एक वर्षमा साढे ६ अर्ब बराबर राजस्व छली भएको विभागको दाबी
काठमाडौँ । गत आर्थिक वर्ष (२०८०/८१) मा साढे ६ अर्ब बराबर राजस्व चुहावट भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्ष राजस्व छलीमा २३२ जनालाई प्रतिवादी बनाउँदै १०९ थान मुद्दा दायर गरेको छ ।
राजस्व अनुसन्धान विभागले राजस्व चुहावटमा देशभरका उच्च अदालतमा मुद्दा दायर गर्ने गर्दछ । विभागले राजस्व चुहावट अन्तर्गत सुुन तस्करी, भन्सार छलेर ल्याइएको सामान र नक्कली भ्याट बिलजस्ता विषयमा अनुसन्धान गरी मुद्दा दायर गरेको र तीमध्ये अधिकांश मुद्दा अहिले विभागमा अनुसन्धानमा रहेको महानिर्देशक चक्रबहादुर बुढाले बताए ।
‘यो वर्ष हामीले साढे ६ अर्ब बिगो अनि साढे ७ अर्ब बराबर जरिवाना माग गरेर राजस्व चुहावटको मुद्दा दायर गर्न सफल भएका छौँ,’ महानिर्देशक बुढाले भने, ‘यो मुद्दा पर्याप्त होइन । तर राजस्व छलीको अनुसन्धानमा समय लाग्ने भएकाले यो सङ्ख्यामा मात्र सफल भएका हौँ ।’
विभागले राजस्व चुहावट तथा विदेशी विनिमयतर्फ ८० थान मुद्दा दायर गरेको छ । यसमा सुन तस्करीका केही मुद्दा पनि जोडिएका छन् । सुन तस्करीमा विदेशी नागरिक संलग्न भएको र उक्त रकम विदेशमा भुक्तानी भएको देखिएकाले विदेशी विनिमयमा पनि मुद्दा दायर भएको छ ।
यी प्रतिवादीवाट बिगो र जरिवाना गरी ९ अर्ब मागदाबी गरेर अदालतमा अभियोगपत्र दर्ता गरिएको छ । विभागले गत आर्थिक वर्षमा बिगोमार्फत ६ अर्ब ५१ करोड १० लाख र जरिवानातर्फ ७ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ दाबी गरेको छ ।
विभागले यो वर्ष २२ करोड ५५ लाख २५ हजार बराबरको रकम धरौटीमार्फत राजस्व उठाउन सफल भएको छ । विभागको कानुनले ५० लाखभन्दा कम राजस्व चुहावट मुद्दामा धरौटी लिएर रिहा गर्न सक्छ । उक्त अधिकार अन्तर्गत साढे २२ करोड राजस्व सङ्कलन गरेको महानिर्देशक बुढाले बताए । त्यस्तै राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने ६०० सवारी साधन नियन्त्रणमा लिएको छ । ती सवारी साधानबाट ३ करोड ४६ लाख २६ हजार बिगो विभागले माग गरेको छ ।
केही उदाहारण
- यो वर्ष सबैभन्दा धेरै बिगो दाबी गरिएको मुद्दा हो अमेरिकी सफ्टवेयर कम्पनी कोटीभीटी विरुद्धको थियो ।
राजस्व अनुसन्धान विभागले नेपालस्थित अमेरिकी सफ्टवेयर कम्पनी कोटीभीटी नेपाल विरूद्ध राजस्व छलीको आरोपमा २०८० चैत १८ गते मुद्दा दायर गरेको थियो ।
विभागले उच्च अदालत पाटनमा ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ बिगो र पाँच अर्ब १८ करोड जरिवानासहित १० अर्ब ३६ करोड ४५ लाख २२ हजार ६४२ मागदाबी गरेर अभियोग दायर गरेको थियो ।
विभागका अनुसार एउटै व्यावसायिक कम्पनीलाई यति ठुलो मात्राको सजाय मागदाबी गरी अभियोग दायर गरेको यो पहिलो पटक थियो । कोटीभीटीले विभिन्न आर्थिक वर्षमा सेयर स्वामित्वमा परिवर्तन भएको देखिए पनि कम्पनीको सेयर स्वामित्वमा भएको परिवर्तन अनुसार सो कम्पनीले दर्ता रहेको मध्यमस्तरीय करदाता कार्यालय लगायत नेपाल सरकार अन्तर्गतका निकायमा जानकारी नदिइ प्रचलित कर कानुन बमोजिम तिर्नु बुझाउनु पर्ने आयकर ऐन, २०५८ बमोजिमको कर तथा मूल्य अभिवृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्व समेत दाखिला नगरी राजस्व चुहावट गरेको विभागको आरोपपत्रमा दाबी गरिएको थियो ।
आफूमा रहेको निहीत सेयर स्वामित्वमा भएको परिवर्तन र सोबाट कम्पनीको नियन्त्रणमा परिवर्तन भएको विषयमा सम्बन्धित निकायहरूमा कुनै जानकारी नदिइ सो बमोजिम सिर्जना हुने प्रचलित कानुन बमोजिमको कर दायित्व पूरा नगरी तथा मुख्य कम्पनी कोटीभीटी इन्कलाई आफ्नो सेवा बिक्री गरी राजस्व चुहावट गर्ने उद्देश्यले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ बमोजिमको कसुर गरेको भन्दै ५ अर्ब १८ करोड बराबरको बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो ।
कोटीभीटी नेपाल नेपालमा दर्ता भएको पूर्ण वैदेशिक लगानी भएको कम्पनी थियो । कम्पनीको साविकको नाम भर्सिक इन्फर्मेसन टेक्नोलोजी रहेकोमा २०७३ साउन २८ गतेको सेयरधनीको निर्णय अनुसार कम्पनीको नाम परिवर्तन गरी भरसेन्ड टेक्नोलोजी कायम गरी कम्पनी रजिष्ट्रारले २०७३ भदौ ०८ मा स्वीकृति प्रदान गरेको थियो ।
- कम्पनीको २०७५ कात्तिक १ को सेयरधनीको विशेष निर्णय बमोजिम भरसेन्ड टेक्नोलोजीको नाम परिवर्तन गरी कोटीभीटी नेपाल कायम गर्न निवेदन दिएबमोजिम २०७५ पुस ०८ को पत्र अनुसार हालसम्म सो कम्पनीले कोटीभीटी नेपाल प्रालिको नामबाट आफ्नो कारोबार गर्दै आएको थियो । २०८१ वैशाख २८ गते काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रूपन्देही सियारी गाउँपालिका–७का समिर सुनार तथा सोही ठाउँका मिलन विक थिए ।
पक्राउ परेका दुवै जना हुन्डी र सुन तस्करीमा संलग्न रहेको अनुसन्धानका क्रममा खुल्यो । उनीहरु २०८० असोज १० गते दोलखामा बरामद भएको साढे ११ केजी अवैध सुनमा फरार रहेका प्रतिवादी थिए । उनीहरूमाथि राजस्व चुहावटसहित हुन्डीमा समेत जिल्ला अदालतमा अभियोगपत्र दायर भएको छ ।
- त्यस्तै विभागले ठुलो मात्रामा अमेरिकी डलरको अवैध कारोबार हुने गरेको सूचनाको आधारमा २०८० माघ ५ गते काठमाडौँको चार ठाउँमा एकै पटक छापा मा¥यो । राजस्व अनुसन्धान विभागको टोलीले न्यूरोडको मखन गल्ली, ताहाचल, कलंकी तथा क्षेत्रपाटीमा छापा मा¥यो ।
यसरी छापा मार्दा व्यवसायीहरु नरेश अग्रवाल, दिपक ठकुरी, मनमोहन साह र दिवस कार्की पक्राउ परे । विभागको टोलीले उनीहरूको साथबाट २ करोड ३० लाख २९ हजार ९४ नेपाली रुपैयाँ र १९ सय ९४अमेरिकी डलर बरामद ग¥यो । विभागले उनीहरूमाथि अनुसन्धान अन्तिम चरणमा पु¥याएको छ भने केही दिनमा मुद्दा दायर गर्नेछ ।
कसरी हुन्छ राजस्व छली ?
विभागका महानिर्देशक बुढाका अनुसार विभागले राजस्व छलीका केही प्रवृत्ति लामो अनुसन्धानपछि पहिचान भएको छ । प्रविधिको विकाससँगै राजस्व चुहावटका कारण पनि त्यसमै आधारित हुने गरेको उनको दाबी छ । तर विभागले यसरी हुने राजस्व छलीलाई अहिले भन्सारको राजस्वतर्फ, आन्तरिक राजस्वतर्फ र विदेशी विनिमय अपचलनतर्फ भनी तीन भागमा छुट्ट्याएको छ । विभागले यी अन्तर्गत राजस्व छलीमा हुने गरेको नयाँनयाँ शैलीलाई पनि अनुसन्धान र प्याटर्न केलाएर सोही अनुरुप आफ्ना अनुसन्धान अधिकृतहरूलाई तालिम दिएर अनुसन्धान गराउने गरेको छ ।
भन्सार राजस्वतर्फ
१. भन्सार नाकाभन्दा बाहिरबाट खुला सीमाको दुरूपयोग गरी विभिन्न मालवस्तु चोरी पैठारी गरी मुलुकको विभिन्न स्थानमा अवैध रूपमा सामान बिक्रीवितरण गर्ने गरेको ।
२. भन्सार बिन्दुबाट सामान पैठारी गर्दा मालवस्तुको वर्गीकरण, मूल्याङ्कन, परिमाण, गुणस्तर र उत्पत्तिको देशसमेत गलत घोषणा गरी महसुल चुहावट गर्ने गरेको ।
३.पैठारी हुने सामानको न्यून मूल्य घोषणा गरी वास्तविक कारोबार रकम नदेखाइ भन्सार, आयकर र मूल्य अभिवृद्धि करसमेत चुहावट गर्ने गरेको ।
४.भन्सार बिन्दुको नजिकमा गोदाम खडा गरी चोरी पैठारी भएका र चोरी निकासी गर्ने मालवस्तु भण्डारण र कारोबार गरी भन्सार राजस्व चुहावट गर्ने गरेको ।
५.विभिन्न क्यारिङ फर्महरूबाट विदेशबाट मालसामान आयात गर्ने र त्यसरी आयातित मालसामानको विजक वास्तविक खरिदकर्तालाई जारी नगरी असम्बन्धित व्यक्ति÷फर्मको नाममा जारी गरी आयकर र मूल्य अभिवृद्धि कर चुहावट हुने गरेको ।
६.विभिन्न माध्यमबाट चोरी निकासी गर्ने उद्देश्यले अवैध रूपमा सुनको पैठारी गरी कारोबार गर्ने गरेको, यस्तो कारोबारबाट राजस्व चुहावट हुनेमात्र नभइ ठुलो मात्रामा विदेशी विनिमय अपचलन हुने अवस्था रहेको ।
७.राजस्व चुहावट गर्ने गराउने कार्यमा लेखापरीक्षक, कर सहयोगी भन्सार एजेन्ट समेत प्रत्यक्ष रूपमा संलग्न हुने, मतियारी गर्नेजस्ता पेसागत मर्यादा विपरीतसमेत क्रियाकलाप हुने गरेको ।
आन्तरिक राजस्वतर्फ
१. व्यावसायिक कारोबारमा यथार्थ मूल्यमा बिलविजक जारी नगर्ने तथा विजक नै जारी नगर्ने ।
२. न्यून आयस्तर भएका सोझा, सर्वसाधारण, मजदुर, कामदार तथा कर्मचारीहरूको नाममा फर्म तथा कम्पनीहरू खडा गरी नक्कली मूल्य अभिवृद्धि कर विजक जारी गरी विभिन्न फर्म तथा कम्पनीहरूलाई बिक्री गर्ने र यस्ता नक्कली कर विजक प्रयोग गरी कर छली गर्ने ।
३.ठुला परियोजनाहरू, निर्माण व्यवसाय, सार्वजनिक निकायमा आपूर्ति गर्ने कतिपय फर्महरूले ठुलो मात्रामा नक्कली बिल विजक प्रयोग गर्ने ।
४.सेवा क्षेत्र विशेष गरी होटल, अस्पताल, शैक्षिक संस्था तथा मेडिकल कलेजहरूले बिलविजक जारी नगर्ने, वास्तविक बिक्री आय नदेखाउने गरी आयकर तथा मूल्य अभिवृद्धि कर दायित्व घटाउने ।
५. ठुला परियोजना, ठुला पूर्वाधार आवश्यक पर्ने व्यवसायहरूमा पूर्वाधार निर्माणमा नक्कली विजकको प्रयोग, अवास्तविक खर्च दाबी लगायतका माध्यमबाट सम्पत्तिको बढी पुँजीकरण देखाइ आयकर तथा मूल्य अभिवृद्धि कर चुहावट गर्ने गरेको ।
६. डिजिटल प्लेटफर्मबाट सञ्चालन हुने व्यवसायहरू दर्ता नगर्ने, दर्ता गरे पनि वास्तविक कारोबार नदेखाउने, बिलविजक जारी नगर्ने लगायतका क्रियाकलापबाट कर चुहावट गरी कर दायित्वबाट पन्छिने गरेको ।
७. अनलाइनबाट हुने कतिपय कारोबारहरू र विदेशबाट प्राप्त हुने आयलाई कर प्रयोजनको लागि घोषणा नगर्ने गरेको ।
८.कम्पनीको सेयर हस्तान्तरण हुँदा यथार्थ कारोबार रकम घोषणा नगर्ने र आयकर ऐन बमोजिम पुँजीगत लाभकर र स्वामित्व परिवर्तन बापतको कर दायित्व पालन नगर्ने प्रवृत्ति रहेको ।
९. सहरी क्षेत्रमा घर जग्गा कारोबार बढ्दै गएको, जग्गा किनबेच र प्लटिङ गर्ने व्यावसायिक क्रियाकलाप बढ्दै गए पनि वास्तविक कारोबार मूल्य घोषणा नगरी कर तथा गैरकर राजस्व चुहावट गर्ने ।
१०. बहुराष्ट्रिय कम्पनीहरूमा आयकर दायित्व घटाउने उद्देश्यले मूल्य रूपान्तरण, व्यवस्थापन शुल्कलगायतका अप्रत्यक्ष माध्यमबाट मुनाफा फिर्ता र राजस्व चुहावटको जोखिम उच्च रहेको ।
११. निर्माण सामग्रीहरू विशेष गरी ढुङ्गा, बालुवा, रोडा तथा ईंटाको कारोबारमा विजक जारी नगर्ने तथा वास्तविक कारोबारभन्दा न्यून घोषणा गरी राजस्व चुहावट हुने गरेको ।
१२. व्यावसायिक कारोबारमा विभिन्न व्यक्तिगत बैंक खाताबाट सञ्चालन गर्ने र वास्तविक कारोबार लुकाउने प्रवृत्तिले राजस्व चुहावटको जोखिम बढेको ।
१३. सुर्तीको कारोबारमा अन्तःशुल्क स्टिकर नलगाउने, अवैध रूपमा कच्चा पदार्थ पैठारी हुने, मूल्य, गुणस्तर र परिमाण फरक पारी राजस्व चुहावट हुने गरेको ।
विदेशी विनिमय अपचलनतर्फ
१ नेपालमा प्रतिबन्ध लगाएका भारतीय रूपैयाँ २००, ५००, १,००० र २,००० दरका नोटहरूको ओसारपसार हुने गरेको
२. भारतबाहेक अन्य मुलुकका मुद्रा नेपालभित्र ल्याउँदा नेपाल राष्ट्र बैंकले भन्सार घोषणा गरी ल्याउन–लैजान पाउने ५,००० अमेरिकी डलरभन्दा बढी रकम ओसारपसार भएको ।
३.विदेशी विनिमय साट्न अधिकार पाएका वित्तीय संस्थाहरूले रेकर्ड नराखी विदेशी मुद्रा सटही गरी विदेशी विनिमय अपचलन गर्ने गरेको ।
४.भन्सार छली तथा अवैध निकासी पैठारीको कारोबारमा हुने भुक्तानी न्यून भन्सार मूल्याङ्कन गरी वास्तविक मूल्यको गैर बैंकिङ्ग भुक्तानी ।
५.वैदेशिक रोजगारमा गएका कामदारले रेमिट्यान्स पठाउँदा रोजगारीकै मुलुकमा रहेका एजेन्टलाई रकम दिइ नेपालमा रहेका परिवारले गैर बैंकिङ्ग प्रणालीबाट लिने भुक्तानी ।
६.नेपाली विद्यार्थी विदेशमा पढ्न जाँदा तथा नेपाली नागरिकहरू विदेशमा उपचार गराउन जाँदा गैर बैंकिङ्ग प्रणाली मार्फत रकम लैजाने÷पठाउने ।
७. सुनको तस्करी तथा अन्य मालवस्तु समेतको कारोबारबाट ।