मोदीको नेपाल भ्रमण : कर्नाटकको चुनाव प्रचार नेपालबाट !
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई नेपाली गृहमन्त्री रामबहादुर थापाले धार्मिक र सांस्कृतिक भ्रमणको संज्ञा दिएका छन् । ‘यो राजनीतिक भ्रमण होइन’ थापाले भनेका छन् । तर पनि समग्र नेपाल सरकार उनको स्वागतमा खटिरहेको छ, जुन उदेक लाग्दो छ । मोदीले भीड मन पराउँछन् भनेर होला, सत्ताको केन्द्रमा रहेका एमाले–माओवादी केन्द्रका शीर्ष नेताहरूले प्रत्येक जिल्लाका लागि मानिसहरूको कोटा तोकेका छन् ।
नरेन्द्र मोदीले नेपाली नेताहरूको उत्साहको सराहना गर्नैपर्ने हुन्छ । उनी गैर बीजेपी शासित राज्यहरूमा पुग्दा मुख्यमन्त्रीहरूले समेत धेरै चासो नदेखाउने मोदीलाई ‘स्वतन्त्र, सार्वभौम र समाजवाद उन्मुख’ देशका कट्टर देशभक्त नेताहरूले यसरी स्वागत गर्नु कुनै सानो कुरा होइन । नरेन्द्र मोदी विदेश भ्रमण जाँदा उनलाई एयरपोर्टमा कसले स्वागत गर्यो भन्ने कुरा भारतीय मिडियाको ‘बडी खबर’ हो र बीजेपी समर्थकहरूको मनोबल र आत्मस्लाघाका लागि औषधि । ‘मोदी का हुआ ऐसा स्वागत कि देख कर दंग रह जाएंगे आप’ मोदीको हरेक विदेश भ्रमणबारे भारतीय ‘गोदी मडिया’ च्यानलहरूको मुख्य हेडलाइन हो यो ।
उपरोक्त कुराकै परिप्रेक्ष्यमा मोदीको नेपाल भ्रमणलाई पनि हेर्नु पर्नेहुन्छ । नेपाली पाठकले नरेन्द्र मोदीको भ्रमणलाई कर्नाटकामा हाल भइरहेको चुनाव प्रचारको विस्तारका रूपमा हेर्नु पर्दछ । कर्नाटकमा विधानसभाका लागि १२ मेमा चुनाव हुँदैछ र मोदीले नेपाल भ्रमणका लागि ११ मेको दिन तय गरेका छन् । भारतीय चुनाव आचार संहिताको नियमबमोजिम निर्वाचन प्रचार ४८ घण्टा पहिले सकिन्छ तर कानुन र संविधानलाई ‘बाइपास’ गर्न सिपालु बीजेपीले कर्नाटकका चुनावको प्रचार नेपालबाट गर्ने योजना बनाएको जस्तो देखिन्छ ।
कल्पना गर्नुस्, जनकपुर मन्दिरमा मोदीले गरेको पूजा र नागरिक अभिनन्दनको समाचार भारतीय मिडिया र समाचारपत्रहरूले त्यो दिन र अर्को दिन कसरी प्रसारित–प्रकाशित गर्लान् ? ‘मोदी को देखने पहुँचा नेपाली जन सैलाब’, ‘मोदी ने गले लगाया प्रधान मन्त्री केपी ओली को’, ‘जनकनुर से काठमाडौं तक हर हर मोदी, घर घर मोदी’ आदि । कर्नाटककामा मतदाताहरूको मनमा यसको कस्तो असर हुनेछ यो गम्भीर विषय हो तर भारतीय निर्वाचन आयोग र उदासीन छ ।
बीजेपीको चुनाव प्रचार र नेपाल सरकार
बीजेपीको यो चुनावी रणनीति नेपालीहरूका लागि तत्काल कुनै गम्भीर चिन्ताको विषय नरहे पनि नेपाली राष्ट्रवादी नेताहरूको मोदी प्रेम नेपालीहरूका लागि निःसन्देह चिन्ताको विषय हो । यसले के दर्शाउँछ भने नेपालका राष्ट्रवादी नेताहरूका लागि राष्ट्रवाद, धर्मनिरपेक्षता र समाजवाद अन्तर्राष्ट्रिय र राष्ट्रिय बजारहरूमा किनबेच गर्ने वस्तु हो ।
सन् २०१५ मा जब आर्थिक नाकाबन्दीको बेला नेपाली बजारहरू रित्तिएका थिए तब केपी ओलीको राष्ट्रवादी पसलमा भने ग्राहकहरूको घुइँचो थियो । पछि उनले यस राष्ट्रवादको ‘मास प्रोडक्सन’ गरे र चुनावमा निःशुल्क वितरण गरे, चुनाव जिते । आज उनको राष्ट्रवादको आयात–निर्यातले राम्रै व्यापार गरिरहेको छ । जसको पहिलो विदेशी ग्राहक मोदी नै भएको ओलीले राम्ररी ठम्याएका छन् ।
मोदीलाई ठाउँ–ठाउँमा नागरिक सम्मान र पूजा अर्चना गर्न दिएर केपी ओलीले नेपाली जनताको अपमान मात्र गरेका छैनन् बरु उनले भारतीय मतदाताहरू विरुद्ध समेत अपराध गरिरहेका छन् । पछिल्ला केही चुनाव र उपचुनावहरूमा बीजेपीको ठूलो हार भएको छ । उत्तर प्रदेशमा त मुख्यमन्त्री योगी आदित्यनाथको लोकसभा सिट सो पार्टीले गुमाइसकेको छ ।
गुजरात विधानसभामा राम्रो प्रदर्शन गर्न नसकेको बीजेपीले कर्नाटकलाई शक्ति प्रदर्शनको मैदान बनाएको छ । यस निर्वाचनपछि राजस्थान, मध्यप्रदेश, छत्तीसगढ जस्ता ठूला प्रदेशहरूमा चुनाव हुनुछ र यी तीन प्रदेशहरूमा बीजेपी कमजोर देखिएको छ । यसैका लागि कनार्टकमा बीजेपीको जित कार्यकर्ताहरू र स्वयम् प्रधानमन्त्री नरेन्द्र मोदी र पार्टीका राष्ट्रिय अध्यक्ष अमित शाहका लागि ‘गर या मर’ जस्तो हो । यस चुनावमा ‘समाजवादी’ ओलीको रूपमा हिन्दु ‘राष्ट्रवादी’ नरेन्द्र मोदीलाई राम्रो घटक मिलेको छ ।
नेपाली वामपन्थीको बीजेपी प्रेम
तर, हाल नेपाल सरकारको बीजेपी प्रेम नेपाल सरकारको विदेश नीतिमा आएको कुनै नयाँ परिवर्तनको परिणाम जस्तो देखिन्न बरु यो त केपी ओली र एक हदसम्म नेपालका सम्पूर्ण वाम आन्दोलनको सङ्कुचित चिन्तन प्रक्रियाको अभिव्यक्ति हो । नेपाली वामपन्थीहरूले कहिलै पनि राजतन्त्रबाट थोपिरिएको धर्मान्ध राष्ट्रवादको वैकल्पिक भाष्य तयार गर्न सकेनन् ।
नेपाली क्रान्ति, नौलौ जनवाद र समाजवादका जति ठूला गफ, जति ठूला नेताले गरे पनि राष्ट्रवादी सोचाइमा उसले धार्मिक मान्यताबाट पार पाउनै सकेको छैन । मधेसमा केही हुने बित्तिकै उसले ‘फिजीकरणको’ खतरा देख्न थाल्छ । मधेसी जनतालाई अपमान गर्दै भएको प्रदेशहरूको सीमाङ्कनप्रति उसले एक शब्द पनि बोल्न सक्दैन ।
गाईलाई राष्ट्रिय जनावर घोषण गर्दा जनजाति र अल्पसङ्ख्यकबारे उसले केही भन्दैन । एकल सांस्कृतिक पहिचान बोकेको झण्डाप्रति उसले गौरव गर्दछ । दाउरा–सुलवार उसको आधिकारिक पोसाक हो । राष्ट्रवादको उसको दृष्टिकोण अन्ततः धर्मान्ध नै छ । नेपाली वामपन्थले रोजेर वामपन्थी पुस्तक पढ्छ, जबकि उसको राष्ट्रवाद लेनिनवादी हुन सक्दैन ।
परिणामस्वरूप आफ्नो राष्ट्रवादी चिन्तनमा नेपाली वामपन्थी आन्दोलन बीजेपीकै नजिक पुग्छ । उसले कहिले पनि बीजेपीभन्दा फरक नैतिक अडान लिन सक्दैन । नेपाली वामपन्थी आन्दोलनले म्यान्मारका रोहिङ्ग्या मुसलमानको समर्थनमा बोल्न सक्तैन ।
श्रीलङ्काका तमिलहरूको नरसंहारबारे बोल्न सकेन । भारतमा मुसलमान, दलित र जनजातिको विरोधी अत्याचारबारे एक शब्द ओकल्दैन ।
तसर्थ केपी ओलीलाई जसले जे भने पनि उनी नै नेपाली वामपन्थको वास्तविक मुहार हुन् । यही प्रचण्डको अनुहार हो । यही विप्लवको अनुहार हो र यही नेपाली राष्ट्रवादको अनुहार हो । यही अनुहार मोदी र योगीको अनुहार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीको चीन भ्रमण : बीआरआईका कारण अरु एजेण्डा ओझेलमा
-
मन्त्रालयको विषयगत लक्ष्य हासिल गर्नेगरी अघि बढ्न प्रधानमन्त्रीको निर्देशन
-
इमरान खानका समर्थकले अस्थायी रूपमा फिर्ता लिए प्रदर्शनका कार्यक्रम
-
भारतलक्षित ज्ञवालीको टिप्पणी : द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन
-
राष्ट्रिय चलचित्र पुरस्कार : विपिन र स्वस्तिमा उत्कृष्ट
-
पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै