल्लो समय नेपालमा पनि चीनको प्रभाव बढ्दै गइरहेको भन्दै भारत चनाखो भइरहेको छ । नेपालमा चीनको प्रभाव कम गर्न भारतले निकै प्रयास गरिरहेको छ ।

चीनको प्रभाव कम गर्नका लागि यहाँस्थित दूतावासमा पनि चीन मामिलाका जानकारलाई नै पठाउने गरेको छ ।

पछिल्लो समय भारतलाई पाकिस्तानभन्दा नेपालमा चीन टाउको दुखाइको विषय बनेको छ । चीनको जानकार मानिएका सचिव मिस्रीको यो भ्रमणले नेपालमा चीनको प्रभाव कम गराउन सक्ला त ? त्यो आउने दिनमा मात्र प्रस्ट हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप