मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

फिल्म क्षेत्रका सबै गतिविधि मेरो लागि महायज्ञ – नीर शाह

आइतबार, २७ साउन २०८१, १२ : ५४
आइतबार, २७ साउन २०८१

काठमाडौँ । वरिष्ठ अभिनेता नीर शाहले फिल्म क्षेत्रका सबै गतिविधि आफ्ना लागि मन्दिरमा आयोजना हुने महायज्ञ सरह हुने बताएका छन् । फिल्मलाई लिएर आयोजना हुने विभिन्न गतिविधिले यो क्षेत्रमा सकारात्मक ऊर्जा पैदा गर्दै अगाडि बढ्न मद्दत पुग्ने उनको भनाई थियो ।

नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको संयुक्त आयोजनामा अमेरिका आगामी सेप्टेम्बर १५ आयोजना हुने ‘सातौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए २०२४’को बारेमा जानकारी दिन आयोजित एक कार्यक्रममा अभिनेता शाहले विदेशमा हुने चलचित्र गतिविधिले नेपाली फिल्म तथा कलाकारलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन मद्दत पुगेको बताए ।

‘अमेरिका आयोजना हुने नेपाली फिल्म अवार्डले अमेरिका र नेपालको सम्बन्ध पनि बलियो बनाउन मद्दत पुगेको छ’, शाहले थपे ‘कार्यक्रम कहाँ भयो, कसरी भयो, कसले अवार्ड पायो भन्दा पनि यसले समग्र फिल्म क्षेत्रमा राम्रो छ ।’

गतबर्ष चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट चलचित्र गायब बनाएर उद्योगलाई निलज्ज बनाएको धारणा समेत राखेका शाहले चलचित्रकर्मीहरूको सामीप्यले मात्र आफूलाई जीवनमा सहज महसुस हुने गरेको बताए ।

कार्यक्रममा बागमती प्रदेशका नव–नियुक्त मन्त्री मधुकुमार श्रेष्ठले नेपाल फिल्म सोसाइटीको स्थापना र त्यसबाट हुँदै आएको गतिविधिको जानकारी दिए । सोसाइटीको स्थापना देखिनै अमेरिकामा नेपालका विभिन्न चर्चित कलाकार सहभागी गराएर ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ नियमित आयोजना गर्दै आएको बताए ।

‘राजनीतिले गर्दा यो वर्ष अवार्डमा म सहभागी हुन नपाउन पनि सक्छु’, श्रेष्ठले भने ‘विगतका वर्षभन्दा यो वर्ष झन् भव्य कार्यक्रम हुनेमा कुनै शङ्का छैन ।’ अवार्ड तथा कलाकर्मीलाई आफूले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने धारणा राखेका थिए ।

अवार्ड यो पटक अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स सहरमा हुन लागेको हो । जसको सबै व्यवस्थापन त्रिवेणी इन्टरटेनमेन्ट तथा दिलकुमारी केसी फाउन्डेसनको तर्फबाट नवराज केसीले गर्न लागेका हुन् । केही प्रेसमिटका लागि अमेरिकाबाट नेपाल आएका छन् ।  नेपाली कलाकार राष्ट्रका गहना भएकोले उहाँहरू सहभागी हुने कार्यक्रमको आफू हिस्सा बन्न पाएकोमा भाग्य मानी महसुस गरेको बताए । उनले न्यूयोर्क राज्यका विभिन्न व्यक्तिको समेत सहभागिता रहने कार्यक्रम यो पटक विशेष हुने अनुमान लगाए ।

चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, प्राबिधिक सङ्घका अध्यक्ष पुरस्कार लामा, चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष कुबेर गिरी, निर्देशन दिनेश डिसी, उज्ज्वल घिमिरे, कलाकार रमेश बुढाथोकी, सन्दीप क्षेत्री, स्वेता खड्का, अभिनेता रविन्द्र खड्का र बशुन्धरा भुषाललगायत थुप्रै व्यक्तिहरू सहभागी कार्यक्रमको सभापतित्व अभिनेता कृष्ण मल्लले गरेका थिए । कार्यक्रममा अभिनेत्री शर्मिला मल्लको जन्मदिनको केक समेत काटिएको थियो ।

44eea5e6-6ba8-42b8-b2ce-7c80dbb58394

‘ग्लोबल नेपाली फिल्म अवार्ड’ चलचित्रकर्मीको प्रोत्साहन र सम्मानको लागि २०१६ देखि नियमित आयोजना हुँदै आएको छ । विगतका ६ संस्करण आयोजना भएको अवार्डमा अहिलेसम्म सयौँ कलाकर्मी नेपालबाट सहभागी भइसकेका छन् ।

यो पटक एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रायोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनीको सह–प्रयोजक रहेको अवार्डको स्थानीय आयोजक त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्क र दिल कुमारी केसी मेमोरियल फाउण्डेसन इन्क न्यूयोर्क रहेको छ । 

नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको संयुक्त आयोजनामा  अवार्ड आयोजना हुँदै आएको हो । नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल रहेका छन् भने ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्ष नवराज श्रेष्ठ रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप